'सुरुमा मैले क्रिस्चियन धर्म अँगालें, त्यसपछि भाइ, आमा र अन्त्यमा बा बन्नुभयो,' उनले लेखो गरिन्, 'भाइ चार वर्षअघि बन्यो, आमा तीन वर्ष र बा दुई वर्षअघि यो धर्ममा आउनुभयो।'
साउन ९ गते शनिबार 'सन्देश' चर्च पुग्दा पनि प्रतिमा आफ्ना वरिपरि दूधेबालक र किशोर–किशोरी गरी करिब तीन दर्जन बालबालिकाका बीच थिइन्। वृत्ताकारमा बसेका हरेक विद्यार्थीका हातमा बाइबल थिए। थारू बाहुल्य रहेको देउपुरका बालबालिकालाई इसाई धर्म, यसका संस्कार, संस्कृति सिकाउन आकर्षक गीत, भजन र संगति प्रशिक्षण दिनु उनको जिम्मेवारी हो।
उनीसँगै अर्की प्रशिक्षक छिन् प्रमिला चौधरी। दुई जनाको जिम्मामा चलेको बालसंगतिमा प्रत्येक शनिबार ३५–४० जना बालबालिका जम्मा हुन्छन्। उनीहरूको बालसंगति सम्पन्न भएपछि गाउँका युवा, प्रौढ क्रिस्चियनहरू प्रार्थना गर्न जम्मा हुन्छन्, करिब ५–७ सय अटाउने हलमा।
प्रतिमाका अनुसार चर्चमा प्रार्थना गर्न आउनेमा धेरै महिला छन्, त्यसको आधा हाराहारी पुरुष।
घरपरिवार हुँदै समाजमा क्रिस्चियन धर्म फैलाउन लागिपरेकी कक्षा ९ मा अध्ययनरत प्रतिमा दाङमा फैलिरहेको क्रिस्चियन समुदायकी एक प्रतिनिधि पात्र हुन्। उनले जस्तै आफू, आफ्नो परिवार अनि समाजलाई धर्मपरिवर्तन गराउने अभियानले दाङमा व्यापक आकार लिइसकेको छ। सयौंका संख्याका स्वदेशी, विदेशी स्वयंसेवक परिचालित छन् यस अभियानमा।
कति छन् दाङमा क्रिस्चियन? संविधानको प्रारम्भिक मस्यौदामाथि राय–सुझाव राख्ने क्रममा 'नेपाल हिन्दु राष्ट्र हुनुपर्छ' र 'व्यवस्थित धर्मनिरपेक्ष कायम हुनुपर्छ' जस्ता 'ठुल्ठूला' आवाज मुखरित भए दाङमा।
यी ठूला आवाजका पछाडिका कारण के के हुन्? खोज्दै जाँदा दाङमा क्रिस्चियन धर्म संक्रमण भयावह रुपमा फैलिएको पाइयो। करिब ९६ प्रतिशत हिन्दु रहेको दाङमा थौरे संख्यामा रहेका क्रिस्चियनले ठूलो अर्थ राख्छन् त? सतहमा त्यस्तो देखिँदैन। तर, ह्वात्तै बढेको क्रिस्चियनधर्मीको जनसंख्या, घट्दो हिन्दु र बुद्धधर्मी संख्या अनि दाङका प्रत्येक गाउँमा खुलेका चर्चले समाज धार्मिक द्वन्द्वको खतरातिर उन्मुख भइरहेको संकेत गरिरहेको औंल्याउँछन्, दाङका बुद्धिजीवी।
जनगणना, २०५८ को तथ्यांकमा दाङमा जम्मा ६ सय ४० क्रिस्चियन थिए। जुन त्यसबेलाको दाङको जनसंख्याको करिब १ दशमलव १४ प्रतिशत मात्र हो। पछिल्लो जनगणना, २०६८ अनुसार यो संख्या कुल जनसंख्याको १ दशमलव ३४ प्रतिशतले बढेको देखियो। अर्थात् यो संख्या ६ सय ४० बाट एक दशकमै ७ हजार ४ सय ३१ पुगेको छ। वृद्धिदरका हिसाबले यो १ हजार ६१ प्रतिशत हो।
त्यसो त दाङ मात्र होइन, राप्तीका सबै जिल्लामा क्रिस्चियनधर्मी ह्वात्तै बढेका छन्। तीन दशकअघिसम्म नगन्य संख्यामा रहेका क्रिस्चियन रोल्पामा २०५८ को तुलनामा २०६८ मा करिब १ हजार ३ सय प्रतिशतले थपिए। पछिल्ला दुई जनगणनाबीच रुकुममा उनीहरूको संख्या करिब ३ सय ४५ प्रतिशतले बढेको देखिन्छ।
जनगणना सम्पन्न भएको चार वर्षअघिको यो तथ्यांकमा अहिले फेरबदल आएको दाबी गर्छन्, जानकारहरू। लमहीस्थित आदर्श उच्च माध्यमिक विद्यालयका प्राचार्य शशिधर ज्ञवाली स्कुलमा क्रिस्चियन विद्यार्थीको संख्या १० देखि १५ प्रतिशत रहेको बताउँछन्। क्रिस्चियन धर्मप्रचारक आक्रामक रुपले लागिपरेको उनको अनुभव छ।
'स्कुल गेटमै धर्मप्रचारक बाइबल बोकेर बस्ने गर्छन्, त्यस्तै समूह गाउँगाउँ घुमेर सिधासादा नागरिकलाई प्रभावित पार्ने गर्छन्,' ज्ञवालीले सुनाए, 'पहाडी जनजाति र तराईका थारु जातिमा बढी प्रभाव पारेको देखिन्छ, हिजोका दिनमा यहाँ क्रिस्चियन भन्ने थाहै थिएन, अहिले यसले भयानक आकार लिन थालेको छ।'
कसरी बढ्दो छ त क्रिस्चियन धर्मप्रति संक्रमण? ज्ञवालीको बुझाइ छ, 'हिन्दु धर्मको लचिलोपन र राज्यको कमजोरीले।'
दाङ क्रिस्चियन समाजका अनुसार यस जिल्लामा क्रिस्चियनको संख्या १२ हजार नाघेको छ। ५० को दशकमा एउटा मात्र चर्च रहेको यस जिल्लामा अहिले यो संख्या १ सय ११ छ। दुई महिनाअघि संकलन भएको पछिल्लो तथ्यांकले २०६८ को जनगणनापछि दाङमा करिब ५ हजार क्रिस्चियन थपिएको देखिन्छ।
समाजका अध्यक्ष शालिकराम साहु भन्छन्, 'पछिल्लो तथ्यांकमा १२ हजार क्रिस्चियन देखिएका छन्, १ सय ११ चर्च छन्, कतिपय छुटेका छन्, रिपोर्टमा परेको छैन।'
क्रिस्चियन सञ्जाल
दाङमा क्रिस्चियन धर्मको अगुवाइ गर्ने नरबहादुर साह जसले पञ्चायतको कठोर समयमा २०३५ सालमै क्रिस्चियन धर्म अँगालेका हुन्। त्यतिबेला पत्नीसहित ८/१० जना जम्मा भएर येसुको प्रार्थना थालेको अनुभव सुनाउँदै साह भन्छन्, 'म, मेरी श्रीमती अनि पोखरा र स्याङ्जाबाट आएका ८–१० जना लुकिछिपी काम गर्थ्यौं।'
साहले पञ्चायतपछि प्रजातान्त्रिक व्यवस्थामा दाङ, घोराहीमा चर्च स्थापना गरे– प्रतापी चर्च। 'सबैभन्दा पुरानो चर्च यही हो जुन ०५४ सालमा स्थापना भएको थियो।' साहका अनुसार प्रतापी चर्च स्थापनाको एक दशकपछि तुल्सीपुरमा अध्यालोन एजी मण्डली चर्चको भवन बन्यो। उनी प्रत्येक चर्चअन्तर्गत भजन, प्रार्थना गनर्ेे समूह र ५/६ वटा मण्डली हुने बताउँछन्।
कसरी थपिँदै गए दाङमा चर्च?
साह यसको यकिन तस्बिर दिन सक्तैनन्। 'धेरै थपिएका छन्,' उनी भन्छन्, 'धेरै मानिस क्रिस्चियन धर्ममा आएका छन्, यो 'प्रभुको लीला' हो।' यस धर्मप्रति दंगालीको अगाध आकर्षण रहेको उनको अनुभव छ।
क्रिस्चियनको मुख्य चाड क्रिसमस मनाउँदा २५ वर्षअघिको दाङ र अहिलेको दाङमा देखिएको परिवर्तन यसरी औंल्याउँछन् उनी, 'पहिले कुखुराको एउटा भाले काटेर क्रिसमस मनाउन सकिन्थ्यो,' साहले भने, 'अहिले एउटा सिंगो खसी काट्नुपर्छ।'
तत्कालीन माओवादी 'जनयुद्ध' को आधार इलाका मध्यपश्चिम दाङमा मात्र होइन, रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्लामा क्रिस्चियन हुनेहरूको संख्या एकाएक थपिनु र एकपछि अर्को गर्दै गाउँगाउँ चर्च स्थापना हुनुपछाडि देश गणतन्त्रमा प्रवेशसँगै हिन्दु राज्य नेपाल धर्मनिरपेक्ष राज्यमा परिणत भएपछिको खुकुलोपन मान्छन् विश्लेषकहरू।
अन्तरिम संविधान, २०६४ मा भनिएको छ, 'नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।'
अन्तरिम संविधानको यही खुकुलो व्यवस्थाले दाङका गाउँगाउँ क्रिस्चियन धर्म अँगाल्नेको संख्या ह्वात्तै बढेको देखिन्छ। राजनीतिक खुकुलोपनकै कारण दाङमा क्रिस्चियन संख्या बढेको र एकपछि अर्को चर्च थपिँदै गएको साहको विश्लेषण छ। उनी भन्छन्, 'एकपछि अर्को गर्दै थुप्रै चर्च स्थापना भएका छन् दाङमा, थपिने क्रम पनि जारी छ।' उनले २०६२/६३ को आन्दोलनपछि ठूलो परिवर्तन आएको जानकारी दिए।
कसरी क्रिस्चियन धर्ममा परिवर्तन हुन्छन् नेपाली? दाङका सम्भवतः पहिलो क्रिस्चियन नरबहादुर साह हुन् वा किशोरी प्रतिमा चौधरी, आफूहरू बिरामी भएको र कुनै उपाय नलागेपछि येसुको प्रार्थनाबाट निको भएको दाबी गर्दै त्यसपछि क्रिस्चियन धर्म अँगालेको सुनाउँछन्।
३५ वर्षअघि आइएनएफमा कार्यरत रहेकै बेला आफू बिरामी भएको र येसुको प्रार्थनाले ठिक भएको साहको विश्वास छ। उनी भन्छन्, 'म राति तर्सने, आत्तिने गर्थें, आइएनएफका साथीहरूले येसुको प्रार्थना गरेपछि ठिक हुन्छ भन्नुभयो, मैले उनीहरुले भनेअनुसार गरेपछि रोग ठिक हुँदै गयो।'
प्रतिमाको भनाइ पनि उस्तैउस्तै छ। उनी आफ्नो शरीरमा कुनै औषधिले निको नभएको घाउ साथीहरूको सल्लाहमा चर्च गएर प्रार्थना गरेपछि निको भएको सुनाउँछिन्।
'चर्च गएर प्रार्थना गरेपछि घाउ निको हुँदै गयो,' उनले भनिन्। त्यसलगत्तै आफू क्रिस्चियन धर्ममा लागेको उनले बताइन्।
नरबहादुर र प्रतिमा मात्र होइन, यो धर्ममा लाग्नुको कारण सोध्दा जोकोही प्रार्थनाले रोग निको भएको, पीडाबाट मुक्ति र शान्ति पाएको जवाफ दिन्छन्। के देखिन्छ भने नरबहादुर आइएनएफसँगको संगतबाट क्रिस्चियन बन्न पुगेका थिए भने प्रतिमा साथीहरूको संगतबाट।
साथीभाइ, छिमेकीको संगतबाट क्रिस्चियनमा प्रवेश गर्नेहरूको संख्या ठूलो छ। त्यसो त क्रिस्चियन धर्ममा लाग्न प्रचारमा हिँड्ने स्वदेशी, विदेशी बगे्रल्ती भेटिने गरेको अनुभव सुनाउँछन्, लमहीका राजनीतिकर्मी एवं व्यवसायी गंगाराम भट्टराई। भट्टराई भन्छन्, 'यहाँ जापानी क्रिस्चियन केटीहरू डेरा जमाएर बसेका छन्। उनीहरूको काम मीठो बोलेर सिधासादा नागरिकलाई फसाउनु हो।' ललाइ–फकाइ धर्मपरिवर्तनन गराउने कामले दाङमा अभियानकै रुप लिएको भट्टराईको भनाइ छ।
दाङ, घोराहीमा कार्यालय रहेको इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्वास्थ्य क्षेत्रमा समर्पित संस्थाका रुपमा चिनिन्छ। ४० वर्षदेखि कुष्ठरोग र क्षयरोगका बिरामीको उपचार र सेवामा समर्पित आइएनएफ अहिले पनि यही क्षेत्रमा कार्यरत छ। विभिन्न स्वास्थ्य, सामाजिक, सामुदायिक विकास र शान्ति स्थापना कार्यक्रम लिएर गाउँगाउँ पुगेको छ आइएनएफ जसले मध्यपश्चिममा क्रिस्चियन धर्म फैलाउने प्रमुख भूमिका खेलेको ठान्छन् विश्लेषकहरू।
अन्य धर्मबाट क्रिस्चियनमा परिवर्तन हुनुको आधारभूमि आइएनएफले बनाउने गरेको देखिन्छ। त्यही संस्थाका कर्मचारी साह काम गर्दागर्दे येसुको भक्त बनेका हुन्।
त्यसो त आइएनएफ नेपालको वेबसाइटमा क्रिस्चियन धर्म फैलाउन लागिपर्ने घोषित नीति नै राखिएको छ। घोषित रुपमै इसाई धर्मप्रति आस्थावान रहने संस्थाको नीति छ। आइएनएफको परिकल्पनामा भनिएको छ, 'नेपाल र नेपालबाहिर रहेका सबै नेपालीले येसु खि्रस्टमा भरिपूर्ण जीवन अनुभूत गर्दै परमेश्वर र उहाँका सृष्टिसँग सुमधुर सम्बन्ध तथा स्वास्थ्य, शान्ति र न्याय प्रवर्द्धन गर्न सबैसँग मिलेर सेवा गर्नेछ।' त्यस्तै संस्थाको मिसनमा लेखिएको छ, 'येसुु खि्रष्टको सुसमाचारलाई वचन र कर्मद्धारा चरितार्थ गर्न स्वास्थ्यताको प्रवद्धन गर्ने, गरिवि तथा सामाजिक असमानता विरुद्ध लड्ने मण्डलीहरूलाई प्रोत्साहित गरी सहकार्य गर्ने र सृष्टिको संरक्षण गर्दे नेपालीहरूलाई सेवा पुर्यााउने।'
संस्थाले आफ्नो परिचय दिँदै भनेको छ, 'क्रिस्चियन मिसन नेपालीको भौतिक र अध्यात्मिक आवश्यकतामा सन् १९३६ देखि सेवा पुर्यादउँदै आएको संस्था हो।'
संस्कृतिविद तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक शिवकुमार सुवेदी भन्छन्, 'पहिले आइएनएफ थिएन, क्रिस्चियन पनि थिएनन्।' ४० को दशकसम्म गोप्य रुपमा ८–१० जना क्रिस्चियन रहेको दाङमा अहिले जताततै फैलिएको सुवेदीको विश्लेषण छ।
रोल्पा, रुकुम र सल्यानबाट बसाइँ सरेका मगर र दलित समुदाय क्रिस्चियन हुने गरेको औल्याउँदै सुवेदी भन्छन्, 'आर्थिक रुपमा कमजोर निम्नवर्गीय नागरिक उनीहरूको फन्दामा पर्ने गरेका छन्।' कमजोर आर्थिक अवस्थाकालाई आर्थिक सहायता गरेर, बिरामी र विपतमा परेकालाई येसुले निको पारिदिने विश्वासमा पारेर धर्म परिवर्तन गराउने अभियन्ता गाउँगाउँ पुगेको उनले बताए।
कुष्ठरोग र क्षय रोग उपचारमा आएको आइएनएफले मध्यपश्चिमको पहाडी जिल्लामा क्रिस्चियन फैलाउने काम गरेको सुवेदी बताउँछन्। 'यहाँबाट कुष्ठ रोग निर्मूल भयो,' सुवेदीले भने, 'उनीहरूले रोपेको क्रिस्चियनको बिउ अहिले बेस्सरी फैलिएको छ।'
स्थानीय समाज, हिन्दु धर्म मान्नेहरूमा रहेको ठूलो–सानोको भेदभाव, जातीय भेदभाव, छुवाछूतजस्ता प्रथा र परम्पराका कारण पनि सिमान्तीकृत जाति र वर्ग क्रिस्चियन धर्ममा लाग्ने गरेको विश्लेषण गर्दै सुवेदीले भने, 'उनीहरू आफ्नो धर्र्म कसरी फैलाउने भन्नेमा लागिपरे, हाम्रा हिन्दुवादीहरू कसरी जोगाउने भन्नेपट्टि लाग्दै लागेनन्।'
मगर र थारुहरूबीच क्रिस्चियन धर्म फैलाउन प्रचारकहरु योजनाबद्ध किसिमले लागिपरेको उनी बताउँछन्।
हिन्दु विश्वविद्यालय, दाङका प्राध्यापक किशोर गौतम नियोजित किसिमले धर्म परिवर्तनको आधार तयार गरिएको टिप्पणी गर्छन्। माओवादी 'जनयुद्ध' र अन्तरिम संविधान जारी भएपछि कतिपयले हिन्दु धर्मबाट अलग गराउने खेल खेलेको उनको आँकलन छ।
'यहाँका कतिपय जनजाति आदिवासीलाई पहिले तिमीहरू हिन्दु होइनौं भनेर पाठ पढाइयो,' गौतमले भने, 'त्यसपछि उनीहरूको हातमा बाइबल थमाइयो।'
धार्मिक प्रवचक तथा हिन्दु विद्यापीठ नेपालका प्रधानाध्यापक भोलानाथ योगी आइएनएफले आधार बनाइदिएपछि चर्चलगायत संस्थाले अभियान चलाउने गरेको बताउँछन्। 'दाङमा पहिल्यैदेखि मिसनरी बसेको थियो, यसले जरा गाड्दै गएको हो।'
दाङका थारूलगायत विपन्न वर्गमा भूत, प्रेतजस्ता अन्धविश्वासले जरा गाडेको छ,' योगीले भने,
'त्यस्तो विश्वास गर्नेहरूको मनमा जिससका कुरा बुझाउन सहज भयो।' दाङ, स्वर्गद्वारी एफएमका प्रबन्धक दधिराम सुवेदी भन्छन्, 'गरिबीका नाममा लोभ र लालच देखाएर पनि धर्म परिवर्तनको काम भइरहेको छ।'
चपेटामा निम्नवर्ग
विपन्न समुदायका बढीले क्रिस्चियन धर्म अँगालेको भेटिन्छ दाङमा। गरिबीको रेखामुनिको नेपालको जनसंख्या २५ प्रतिशत हाराहारी छ। दाङ मुक्त कमैया, सुकुम्बासी र निम्नवर्ग भएको जिल्लामा पर्छ। यहाँको एकचौथाइ जनसंख्या गरिबीको रेखामुनि छ। रोल्पा, रुकुम, सल्यानबाट रोजीरोटीका लागि बसाइँ सरेका र दाङका विपन्न थारु समुदायमा क्रिस्चियनीकरण भइरहेको देखिन्छ। थरुहट आन्दोलनका अगुवा वामदेव चौधरी देउखुरी उपत्यकाका विपन्न थारुबीच धर्म परिवर्तनको लहड चलेको बताउँछन्। उनको अनुमानमा देउखुरीका ३० प्रतिशत हाराहारी थारु क्रिस्चियन हुने क्रममा छन्।
'नाचगान गराउने, मादल बजाएर प्रभावमा पार्छन्,' चौधरीले भने, 'थारु महिला इसाई धर्मप्रति आकर्षित भएको देखिन्छ।' नागरिकलाई झूठा आश्वासन दिएर धर्मपरिवर्तन गराउने काम भइरहेको उनको अनुभव छ।
सुवेदी भन्छन्, 'क्रिस्चियन धर्मका प्रचारक समस्यामा परेका, बिरामी, विपन्न र सिमान्तीकृत वर्गका मानिसबीच पुग्छन्, उनीहरूलाई सहानूभूतिपूर्वक व्यवहार गर्छन् र आफ्नो धर्मप्रति आकर्षित गर्छन्।'
पैसाको चलखेल
दाङमा बर्सेनि स्थापना हुने चर्चका पछाडि ठूलो लगानी रहेको स्थानीय बताउँछन्। महँगा स्थानमा जमिन किनेर धमाधम चर्च भवन बनाइनुले क्रिस्चियन बढाउन बढ्दो लगानी भइरहेको इंगि त गर्छ। स्थानीयको अनुभवमा यो धर्ममा लागेका अगुवाको उकासिएको जीवनस्तरले पनि यो अवस्था पुष्टि गरेको देखिन्छ।
सिसनियाका एक व्यवसायी भन्छन्, 'एक जनालाई क्रिस्चियन बनाएबापत यति पैसा दिन्छु भनेर भनेजस्तो छ।' स्थानीय कतिपय युवाको आम्दानीको स्रोत क्रिस्चियन अभियान बनेको लमहीका अर्का व्यापारी बताउँछन्। सिसनिया, कालापानीका देव चौधरीले आफ्नो गाउँमा फैलिएको क्रिस्चियन बन्नेहरूका पछाडि पैसाको ठूलो चलखेल रहेको सुनाए, 'क्रिस्चियन बनाउन ठेक्का दिएजस्तै देखिन्छ।' सोझै पैसा नपाए पनि बनाउनेहरूले भने रकम लिने गरेको अनुभव उनको छ।
दाङमा क्रिस्चियनहरूको संस्था भनेर परिचय पाएको सामुदायिक उत्थान तथा परिवर्तन समाजको वर्षको खर्च ४० लाख हाराहारी देखिन्छ।
कुन शीर्षकमा खर्च हुन्छ त यत्रो रकम? अध्यक्ष जीवन गुरुङ भन्छन्, 'क्रिस्चियन बनाउन होइन, विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति, क्षयरोगीहरूका लागि होस्टल सञ्चालन र विभिन्न सामाजिक काममा खर्च हुन्छ।'
गुरुङकै भनाइ मान्ने हो भने पनि क्रिस्चियन बनाउन घुमाउरो बाटोबाट लगानी भइरहेकै देखिन्छ।
प्रतापी चर्चका पास्टर नरबहादुर साह भन्छन्, 'प्रत्येक सदस्यले आफ्नो आम्दानीको १० प्रतिशत परमेश्वरका नाममा चढाउने गरेको र त्यही आम्दानीबाट धार्मिक काम हुने गरेको छ।
दाङ, क्रिस्चियन समाजका अध्यक्ष शालिकराम साहु पनि भेटी, आम्दानीको दसांश भेटी, विशेष भेटीलगायत सदस्यबाट उठ्ने पैसाबाट आफ्नो चर्च चलेको दाबी गर्छन्। दाङका अगुवा भने यो मान्न तयार छैनन्।
'उनीहरूले भनेजस्तै भेटी र दसांशले मात्र महँगा घडेरीमा चर्च ठडिन सक्दैन।' विपन्न वर्गका सदस्यकै सहयोगले आलिसान चर्च धान्न सक्दैन। हात मुख जोर्ने चिन्तामा भएकाबाट उठेको दानबाट करोडौँ रुपैयाँ कसरी जम्मा हुन्छ,' ती अगुवाले प्रश्न गरे।
गाउँगाउँमा खटिएका धर्मप्रचारक र उनीहरूले गर्ने लगानीको स्रोत के हो त? पैसाको खोलो बगेको देखिए पनि त्यसको मुहान भने कतै फेला पर्दैन।
ठूलो संख्यामा गाउँगाउँ चर्च खोलिएकाले विदेशबाट कसैकसैले पैेसा लिएको हुनसक्ने भने स्विकार्छन् साह। 'हामीले पनि सुनेका छौं, ठूलो मात्रामा पैसा खर्च भइरहेको छ भन्ने तर फेला परेको छैन, त्यो कसले कहाँबाट लिएको छ?' साह भन्छन्।
विभिन्न खाले चर्चहरू स्थापना भएकाले कतिपयले आफ्नो सम्पर्कबाट पैसा लिएको हुनसक्ने उनले आँकलन गरे। त्यस्तै कथन छ, समाजका अध्यक्ष साहुको।
'हामीले लिएका छैनौं, कतिपयले आफ्नो चर्चका लागि कतैबाट पैसा माग गरेको र प्राप्त गरेको हुनसक्छ,' साहु्ले भने, 'एकले अर्काको भार उठाउनुपर्छ भन्ने खि्रस्टको सिद्धान्त हो, शिक्षा हो, त्यही आधारमा कतिपय स्वदेशी, विदेशीले नेपालका चर्चलाई सहयोग गरेको हुनसक्छ ।'
विपन्न थारुहरू रहेको लमही, देउपुरको 'सन्देश' चर्च एउटा उदाहरण हो जसका नाममा २ कठ्ठा जमिन छ। चर्चका पास्टर इन्द्रदेव चौधरी भन्छन्, 'हाम्रा सदस्यले मिहिनेत गरेर यो चर्च बनाएको हो।' चौधरीको भनाइ स्थानीय पत्याउँदैनन्। लमहीका एक व्यवसायी प्रश्न गर्छन्, 'धुरको एक लाख पर्ने जग्गा किन्ने पैसा कहाँबाट आयो?'
क्रिस्चियन धर्म फैलाउन मिसन बोकेको आइएनएफले अघिल्लो वर्ष मुलुकका विभिन्न जिल्लामा ३० करोड खर्च गरेको उसको वेबसाइटमा उल्लेख छ। यो रकम क्रिस्चियन धर्म परिवर्तन शीर्षकमा भएको देखिँदैन। कुष्ठरोगी, क्षयरोगीको उपचारलगायत सामाजिक अभियान र कार्यक्रममा खर्च भएको देखाइए पनि आइएनएफले क्रिस्चियन बन्ने आधार यसैबाट बनाइदिने गरेको पाइन्छ। हिन्दु विद्यापीठका प्रधानाध्यापक भोलानाथ योगी आइएनएफले आधार बनाइदिएपछि चर्चलगायत संस्थाले धर्म परिवर्तनको अभियान चलाउने गरेको बताउँछन्। 'दाङमा पहिल्यैदेखि मिसनरी थियो, अहिले भने जरा गाड्दै गयो।'
आकर्षण छात्रवृत्तिको
विपन्न र कमजोर परिवारलाई क्रिस्चियन बनाएपछि अभियन्ताले तिनका छोराछोरीलाई छात्रवृत्ति दिने गरेको स्थानीय बताउँछन्। कक्षा १ देखि १० सम्मको छात्रवृत्ति स्थानीय संघसंस्थाबाट र त्यसभन्दा माथिको काठमाडौंस्थित प्रोट्याक्ट नामक संस्थाले उपलब्ध गराइरहेको जानकार बताउँछन्।
सामुदायिक उत्थान तथा परिवर्तन समाजले दाङमा छात्रवृत्ति बाँडेको स्थानीयको आरोप छ। समाजका अध्यक्ष जीवन गुरुङ ३५–४० जनासम्मलाई कक्षा १० सम्म छात्रवृत्ति दिने गरेको स्विकार्छन्। 'धर्मका आधारमा होइन, समस्यामा परेका सबैलाई दिइरहेका छौं,' उनको स्पष्टीकरण छ औपचारिक रुपमा दिइने छात्रवृत्तिबाहेक दाङका विभिन्न गाउँमा विद्यार्थी पढाउने भन्दै विभिन्न बहानामा पैसा बाँडिरहेको जानकारहरू बताउँछन्। जानकार स्रोतका अनुसार दाङका विभिन्न विद्यालयमा बर्सेनि १ सय ५० देखि २ सयसम्म विद्यार्थीले औसत मासिक ४ हजारका दरले छात्रवृत्ति पाउने गरेका छन्। छात्रवृत्ति क्रिस्चियन धर्मप्रचार गर्ने संस्थाले विभिन्न बहानामा बाँड्ने गरेको स्रोतले जनायो।
विद्यालय शिक्षासम्म एकखाले सामान्य छात्रवृत्तिको व्यवस्था छ भने उच्च शिक्षाको छात्रवृत्ति क्रिस्चियन धर्ममा लागेका अगुवा र पास्टरका नातागोताले उपभोग गरिरहेको जानकार स्रोतले नागरिकलाई दिएको छ।
स्रोतका अनुसार पोक्ट्याक्टको छात्रवृत्ति पाएर एमबिबिएससम्म शिक्षा लिनेमा क्रिस्चियन समाजका ठूलाबडाका ६ जनाभन्दा बढी आफन्त छन्।
सामूहिक नाममा चर्च
दाङमा खुलेका अधिकांश चर्च क्रिस्चियन धर्ममा लागेका अगुवाहरूको संयुक्त नाममा राखिएका छन्। नेपालको कानुनले धार्मिक संस्था खोल्न नदिएको, चर्चहरु गैरसरकारी संस्थाका रुपमा दर्ता हुन नचाहेको र एक जनाको नाममा मात्र जग्गा र चर्च भवन राख्दा विवाद भएको पृष्ठभूमिमा संयुक्त नाममा जग्गा र भवन राख्ने गरिएको स्थानीय अगुवा बताउँछन्।
पहिलो चर्च प्रतापी नरबहादुर साह, जीवन गुरुङ र स्व. ललित गुरुङको नाममा छ। प्रतापी चर्चका अगुवा जीवन गुरुङले एक वर्षअघि अर्को चर्च अनन्तजरी स्थापना गरे, त्यो पनि संयुक्त नाममा छ। तुल्सीपुरको अध्यालोन एजी मण्डलीको जग्गा र भवन पनि यसका संस्थापक शालिकराम लगायत अन्य अगुवाको संयुक्त नाममा देखिन्छ। लमही, देउपुरको सन्देश चर्च पनि त्यसका पास्टर इन्द्रदेव चौधरीलगायतको नाममा रहेको चौधरी बताउँछन्।
परिवारमा झगडा
क्रिस्चियन धर्मले समाजमा शान्ति, समृद्धि छाएको, जाँडरक्सी सेवन हटेको, सामाजिक हिंसामा कमी आएको प्रचार गरिन्छ। यथार्थ भने अर्कै छ।
यसले परिवारमा झगडा निम्त्याएका तस्बिर सामुन्ने छन्। देउपुरस्थित आदर्श विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका सुशील चौधरी आफू, आमा, ठूलो दाइ क्रिस्चियन धर्ममा लागेका भए पनि माइलो दाइ र बुबा नलागेको बताउँछन्। ठूलो दाइले यो धर्ममा राम्रो हुन्छ भनेर आमालगायत यसमा लागेको बताउने सुशील भन्छन्, 'क्रिस्चियनमा किन लागिस् भनेर आमालाई बुबा हप्काउनुहुन्छ भने आमा यही धर्ममा आउनुस् भनेर बुबालाई फकाउनुहन्छ।'
आमा र बाबुबीच धर्मकै कुराले बेलाबेला झगडा हुने गरेको उनले सुनाए। 'क्रिस्चियन किन बनिस् भनेर बुबाले आमालाई गाली गरिरहनुहुन्छ,' सुशील भन्छन्, 'कहिलेकाहीँ त घरबाट निस्किहाल् भनेर तर्साउनु पनि हुन्छ।'
स्कुल पढ्ने खर्च चर्चले दिन्छ भनेर ठुल्दाइले भनेपछि आफू यसमा लागेको उनले बताए। उनका अनुसार दाइले धर्मबाट आएको पैसा भन्दै कापीकिताब किन्न खर्च दिने गरेको उनी सुनाउँछन्।
कक्षा ७ अध्ययनरत सुमन चौधरीको कथन बैग्ले छ। उनको घरमा बाबुछोरा यस धर्ममा लागेका छन् भने आमाले मान्दै मानेकी छैनन्।
'आमाले मान्दै मान्नुभएको छैन,' सुमन भन्छन्, 'बुबाले धेरै कर गरिरहनुभएको छ। आमा मरिगए जान्न भन्नुहुन्छ।' धर्मकै नाममा कहिलेकाहीँ आमा–बाबुबीच झगडा हुने गरेको उनले पनि सुनाए।
परिवारका एक केही सदस्यले धर्म परिवर्तन गर्ने र अन्यले नगर्दा मृत्यु संस्कारका बेला चर्को विवाद हुने गरेको उदाहरण दिन्छन् घोराहीका स्थानीय। उनीहरूका अनुसार क्रिस्चियन छोराले बाबुआमा मरेपछि गाड्ने, हिन्दु छोराले जलाउने जिद्धि गर्दा बेलाबेला विवाद आइरहन्छन्।
समाजमा द्वन्द्व
बढ्दो क्रिस्चियन धर्मावलम्बी र उनीहरूको व्यवहारले दाङका समाजमा बेलाबेला द्वन्द्व हुने गरेको देखिन्छ। संविधानको मस्यौदामाथिको छलफल क्रममा साउन ५ गते दाङ क्षेत्र नं ३ मा एक किसिमको विवादै भयो। एमाओवादी सभासद रेखा शर्माले मस्यौदामा 'धर्मनिरपेक्ष' शब्द राखिनु ठूलो उपलब्धि हो भनेपछि विवाद सुरु भएको देखिन्छ। छलफल गर्न आएकाबीच धर्मका नाममा चर्काचर्कीको अवस्था आयो। योजनाबद्ध किसिमले छलफल कार्यक्रममा बसेका क्रिस्चियनहरू शर्माका पक्षमा बोल्न थाले भने हिन्दु विद्यापीठका योगी त्यसको विपक्षमा उर्लिए। योगीले सभासद शर्मालाई आफ्ना कुरा फिर्ता लिन आक्रोशपूर्ण आग्रह गरेपछि क्रिस्चियन वृत्तबाट 'हिन्दुहरु हिन्दुस्तान जाओ' भन्नेजस्ता प्रतिक्रिया आएका थिए।
२०७० को होलीमा सिसनिया, कालापानीमा साथी–साथीबीच रङ हानेको विषयमा उत्पन्न विवाद छुरी हानाहानमा पुग्यो। होलीमा सहभागी एक थारु युवा भन्छन्, 'हामी होली खेल्दै थियौं, आफ्नै साथीलाई रङ हालेपछि विवाद भयो र विवादले उग्र रूप लियो।'
रङ खेल्दाखेल्दै अन्जानमा क्रिस्चियन साथीमा रङ परेपछि झगडा भएको उनले सुनाए। 'अघिल्लो वर्षसम्म ऊ हिन्दु थियो,' ती युवाले भने, 'पछि क्रिस्चियन भएको हामीलाई थाहा थिएन।' क्रिस्चियनहरू हिन्दुहरूको शुभसाइतमा टीका लगाउने संस्कारका उग्र विरोधी हुन्छन्। सामान्यतया 'कसैले 'म त टीका लगाउँदिनँ' भन्दा समाजमा क्रिस्चियन भएको रुपमा हेरिन्छ।
त्यसो त क्रिस्चियनहरूले समाजमा आफ्नो उपस्थिति बलियो बनाउन र आफूहरूलाई एकढिक्का राख्न हिन्दु धर्मका चालचलन र संस्कारविरोधी गतिविधि गर्ने स्थानीय बताउँछन्।
दसैं, तिहारजस्ता हिन्दुहरूका मुख्य चाडमा क्रिस्चियन धर्ममा प्रवेश गरेकालाई बसमा राखेर टाढाटाढासम्म लग्ने गरेको सिसनियाका स्थानीय बताउँछन्। एक व्यवसायीका अनुसार पोहोरको दसंैमा ८–१० बसमा राखेर यहाँका क्रिस्चियनलाई अन्तै लगिएको थियो। उनले भने, 'हामी हिन्दुहरुको चाडपर्वका बेला उनीहरू कि अन्यत्र जान्छन्, कि हाम्रो प्रतिस्पर्धामा कार्यक्रम आयोजना गर्छन्।
लमहीका क्रिस्चियनलाई अन्य जिल्ला लैजाने र अन्य जिल्लाका क्रिस्चियन लमहीलगायत दाङका विभिन्न चर्च ल्याउने गरेको भेटिन्छ।
नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक किशोरचन्द्र गौतम हिन्दु धर्मप्रति वितृष्णा फैलाउने काम भइरहेको बताउँछन्। 'हिन्दुहरूले आफ्नो संस्कारअनुसार अनुष्ठान गर्दा त्यसको विरोधमा कतिपय क्रिस्चियनले बाजागाजा बजाउने गर्छन्,' गौतम भन्छन्, 'अरूको धर्मविरुद्ध घृणा फैलाउने काम भइरहेको छ। गौतमले हिन्दु समाज सधैँ चुप लागेर बस्न नसक्ने बताउँछन्।
प्रतापी चर्चका पास्टर साह भने दसैं, तिहारजस्ता चाडबाडमा आफूहरू पनि जम्मा भएर रमाइलो गर्ने गरेको बताउँछन्। उनी भन्छन्, 'हामी आफ्नो हिसाबले रमाइलो गछर्ौं, अरू धर्मको विरोधमा होइन।'
दसैंतिहार, तिज समाजदेखि अलग हुन नसक्ने दाबी साहको छ। 'दसैंमा मामाघर, ससुराली जान्छौं, खानपिन रमाइलो गर्छाैं, टीका मात्र लगाउँदैनौं,' साह भन्छन्, 'तिजमा पनि दिदीबहिनीको कार्यक्रम हुन्छ, उनीहरूले प्रार्थना श्रीमान्को भलाइको कामना गर्छन्।'
छाड्ने, छुटाउने लहर
सात वर्षसम्म क्रिस्चियनहरूको संस्था सामुदायिक उत्थान तथा परिवर्तन समाजमा जागिर खाएका घोराहीका टार्जन केसी आफू क्रिस्चियन धर्म छाडेर हिन्दु धर्ममा फर्किएको बताउँछन्।
'ठूलो संख्याका मानिस क्रिस्चियन छाडेका छन्,' केसी भन्छन्, 'कोही खुलेर आउँछन्, कोही केही नभनी घरमै बस्छन्।' युवाहरूलाई जागिर लगाइदिने, विदेश पठाइदिनेजस्ता प्रलोभन दिएर क्रिस्चियन बनाउने गरेको बताउँदै केसी भन्छन्, 'मैले जागिर पनि छाडे, क्रिस्चियन धर्म पनि त्यागे।'
सिसनियाका श्रीधर पुन आफ्नो छोराको उपचार नाममा क्रिस्चियन बनेर फेरि आफ्नो धर्ममा फर्कने मध्येका हुन्। क्यान्सर भएको छोराको उपचारमा लाखौं खर्च गरेपछि पनि उपचार हुन नसकेको बताउँदै पुनले भने, 'चर्चमा गएर प्रार्थना गरेपछि ठिक हुन्छ भनेर एक वर्षसम्म क्रिस्चियन बनेका थियौं।'
उनका अनुसार छोरा विश्व पुनको क्यान्सर ठिक हुन्छ भनेर सिसनियाबाट करिब ४० किलोमिटर टाढा दाङको प्रतापी चर्चमा गएर प्रार्थना गर्ने काम भयो। 'प्रत्येक शनिबार छ महिनासम्म गाडी भाडामा लिएर छोरालाई लिएर जान्थ्यौं,' पुनले भने, 'प्रार्थनाले पनि छोरो ठिक भएन, उसको निधनपछि फेरि आफ्नो धर्ममा फर्कियौं।'
चर्च धाउन थालेको वर्ष दसैंतिहारमा टीका नलगाएको पुन सम्झन्छन्। 'छोरो केहीगरी ठिक हुन्छ कि भन्ने थियो, भएन,' पुनले भने, 'निधनपछि उसको संस्कार पनि हिन्दु धर्मअनुसार गर्यौंठ, वार्षिकी पनि त्यसैअनुसार गर्यौंथ।'
सिसनियाका चन्द्रमणि पाण्डे आफ्ना दुई छोरामध्ये एउटालाई क्रिस्चियन हुनबाट जोगाउन सकेकोमा खुसी छन्।
'कान्छो छोरो भारत, चण्डीगढ बस्थ्यो, उतै क्रिस्चियन भयो, क्रिस्चियन केटी विवाह गर्योी,' पाण्डे भन्छन्, 'हामी बूढाबूढी र दाजुलाई पनि आफ्नो धर्ममा तान्न खोजेको थियो।'
जेठो छोरालाई जोगाएर हिन्दु केटीसँग विवाह गरिदिन पाएकोमा दंग पाण्डे भन्छन्, 'मरेपछि आफ्नै धर्मअनुसार सतगत गर्नेछौं।'
आमा पवित्रा पाण्डे भन्छिन्, 'कान्छो विष्णुले जेठो यमलाललाई पनि क्रिस्चियन बनाउन खोजेको थियो, हामीले जेठोलाई जोगायौं।'
समस्या समाधिस्थल
दाङमा बढ्दो क्रिस्चियनका लागि मृत्युपछिको समाधि समस्या बनेको छ। खोलाका बगर, वन र सामुदायिक वनहरूमा स्थानीयबाट विरोध हुन थालेपछि क्रिस्चियन समाजको अगुवाइमा राज्यसँग समाधिस्थल माग भइरहेको पास्टर नरबहादुर साह बताउँछन्। साहका अनुसार राज्यसँग माग्ने काम पनि भइरहेको छ र क्रिस्चियनहरू आपसमा मिलेर चिहान खरिद गर्ने कामले पनि तीव्रता पाएको छ। साहका अनुसार अहिले उनको चर्च र अन्य केही चर्च मिलेर दाङको दहझडन, बडहरामा समाधिस्थलका लागि जग्गा किनिएको छ। अन्य चर्चले सोही क्षेत्रमा जग्गा किन्ने तयारी भइरहेको उनले बताए। दाङभरि फैलिएका क्रिस्चियनहरूका लागि निजी समाधिस्थलले नपुग्ने जानकारी दिँदै साह भन्छन्, 'राज्यले हामीलाई समाधिस्थल व्यवस्था गर्नुपर्छ, हामी त्यसैमा लागिपरेका छौं।'
४० को दशकदेखि दाङमा सुरु भएको क्रिस्चियनीकरणले माओवादी 'जनयुद्ध' का बेला मलजल पाएको र जनआन्दोलन २ पछिको खुकुलो राजनीतिक वातावरणमा ह्वात्त फैलने अवसर पाएको देखिन्छ। गरिबी, पछ्योटेपन र हिन्दु समाजबाट सिमान्तीकृत समुदायलाई आफ्नो धर्ममा ल्याउन येसुवादीहरू केही हदसम्म सफल देखिन्छन्। चर्चका पास्टरहरू विभाजित भएर नयाँनयाँ चर्च खुल्दै जानेे प्रवृत्ति क्रिस्चियनहरूकै टाउको दुखाइ बनेको पनि देखिन्छ।
पैसाको बलमा नियोजित किसिमले क्रिस्चियनहरू बढेको विश्वास छ स्थानीय स्तरमा। र, सँगसँगै हिन्दु लगायतका अन्य धर्मप्रतिको उनीहरूले पोख्न थालेको आक्रोश र वितृष्णाले समाजमा द्वन्द्व निम्त्याउने र त्यो फैलँदै जानेे चिन्ता छाएको छ। धर्मनिरपेक्षताका आडमा भइरहेका जबर्जस्त धर्मपरिवर्तन अभियान बेलैमा नियन्त्रण नगरिए मुलुक धार्मिक युद्धतर्फ जाने खतरा सामुन्ने छन्।
प्रकाशित: १५ श्रावण २०७२ १९:३२ शुक्रबार





