चीनमा एमबीबीएस अध्ययन गर्दैगर्दा वेबसाइट चलाउने योजना बन्यो। सन् २००४ मा 'पिस फर नेपाल' नामक वेबसाइट खोलेँ। यसैमार्फत 'पिस एक्टिभिजम' चलाउने योजना बने पनि सोचे जति गर्न सकिएन। शान्ति, मानवअधिकार, लोकतन्त्रजस्ता कुरा बुझ्ने मौका भने मिल्यो। तालिममा देशविदेश जाने क्रममा थप ज्ञान हासिल गर्दै सम्बन्धहरू विस्तार गर्ने अवसर प्रशस्त जुरे।
नेपालमा शान्ति सम्झौता हुँदै थियो। त्यसै दिन म टोकियो, जापानमा चलेको युवा सम्मेलनमा सहभागी थिएँ। सोही दिन त्यहाँ हेरेको डकुमेन्ट्रीले मलाई नयाँ सोच्न सघायो। 'फ्री हग्स मोमेन्ट' शीर्षकको त्यो भिडियोमा अपरिचितलाई गर्लम्म अँगालो मारेर कुनै विषयमा चेतना जगाउने अभियान चलाइएको थियो। यो लन्डन, वासिङ्टनतिर एकदम चर्चित थियो। मलाई पनि लाग्यो, यस्तै नयाँ उपायमार्फत नेपालमा पनि शान्तिको खोजी गर्न सकिन्छ। त्यसैबेला हरेकलाई गुलाब बाँड्दै सबैतिर मित्रता फैलाउन सकिने सोच दिमागमा फ्याट्ट फुर्योन। गुलाब त बाँड्ने तर, दुईचारवटा बाँडेर मात्र नहुने। धेरै बाँड्नलाई विद्यार्थी जीवनमा कसरी सम्भव हुन्छ? एमबीबीएस सक्ने बेलासम्म कुर्ने सोच बनाएँ।
सन् २००९ को नयाँ वर्ष पारेर चार सयजना जति द्वन्द्वपीडितको सहभागितामा काठमाडौँमा 'गुलाब र्यामली' गरियो। आधाजति माओवादीबाट पीडित र आधाजति राज्य पक्षबाट पीडित भएकाहरू र्याालीमा थिए। हातमा पहेँलो गुलाब समाएका सबैजनाले शान्तिको खोजी गरिरहेको सन्देश प्रवाह गरे। मित्रताको प्रतीक भएकाले पहेँलो गुलाब रोजिएको थियो। सबैबीच मित्रता बाँडिए शान्ति अवश्य प्राप्त हुन्छ भन्ने हाम्रो बुझाइ थियो। र्याेलीमा सहभागी र अन्य मान्छे खुशी देखिए। प्रतिक्रिया रमाइलै आयो। मेरो हौसला बढ्यो।
देश/विदेश जता जाँदा पनि यो गुलाब आन्दोलनबारे चेतना जगाउने प्रयत्न गरेँ। अनौपचारिक रूपमै जता पनि गुलाब बाँड्दै आफ्ना केही कुरा राख्ने मौका पाएँ। सबैतिर चर्चा चुलिँदै गयो। संस्थागत रूपमा लान सकिएन। फेरि एनजीओ चलाउने प्रकृतिको मान्छे म होइन भन्ने लाग्थ्यो। आन्दोलनकै रूपमा मात्र जहाँ जसरी सकिन्छ, गरियो।
गुलाब नै किन?
संसारमा सबभन्दा धेरै मन पराइएको फूल हो यो। साहित्यमा धेरै दोहोरिरहने विम्ब पनि बन्न सफल छ गुलाब। संसारको लगभग जुनसुकै कुनामा सबै सिजनमा पाइन्छ यो। प्रेम, शान्ति, मित्रतालगायत धेरैको प्रतीक पनि हो गुलाब। विभिन्न रङमा पाइन्छ। असाध्यै महँगो पनि होइन, असाध्यै सस्तो पनि होइन। गुलाबसँग रिसाउने मान्छे सायद कमै छन्। यस्तै गुणका कारण गुलाब रोजियो।
नेपालको विविधतालाई पनि संकेत गर्न खोजिएको हो। गुलाबको रङमा जतिसुकै विविधता भए पनि गुलाब आखिर गुलाब नै हो। मानवमा पनि जतिसुकै विविधता भए पनि मानव आखिर मानव नै हो। विविधताबीच एकताको सन्देश दिन्छ गुलाबले। विविधतालाई अवसरका रूपमा लिन आग्रह गर्न चाहेँ। फेरि गुलाब पाएपछि मान्छे एक छिन भए पनि खुशी हुन्छ। मेडिकल क्षेत्रमा 'मल्टी–स्पेक्ट्रम ड्रग' भनिने औषधिले फरक–फरक रोगमा काम गर्छ। यसैगरी गुलाबलाई पनि 'मल्टी–पर्पोज युज' गर्न सकिन्छ।
ती गजबका क्षण
सन् २००९ मा गुलाब आन्दोलनको पहिलो औपचारिक कार्यक्रम गरेलगत्तै पत्रकार उमा सिंहको हत्या भयो। पत्रकार महासंघको आन्दोलनमा साथ दिन चाहेँ। महासंघको समन्वयमा हेटौँडामा एउटा हातमा कलम र अर्को हातमा गुलाब समाएर दबाबमूलक र्यासली आयोजना गरेँ। प्रेस स्वतन्त्रताको प्रत्याभूति, दण्डहीनताको अन्त्य, हत्यारालाई कारबाहीलगायत माग थिए। धेरैको सकारात्मक प्रतिक्रिया पाएँ। धेरैले चासो दिएको पाउँदा सम्बद्ध क्षेत्रलाई दबाब मिलेको महसुस भयो।
त्यसपछि कामको सिलसिलामा नेपालगञ्ज गएँ। त्यहाँ पनि आन्दोलनलाई निरन्तरता दिएँ। पहिलो संविधानसभा चुनाव भएको ठीक एक वर्ष पुगेको दिन गुलाब बाँडेँ। काठमाडौँबाट मगाइएका गुलाब बाजागाजासहित घोडाले तान्ने टाँगाबाट बाँडियो। र्यालीमा नसोचेको सहभागिता रह्यो। जसले नेपालगञ्ज पुगेको एक–डेढ महिनामै त्यहाँ चिनिने मौका मिल्यो।
लगत्तै २०६६ वैशाख १ गते गधा जुलुस निकालेँ। त्यतिबेला हदै 'नेपाल बन्द' हुन्थ्यो। बन्दविरुद्धको गधा जुलुसमा 'रघुपति राघव राजाराम, बन्दबाट मुक्ति देऊ हे भगवान्!' बोलको प्यारोडी गीत पनि प्रस्तुत गरियो। जुलुस चर्चित भयो। बन्दले गर्दा गधाले पनि काम गर्न पाएन भन्ने संकेत थियो त्यो। गधाले समेत काम गरिखान नपाएका बेला मजदुर कसरी बाँच्छ भन्ने सन्देश दिन खोजेँ। यो जुलुसले मलाई धेरैमाझ चिनायो। धेरैले गुलाब डाक्टर भनेर चिन्थे। केहीले भने 'गधा जुलुस निकाल्ने काम नपाएको डाक्टर' भनेर कुरा काट्न पनि थाले। जसले जे भने पनि मेरो संघर्षको मानसिकता डगमगाएको थिएन।
त्यसपछि बुद्ध जयन्तीको दिन थियो। बुद्धको मूर्ति लिएर गुलाब बाँड्दै हिँडियो। नागरिक समाज, पत्रकार, वकिल, चिकित्सकलगायत सबै क्षेत्रका मानिस सामेल भएर ऐक्यबद्धता जनाए। त्यसपछि सबैले पत्याउन थाले। आन्दोलनका बेला बोलाउनै नपर्ने भयो। थाहा पाउनेबित्तिकै आउन थाले।
२०१० जनवरी ३० मा नेपालमा शहीद दिवस थियो। भारतमा गान्धीको हत्या भएको दिन थियो त्यो। नेपालमा माधव नेपाल सरकार भर्खर सत्तामा प्रवेश गरेको थियो। प्रचण्डको सरकार ढल्दा भारतलाई व्यापक गालीगलौज गरिँदै थियो। यसै बेला भारतीय सीमा क्षेत्रमा नेपालीले पाउने सास्ती बढ्दै थियो। विभिन्न बहानामा नेपालीलाई दुःख दिने क्रम बढेपछि दुई देशका नागरिकबीच नै मनमुटाव बढ्दै थियो। भारतीय बजारमा आश्रित जनताले नुन किन्नसमेत नपाइरहेको दुखेसो गर्थे। दुश्मनी चुलिँदै थियो। प्रचण्डको पुत्ला जलाउने काम भारततिर हुँदै थियो। नेपालतिर भारतविरोधी भनिएको आन्दोलन चर्किंदै थियो।
यसैबेला, बाँके, राप्तीपारीको विकट गाउँ कालाफाँटामा रहेका प्रहरीले वाकिटकी चार्ज गर्न घण्टौँ हिँड्नुपर्ने समाचार आयो। समाचार आइसकेपछि मैले त्यो चौकीमा सोलार दिने घोषणा गरेँ। नागरिक समाज, पत्रकार, वकिल, चिकित्सक सबै मिलेर कालाफाँटा जाने योजना बन्यो। दशगजामा औपचारिक कार्यक्रम पनि आयोजना भयो।
हामी त्यहाँ पुग्दा अचम्मको दृश्य देख्न पायौँ। हाम्रो कार्यक्रमले त्यहाँ मित्रताको भाव सञ्चार गर्दै गरेको अनुभव भयो। भारततिरका मान्छले हामीलाई मिठाइ र फूलले स्वागत गरे। हामीले पनि गुलाबले स्वागत गर्यौँ । भव्य कार्यक्रम भयो। भारतविरोधी भनिएको आन्दोलन चुलिएका बेला भएको हाम्रो कार्यक्रमले त्यहाँ आशाको दियो बाल्यो। रुपैडिहा बजार बन्द गरेका व्यापारीले जनतालाई दुःख भइरहेको महसुस गरेर बजार खोले। स्थिति सामान्य बन्यो कार्यक्रमपछि। कार्यक्रममा दुवैतिरका अगुवाले मित्रताको भाव दिने भाषण गरे। 'राजनीतिक समस्या भए कुटनीतिक हिसाबले समाधान गरौँ' भन्यौँ। यो कार्यक्रमको धेरैतिर चर्चा भयो। गुलाब आन्दोलनबारे धेरैले जानकारी पाए। नेताहरूबाट पनि राम्रो प्रतिक्रिया आयो। सीमाको स्थिति सामान्य बनाउन सघाएको भन्ने प्रशंसा पाउँदा खुशी लाग्यो।
त्यसपछि पनि विभिन्न कार्यक्रम गरेर नेपालगञ्जमा हजारौँ गुलाब बाँडे। कतै जमघट हुनेबित्तिकै गुलाब बाँडिहाल्ने व्यवस्था मिलाउँथेँ।
गुलाब दिनुमा छ मज्जा!
अहिलेसम्म मलाई कसैले प्रेमभावले गुलाब दिएको अनुभव छैन। मलाई लाग्छ, गुलाब दिनुमा जस्तो लिनुमा मज्जा हुँदैन। तर, पनि घरमा उमेर भइसक्यो भनेर किचकिच भइरहेको छ। अब त आफैँलाई गुलाब दिने विशेष मान्छे कोही भेटे हुन्थ्यो भन्ने भइसक्यो।
एकपटक डाक्टरहरूको तालिममा गुलाब बाँडेँ। कान्ति हस्पिटलको एकजना महिला डाक्टरले भनेको कुरा कहिल्यै भुल्न सक्दिनँ। उहाँले भन्नुभयो, 'पहिलोचोटि दुलाहाले माला लगाइदिँदा खुशी भएँ। त्यसपछि यति धेरै खुशी भएको आजै हो।'
एक्कासि गुलाब पाउँदा सबै खुशी हुन्छन्। कोही भन्छन्, 'यो डाक्टर सिंगल रहेछ। त्यही भएर बाँड्छ गुलाब। यसलाई बिहे गराइदिन पाए चुपचाप हुन्थ्यो।' तर, मेरो आन्दोलनलाई त कसले रोक्न सक्थ्यो र? अनि, केहीले 'फन्ड' पनि 'कलेक्सन' गर्न सुझाउँछन्। तर, म गर्दिनँ। किनभने, गुलाब दिएर पैसा उठाएको आरोप लाग्छ। मैले त सन्देशमात्रै दिने हो।
पाँचदेखि १५ रुपैयाँसम्मका गुलाब किनेर बाँडेको छु। बजारमा कहिलेकसो अभाव हुँदा महँगो हुन्छ। अब त यो फूलको खेतीलाई पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखेको छु। गुलाब खेती गर्ने योजना पनि छ मेरो।
'सरी' अभियान
विभिन्न भेदभावविरुद्ध गुलाब आन्दोलन गर्दै छु। एचआईभी संक्रमितलाई गरिने हेला अन्त्य गर्न कार्यक्रम गर्दै छु। जातीय भेदभावविरुद्ध 'सरी म्याम्पेन' गर्न खोज्दै छु। बेल्जियममा एमपीएच पढ्दै गर्दा 'रोजेज एन्ड मःमः क्याम्पेन' चलाएँ। भेदभावविरुद्ध आवाज उठाउनेसँगै नेपालको मःम कल्चरलाई विदेशमा फैलाउने योजना मेरो हो। यो अभियान पनि चर्चित भयो।
महिलाविरुद्ध हिंसा, शारीरिक तथा मानसिक अपांगता भएकालाई लाग्ने लाञ्छना, अन्य भेदभावमा परेकाहरूसँग कुनै न कुनै दिन राज्यले माफी माग्नैपर्छ भन्ने दबाब हो, 'सरी क्याम्पेन'। अस्ट्रेलियामा जस्तो नेपालमा पनि एक दिन 'सरी डे' मनाउनुपर्छ भन्ने माग हो। मेरो माग त सतिप्रथा अन्त्य भएको दिनको सम्झनामा भव्य कार्यक्रम गरेर 'सरी डे' मनाउनुपर्छ भन्ने हो।
हिजो, आज र भोलि जोड्ने काम पनि गुलाबले नै गर्नेछ। हिजोका तिक्तता भुलेर आज मिल्नुपर्छ। अनि मात्रै भोलि सुन्दर हुनेछ। मेरो अभियानसँग राष्ट्रिय गानलाई पनि जोड्दै छु। भूकम्पपछि राहत बाँड्ने बेला गुलाबसँगै सामान दिँदै 'सयौँ थुंगा फूलका हामी' भन्ने अभियान छ।
आलोचक पनि छन्
केही वस्तुवादीहरू भन्ने गर्छन्, 'यति पैसाले चाहिने सामान दिए हुन्थ्यो। गरिबलाई गुलाब के काम?' उनीहरूलाई मैले जवाफ दिनै पर्दैन। तत्कालै गुलाब बाँड्दा देखिने सबैको उज्यालो मुहारले सबैलाई जवाफ दिन्छ। पीडाका बीच मुहारमा एक छिन भए पनि मुस्कान छाउँछ।
गुलाब लिएर गाउँगाउँ गएँ। राहत बाँड्नेलाई पनि गुलाब दिएर धन्यवाद दिएँ। राहतसँगै गुलाब बाँड्दा सबै खुशी देखेँ। खोसाखोस गरे। रोप्छौँ भने कतिले। सर्छ कि सर्दैैन? सोध्थे।
मेरो पेशालाई पनि गुलाब अभियानले सहयोग पुर्याैएको छ। बिरामीलाई पनि गुलाब दिएर हौसला दिन्छु समय–समयमा। गुलाब टिपेर राम्रो भएन पनि भन्छन् केहीले। 'फूलको खेती नै हुन्थेन नटिप्ने भए' भन्छु।
पछिल्लोपटक लोकसेवामा पनि 'नेपालको गुलाब डाक्टर भनेर कसलाई चिनिन्छ?' भन्ने प्रश्न सोधिएको थियो भन्ने कुरा साथीहरूले सुनाउँदा खुशी लाग्यो। 'स्प्रेडिङ ह्यापिनेस' र 'मेकिङ पिपुल हेल्दी एन्ड ह्यापी' नारासहितको अभियान चलाउने योजना छ।
प्रकाशित: २२ श्रावण २०७२ ००:५२ शुक्रबार




-600x400.jpg)
