८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

करोडौं कस्तूरी विमोचित

काठमाडौं– अमर न्यौपानेको नयाँ उपन्यास करोडौं कस्तूरी मंगलबार विमोचन भएको छ। शिक्षाविद् केदारभक्त माथेमा र कलाकार हरिवंश आचार्यले पुस्तक सयुक्तरुपमा सार्वजनिक गरे।

माथेमाले उपन्यास पढेपछि आफूलाई नेपाली पुस्तक विश्व साहित्यको स्तरमा पुगेको अनुभूत भएको टिप्पणी गरे। 'जीवनभर इज्जत र जागिरका लागि औपचारिक शिक्षा पढेर आफैँलाई नचिनी बाँच्ने पात्रको कथा हो करौडौं कस्तूरी, यसले प्रत्येक व्यक्तिलाई आफ्नो प्रतिभा चिन्न प्रेरणा दिन्छ', उनले भने, 'धेरैले नपढी नहुने यो उपन्यासमाथि त एउटा शैक्षिक सेमिनार नै गर्न जरुरी छ।'

उपन्यासमा छायाँ पात्र बनाइएका वरिष्ठ कलाकार हरिवंशले सबै मानिस आआफ्नो जीवनको कस्तुरी हुन् भन्दै त्यसलाई चिन्न उपन्यासले प्रेरित गर्ने बताए।

सानोमा बाआमाले संस्कृत पढाएर नेपालको ठूलो पण्डित बनाउन चाहेको तर आफूले भने काठमाडौंका चलचित्र हलहरुलाई आफ्नो पाठशाला र चलचित्रमा खेल्ने कलाकारहरुलाई गुरु बनाएर आफ्नो कस्तुरी चिन्दै कलाकार बनेको अनुभव हरिवंशले सुनाएका थिए।

उपन्यास लेखक अमर न्यौपानेले आफ्नो विद्यार्थी र शिक्षक जीवनमा उठेका प्रश्नहरुको जवाफ खोज्दै जाँदा करौडौं कस्तूरी जन्मन पुगेको उल्लेख गरे। शिक्षाभन्दा सिर्जनशीलता ठूलो कुरा भएको बताउँदै उनले शिक्षाले भन्दा इच्छाले मानिसलाई सफल बनाउने तर्क गरे।

प्रकाशक फाइन प्रिन्टका अजित बरालले भूकम्पपछि सुस्ताएको पुस्तक बजारलाई करौडौं कस्तूरीले फराकिलो पाठक समूहमा पुगेर नेपाली पुस्तक बजारलाई उकास्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पुस्तकको मूल्य ४५० रुपैयाँ छ।

प्रकाशित: २२ असार २०७२ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App