आगामी मंसिर १४ देखि १८ सम्म हुने प्रदर्शनीका लागि फोटोहरु संकलन गर्ने कार्य थालनी गरिएको छ। प्रदर्शनीमा नारायणगोपालका बाल्यकालदेखि मृत्युसम्मका विभिन्न दुई सय ५० हाराहारी फोटो प्रदर्शनीमा राखिने आयोजकका क्षितिजअरुण श्रेष्ठले जानकारी गराए।
नारायणगोपालसँग जोडिएको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व झल्काउने फोटोहरु प्रदर्शनीमा समावेश हुनेछन्। यसका लागि नारायणगोपाल संगीत कोषसँग सहकार्य गरिरहेको श्रेष्ठले बताए। कोषले नारायणगोपालका गीतहरुलाई संरक्षण गर्ने कामबाहेक उनका जीवनी र फोटोहरुसमेत संकलन गरिरहेको छ।
'हामीले भेटाएसम्म फोटोहरुलाई समावेश गर्नेछौं। शुभचिन्तकहरुसँग नारायणगोपालसँग सम्बन्धित फोटो माग्ने काम गरिरहेका छौं,' उनले भने। फोटो प्रदर्शनी देशभर घुमाइने उनले जनाए।
फोटो प्रदर्शनीसँगै नारायणगोपाल साँझसमेत आयोजना गर्ने तयारी हुँदैछ। १९९६ सालमा जन्मिएका नारायणगोपालको उनको निधन २०४७ मंसिर १९ मा भएको थियो। सांगीतिक कार्यक्रमका सिलसिलामा नेपालका विभिन्न स्थान र भारत, बंगलादेश, बर्मा, चीन, थाइल्यान्ड, हङकङ र उत्तर कोरिया नारायणगोपालले भम्रण गर्दाका फोटोहरु प्रदर्शनीका लागि संकलन भइसकेको छ।
प्रकाशित: १८ श्रावण २०७२ २२:१३ सोमबार





