चितवनमा ट्रकसँगै समातिएका हेटौंडा ४ का २० वर्षीय सुशिल थापा मगरले सो ट्रक चोरी गरेको पत्ता लागेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिशु शर्माले जानकारी दिए। ट्रक चोरेपछि हेटौंडा १ का २० वर्षीय भरत पाण्डेलाई साथमा राखेर उनी बीरगञ्ज गएको प्रारम्भिक अनुशन्धानबाट खुलेको डिएसपी शर्माले बताए।
बीरगञ्जबाट भाडामा क्यान जुस बोकेर उनी पोखरा गएका थिए। उनले असार नौ गते पोखरा पृथ्वीचोकमा क्यान जुस अनलोड गरेको खुलेको छ। ट्रक चोरेर बीरगञ्ज पुगेर समान लिएर पोखरा गएका उनीहरु पोखराबाट फर्कने क्रममा चितवनमा समातिएका हुन्।
त्यस्तै मकवानपुर प्रहरीले लजमा चोरी गर्ने १९ वर्षीय एक युवकलाई पनि समाएको छ। मकवानपुर राक्सिराङ गाविस वडा नं. ९ का प्रकाशमान स्याङतानलाई प्रहरीले दुई लजमा नगद, मोबाइल र गहना चोरीको आरोपमा समाएको हो। उनी खास नाम र ठेगना ढाँटेर लजमा बस्ने र लजका सञ्चालक तथा अन्य ग्राहकहरुको समान र नगद चोर्ने गरेको प्रहरीको भनाइ छ।
असार ४ गते हेटौंडाको भुटनदेवी लजमा लोथर ठेगना र रविन थिङ नाम लेखाएर बसेका उनले सोही लजको अर्को कोठामा बसेका सत्यराम प्रजापतिको चाँदीका गहना र नगद गरेर २८ हजार रुपैयाँ बराबरको चोरी गरेका थिए। त्यस्तै असार नौ गते ठेगना छतिवन र नाम थर अरुण मगर लेखाएर नमस्ते लजमा बसेका उनले लज सञ्चालककै मोबाइल र ३६ हजार ७७५ रुपैयाँ चोरेका थिए।
प्रहरीले उनलाई असार १० गते हेटौंडा ३ को निलम लजबाट समाएको हो। सो लजमा उनले नाम असली नै लेखाए पनि ठेगना मनहरी टिपाएका थिए। चोरी मुद्दामा उनीमाथि थप अनुशन्धान भइ रहेको डिएसपी शर्माले जानकारी दिए।
प्रकाशित: १२ असार २०७२ ०४:५३ शनिबार





