१० वर्षअगाडि श्रीमान्ले कान्छी ल्याएर छुट्टै बस्न थालेपछि भक्तकुमारी आफ्नै पाखुराको बलले जिन्दगीको गाडी गुडाइरहेकी छिन्। उनको दुई पाखुरी एक दिन चलेनन् भने बेलुकीको भाँडो तताउन गाह्रो हुन्छ। उनी त व्यस्तताले आफू बिरामी भएर बस्नसमेत नपाएको सुनाउँछिन्। 'ज्वरो आए, सिटामोल खान्छु,' उनले भनिन्, 'तर आराम गरेर बस्न सकिन्न।' उनको एक्लो कमाइले दुई छोरा र एक छोरीको पढाइ खर्च, कोठा भाडा र बिहान–बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ।
उनलाई कामको धपेडी यति धेरै छ कि आफूलाई लागेको रोगको उपचार गर्नसमेत पाएकी छैनन्। दुई वर्षअघि बल्झेको पाठेघरको घाउ निको नहुँदा उनी औषधि खाएरै भए पनि काम गर्न बाध्य छिन्। औषधि खाएर भए पनि काममा जानुको विकल्प छैन। 'उपचार गरूँ पैसा छैन, नगरूँ घाउ दुख्छ,' उनी विलौना पोख्छिन्।
मनोहरा फाँटमा उनले धान गोड्दै गर्दा नजिकै थलीमा संविधानको मस्यौदामाथि छलफल हुँदै थियो। उनलाई थाहा त रहेछ, तर जाने फुर्सद कहाँ! संविधान बन्न लागेको थाहा पाए पनि कस्तो बन्न लागेको भनेर पत्तो नभएको उनी सुनाउँछिन्। 'उपचार गर्न नसक्नेको निःशुल्क उपचारको व्यवस्था भए राम्रो,' मनोहरा फाँटबाटै उनले सुझाव पठाइन्, 'गरिब जनताले सर्वसुलभ उपचार पाए कोही अकालमै मर्न पाउने थिएनन्।' पाठेघरको रोगी उनीसँग उपचारको लागि खर्चको अभाव छ। कमाइको पैसाले बिहान–बेलुका खान र नानीहरूको पढाइ खर्च जुटाउनै ठिक्क हुन्छ।
भक्तकुमारीको जस्तै काम नगरे खान नपुग्ने अवस्थाकी छिन्, मूलपानीकी कविता परियार। उनले काम गर्न थालेको पनि एक दशक भइसक्यो तर बचत शून्य छ। एक जनाको कमाइले चार जनाको परिवार पाल्नु महँगीको समयमा असम्भवजस्तै भएको उनी सुनाउँछिन्।
बिहान उठ्नेबित्तिकै तीन घन्टा काम गर्नुपर्छ उनले। खाना खाएपछि छ घन्टा। उनको सातै दिनको दैनिकी लगभग यस्तै हो। उनको यही मेहनतले परिवारलाई जेनतेन बचाएको छ।
श्रीमान् अशक्त भएकाले पनि उनको जिम्मेवारी थपिएको हो। काम सँगसँगै समय निकालेर बिहान–बेलुकाको खाना जुटाउनु र बिरामी श्रीमान्को रेखदेख गर्नु उनको अर्को जिम्मेवारी।
'श्रीमान् थला परेपछि म नियमित रूपमा काममा जुटेको छु,' बालुवा चाल्दै गरेकी उनले भनिन्, 'यही कमाइले परिवारको खर्च चल्ने गरेको छु।' बालुवा चाल्ने काममात्र होइन परिआएको बेला उनी अन्य श्रमका काममा पनि खटिन्छिन्। त्यही कमाइबाट उनले चामल, नुनतेल, औषधि सबै जुटाउनुपर्छ। बिहानको दुई सय र दिनभरको चार सय ज्याला पाउँछिन्, उनी। 'पैसा त कमाइन्छ तर महँगीले गर्दा बच्दैन,' उनी भन्छिन्, 'जति पसिना बगाए पनि सधैं अभावको अभाव।'
यही अभावको बीचमा उनले चुरा र पोते किन्न भने भ्याइसकेकी रहिछन्। मेहन्दी भने पखालिने डरले लाउन भ्याएकी छैनन्। 'मेहन्दी लगाउन त रहर छ नि तर दिनभर काम गर्नुपर्छ। पखालिन्छ,' उनले सुनाइन्, '५० रुपैयाँको चुरा र सय रुपैयाँको पोतेचाहिँ किनेको छु।'
श्रीमान्को स्वास्थबारे उनलाई चिन्ता छ। त्यही भएर दीर्घायुको कामना गर्दै तीजको व्रत हरेक वर्षजसो बस्दै आएकी छिन्। 'व्रत बसे पनि आइलाग्यो भने काम गर्नुपर्छ,' उनी मसिनो स्वरमा भन्छिन्, 'के गर्नु, मैले काम नगरे श्रीमान्ले औषधि खान पाउँदैनन्। व्रतले दीर्घायुको कामना गर्छु। काम गरेर औषधि जुटाउँछु।'
सिजनमा खेतीपातीको काम हुने भएकाले खासै समस्या हुन्न तर अन्य सिजनमा भने कामका लागि भौंतारिनुपर्छ। कहिले उनी कोदाली चलाउन पुग्छिन् त कहिले सावेल समाउन। 'भारी पनि बोक्नुपर्छ, घाँस पनि काट्छुपर्छ,' उनको बाध्यता छँदै छ।
नैकापमा जन्मिएकी उनले सानोमा पढ्न पाइनन्। भाइहरूलाई भात पकाएर स्कुल पठाउनुपरेका कारण आफूले पढ्न नपाएको सुनाउँछिन्, उनी। तर आफूले पढ्न नपाए पनि दुई छोराले राम्रो पढून् भन्ने उनको चाहना छ। 'उनीहरूको भविष्यको लागि भए पनि मैले यति बेला बढी मेहनत गर्नुपर्छ,' उनी भन्छिन्, 'काम गरेरै जिन्दगी बित्दै छ। नपढेपछि अरू के नै जानिन्छ र!'
भाग्यवश, उनी अहिलेसम्म खासै बिरामी पनि परेकी छैन्न रे। 'बिरामी परे भनँे त बिहान–बेलुकाको छाक टार्ने समस्या आइलागिहाल्छ नि,' उनी अलिकति हाँसिन्, 'सायद, त्यसैले बिरामी नपरेको होला।'
दोलखाबाट सात वर्षअगाडि राजधानी आएकी ईश्वरी अधिकारीको संघर्ष कथा पनि उस्तै छ। श्रीमान् बेरोजगार भएका कारण परिवारको सबै जिम्मा उनको काँधमा छ। घरायसी खर्चदेखि कक्षा ११ र ९ मा पढ्ने सन्तानको पढाइ खर्चसमेत उनी मेलापात गरेर जुटाउँछिन्। भारी बोक्ने, कोदालो चलाउने, खेत गोड्ने कामले उनलाई कहिल्यै फुर्सद मिल्दैन। 'एक जुनी काम गरेरै बित्लाजस्तो छ,' धान गोड्दै गरेकी उनले हिलो हात देखाउँदै भनिन्, 'यी हातहरू सधैं चलिरहेका छन्।'
बाह्रैमास हात चलाउँदा उनीहरू स्वाभिमानका साथ बाँच्न सकेका छन्। त्यसैले कामप्रति उनीहको गर्व छ। कामलाई सम्मान गरिदिए राम्रो हुने उनीहरूको बुझाइ छ।
उदयपुरबाट १० वर्षअगाडि राजधानी आएकी सुनिता मगर काम सानो–ठूलो नहुने बताउँदै यसको सम्मान गर्नुपर्ने सुनाउँछिन्। महिला र पुरुषको ज्याला फरक भएकोमा भने उनलाई चित्त बुझेको छैन। उस्तै काममा समान ज्याला भइदिए राम्रो हुने उनको भनाइ छ।
'उस्तै काम उत्तिकै समय गर्दा महिलाको भन्दा पुरुषको ज्याला दोब्बर हुन्छ,' उनी भन्छिन्, 'समान ज्याला गरिदिए हामीलाई पनि काममा हौसला हुने थियो।'
साउन लाग्नासाथ धेरैजसो महिलाहरू गहनामा झरिझुट्ट बनेका छन्। मेहन्दीले हत्केला–पाखुरी रंगाएका छन्। तर, उनीजस्ता परिश्रमी महिलाको हातमा मेहन्दी होइन धान गोड्दा लागेको हिलो छ। त्यही हिलोको बास्नाले उनीहरूलाई जाँगर दिएको छ, सँगसँगै जीवन जिउने मेलो। 'मेहन्दी लगाउने रहर त थियो नै,' सुनिता भन्छिन्, 'काम गर्ने बाध्यताले रहर पनि अब त मरिसक्यो।' हरियो चुरामा उनी सजिन पाएकी छैनन्, तर धानका हरियाली फाँटमा काम गर्दाको आनन्द ती चुराहरूले दिनेछैनन्।
प्रकाशित: २२ श्रावण २०७२ २२:१७ शुक्रबार





