नेपाल स्रष्टा समाजले बृहत् आत्मपरक निबन्ध गोष्ठी गरेको छ।
नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीको अवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा उक्त गोष्ठी गरेको हो।
बिहीबार लिटिल एन्जल्स स्कूलको सहआयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरूले आआफ्नो निबन्ध सुनाए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार डा. माधव पोखरेलले आफ्नो निबन्ध अंश सुनाउँदै भने, 'गोष्ठी अत्यन्तै महत्त्वपूर्ण छ। नेपाली साहित्यमा हेलामा परेको विधा निबन्धको गोष्ठी गर्नु आफैंमा महत्त्वपूर्ण छ। निबन्धकारहरूलाई गुरु बनाएर निबन्ध कार्यशाला गर्नु जरुरी भैसकेको छ।'
यसैगरी वरिष्ठ समालोचक प्रमोद प्रधानले वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृत्ति विषयमा बाेल्दै नेपालमा निबन्ध लेखनको आधुनिक कालको शुरुवाती चरणमा दुई धार देखापरेको भन्दै ७० को दशकपछि आत्मपरक निबन्ध लेख्नेहरू बढेकाे बताए। उनले आत्मपरक निबन्धलाई परिभाषाभित्र बाँध्न नसक्ने पनि बताए।
नेपाल स्रष्टा समाजका अध्यक्षता श्रीओम श्रेष्ठ 'रोदन' काे अध्यक्षता र समाजका कार्यसमिति सदस्य प्रदीप सापकोटाले सहजीकरणमा गरेकाे कार्यक्रममा रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
उक्त गोष्ठीमा बोधराज पौडेल, विष्णुबहादुर जिसी, भागवत खनाल, रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानु अधिकारी, डा.चेतनाथ कँडेल हरित, डा.मानसाग्नी, ज्ञानेन्द्र विवश, भिष्म उप्रेती, डा. खगराज बराल, डा.रजनी ढकाल, प्राडा ज्ञानु पाण्डे, प्राडा लक्ष्मणप्रसाद गौतम, मञ्जुल, मुकुन्दराज शर्मा लगायत आधा दर्जन निबन्धकारहरूले वाचेका थिए।
उक्त गाेष्ठीमा समालोचक डा.जीवराज बस्यालले वाचित निबन्धहरूबारे टिप्पणी गरे।
उनले वाचन गरिएका निबन्धहरू निजात्मक र अनुभूतिमय भएको बताए। कतिपय निबन्ध मौलिक कवितात्मक चेतले भरिएका पनि बताए। यसैगरी उनले निबन्धहरूमा स्मृतिबिम्वको प्रयोग भएको जानकारी दिए।
गोष्ठीका सह आयोजक लिटिल एन्जल्स स्कुलका प्राचार्य तथा निबन्धकार मुकुन्दराज शर्माले लामो समयपछि पहिलोपटक निबन्धमाथि कार्यक्रम भएको उल्लेख गर्दै उनले अघिल्ला वर्षहरूमा गरेको साहित्यिक कार्यक्रमको स्मरण गरे।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अघिल्ला पुस्ताका निबन्धकार कृष्णचन्द्रसिंह प्रधानको निबन्धकारिताको चर्चा गर्दै उनको सतवार्षिकीमा निबन्धकार प्रधानसँगका केही स्मृति साझा गरे।
नेपाल स्रष्टा समाजको स्थापना दिवसको अवसरमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा यो आत्मपरक निबन्ध गोष्ठी गरिएको अध्यक्ष 'रोदन'ले बताए।
नेपाली साहित्यमा अन्य विधामा थुप्रै गोष्ठी र कार्यक्रमहरु हुने भए पनि निबन्ध विधामा असाध्य नगन्य कार्यक्रम भएका छन्। यसैले निबन्ध गोष्ठीको उपादेयता महसुस गरी गोष्ठी गरिएको 'रोदन'ले बताए।
प्रकाशित: १८ पुस २०८२ ११:५४ शुक्रबार





