उनका कथाका प्राग्भूमि लिम्बुवान र राज्यबीचको लामो सम्बन्ध र शक्तिसंघर्षले जन्माएका संस्कृतिका उपज हुन्। उसो त त्यसबाहेक भुटानी शरणार्थीसँग सम्बन्धित एउटा र अर्को 'पुचुने धामीको मरण' भन्ने उत्तिकै सशक्त कथा पनि छन्। सामान्यतः उनका कथालाई स्थानीक या आञ्चलिक पनि भन्न सकिन्छ तर यी कथा निश्चित जाति लिम्बु र त्यहाँको ऐतिहासिक भूगोल, लिम्बुवानको मनोविज्ञान र संस्कृतिसँगै प्रगाढ रूपमा गाँसिएका छन्। कथामा गरिबी, अशिक्षा, अन्धविश्वास, अहं आदिमा खेल्ने घतलाग्दा चरित्रहरू छन्। तिनमा राज्य, जाति, भूगोल, व्यक्ति, समय आदि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जिम्मेवार छन्।
उदाहरणको रूपमा 'लाटो पहाड' शीर्षकथालाई लिन सकिन्छ। यस कथामा सांस्कृतिक प्रभुत्ववादी राज्य र आदिवासी लिम्बु जातिबीचको मानक परम्परामा असमानताको कारण गौहत्याको आरोपमा कोःक्मा ठूलेलाई गिरफ्तार गरिन्छ। त्यसभन्दाअघि नै उसले च्याब्रुङ बनाउन मुढाको लागि रूख काट्दा सामुदायिक वनबाट दण्ड पाइसकेको हुन्छ जबकि त्यो सामुदायिक वन कुनै समय उसकै पुर्खाहरूको किपट थियो। यस कथाले जल, जंगल र जमिनमाथि आदिवासी र आप्रवासीको स्वामित्वकरणलाई पनि उजिल्याउँछ।
'नसपाते बूढा' कथानामकै चरित्र ज्यादै हाँसउठ्दो, रसिक र 'अल्टरे' छ। दुई जना नसपाते बूढाको कथा खप्टाइएको यस कथामा लिम्बु जातिको सुब्बा प्रथा, लाहुर प्रथा तथा मातृभाषा आन्दोलनमाथि राज्यको दमनलाई चित्रित गरिएको छ। नसपाते चरित्रले हँसाउँछ, तर त्यो हाँसउठ्दो चरित्रको निर्माणमा दोषी भने राज्यलाई नै देखाइएको छ।

अर्को नसपाते बूढा आगे सुब्बा जो ताप्लेजुङ ढुंगेसाँघुको हो। राज्य प्रतिनिधि सुब्बा दसैंमा छोक्रा बेगरको ढुंग्रोमा पानी हाल्दै जिब्रो फड्कार्दै तोङ्बा तानिबसेर आफ्नो विरासत थाम्न खोज्छ, थामिँदैन। जब श्रीमतीले पानी थप्न लाग्दा ढुंग्रो घोप्टिन्छ तब उसको शिर ढल्छ, बिराम भएर मर्छ। यसले राज्यद्वारा लिम्बुहरूलाई कसरी खोक्रो आडम्बरमा बाँच्न बाध्य तुल्यायो भन्ने दर्शाउँछ।
अधिकांश कथामा गरिबीको मार्मिक चित्रण छ तर पात्रहरूमा 'कम हुँ' हैन 'मै हुँ' भन्ने अहं नै देखिन्छ। के लिम्बु जातीय मनोविज्ञान हो त यो? निश्चित रूपमा त्यस्ता चरित्रहरूको मनोविज्ञानको निर्माणमा लिम्बुवान र राज्यबीच सम्बन्ध र द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि मुख्य जिम्मेवार छ। इतिहासमा लिम्बुवान अविजित राज्य हो। नेपाल एकीकरणपछि लामो समय लिम्बुहरूले किपट भूमि प्रणालीमार्फत स्थानीय तवरमा स्वशासनको उपभोग गरे। जल, जंगल, जमिनको मालिक भए। पञ्चखत बाहेकका सम्पूर्ण अधिकार थियो 'किपटीया सुब्बा'हरूलाई। राज्यले आप्रवासन बढाउन 'डोके, हले, कोदाले'का रूपमा 'रस्ती बसाउने, बस्ती बसाउने' र त्यसबापत कर उठाएर खान पाउने 'सुबाङ्गी प्रथा' चलाएपछि लिम्बुवानमा मिश्रित मनोविज्ञानको विकास भयो। शासक र शासित दुवैखाले मनोविज्ञान। सेनमोकवानकालदेखि गोर्खाकालसम्ममा शासनसत्तामा साझेदार लिम्बुको शासकीय मनोविज्ञान बिहे, मरौपरौजस्ता संस्कारमा स्पष्टै झल्कन्छ। जस्तै, बिहेमा राजाकै जस्तो श्रीपेच र राजदण्ड प्रयोग गर्नु र जोरजोर बन्दुक पड्काएर सलामी लिनु आदि। तर, राज्यको किपटमाथिको दुईधारे नीतिले कालान्तरमा 'मंसिर महिनामा सुब्बा–वैशाख महिनामा लिम्बु' भन्ने दुई स्वभावका लिम्बु पैदा भए। भन्न सकिन्छ, उनका चरित्रहरूमा यही दोहोरो मनोविज्ञान छ। किपट गुमेपछिको लिम्बुको आर्थिक जीवनलाई गरिबीले कहन्छ भने अवचेतनतः सुब्बा हुनुको शासकीय अहं पनि बाँकी नै छ।
कुुनै पनि कथाले लिम्बुवान चाहियो भनेका छैनन् तर लिम्बु जातिका सांस्कृतिक वैभवता, ऐतिहासिक थातथलोप्रति अमिट प्रेम व्यक्त गरेका छन्। बरु 'मानसिंहको चैते दशैं' कथामा अरू सुब्बाहरूले सुभा लाहानसिंहलाई सम्झाउँछन्, 'हामी याक्थुङ्बाहरूले घोडा चढ्नु फाप्दैन है। कि तोङ्बा खानु छोड् कि त घोडा चढ्नु।' मर्दको छोरा भइटोपल्न दुइटै नछोड्दा घोडाबाट लडिमर्छ। यहाँ तोङ्बा र घोडालाई रैथाने र नयाँ शक्ति अभ्यासको रूपमा लिन सकिन्छ।
परम्परागत र आधुनिक मान्यताबीचको टकरावबाट थाहा पाउन सकिन्छ कि चालीस–पचासको दशकयताका कथाहरू छन्। 'प्रभु माइला' कथामा इसाई धर्मको प्रचारमा प्रभु माइला तराई–मधेस गर्छ। मानसिंहले परिवार नियोजनलाई 'लिम्बु मास्ने सरकारी चाल' भनेर विरोध गर्छ। 'खुङ्खार भाले' कथामा बिर्खेको भालेले हटियामा भनेको भाउ पाउँदैन र घरमै काटिखाइन्छ। 'मनमाया' कथामा चिसो र आमाको कुटाइले थलिएकी मनमाया स्कुल जान पाउने कुराले तंग्रिन्छे र बुबाले बोकिल्याएको किताबको भारी भएको ढाकर सुम्सुम्याउँछे। उनका कथामा आदिवासी र पुँजीवादी उत्पादन सम्बन्धबीचको अन्तरद्वन्द्व प्रतिविम्बित छ।
लिम्बु सांस्कृतिक जीवनलाई अत्यन्तै मिहीन रूपमा चित्रित गर्न सक्छन् उनी। लिम्बु संस्कृतिमा उनको गहिरो संज्ञान प्रदर्शन हुन्छ। सांस्कृतिक लेखनमा जातीय रहनसहन, थातथलो, मूल्य मान्यता, विश्वास, अन्धविश्वास, उठबस, खानपान, धर्म संस्कारको सही प्रयोग चुनौती हो। यसमा थोरैमात्र गडबड हुनेबित्तिकै कथाले अर्कै रूप लिन सक्छ। यस मामलामा उनी ज्यादै सचेत छन्। 'ऐँठन' कथामा लिम्बु जातिमा मृतात्मालाई परलोक पुर्या उने विधिलाई ज्यादै सुन्दर र सटिक ढंगले प्रयोग गरेका छन्, जो पुरोहित स्वयंले पनि त्यति सुन्दर ढंगले कमै कहन्छ। 'सुगुत' कथाले मिथकमार्फत लिम्बु थर लावती र फेउदिनको ऐतिहासिक सम्बन्धलाई उत्खनन गर्दै हालको कुटुम्बेरी सम्बन्धसम्मको थुप्रै सामाजिक अर्थलाई इंगित गर्छ।
भाषा सरल अनि पात्रहरूको संवादमा झर्रोपन त उनको विशिष्टता भइहाल्यो। पात्रहरू कम बोल्छन् तर गहकिलो, कवितात्मक बोल्छन्। कथा वाचनदेखि पात्र संवादमा आउने लिम्बु–नेपाली मिश्रित स्थानीय भाषिक स्वादले मन्तरै लाउँछ। कुनै पनि विषयलाई चित्रात्मक रूपमा थोरै शब्दमा छ्याङ्गै भन्न सक्ने उनको शिल्प घच्चीको छ। 'हरियो ढुंगा' कथामा ढुंगा कत्रो थियो भन्नेमा रमितेहरूमा चासो हुन्छ। एक जनाले हातैले नापेर 'येत्रो थियो' भन्छ। निचुले कान्छोले चाहिँ मिल्ने नापोको सानो ढुंगा टिपेर 'यत्रै थियो' भनेर देखाउँछ। 'त्यत्रै' हरियो ढुंगोले निचुले कान्छोको पारिवारिक जीवन तहसनहस हुन्छ।
नलेखिएका, ख्यालठट्टा र फुर्सदमा मात्र मौखिक स्थान पाएका चरित्रप्रधान कथाहरूलाई उपेन्द्रले आधुनिक कथाको क्यानभासमा सिंगारेका छन्। उनका कथाहरूले सरल तर गहन अर्थ पैदा गर्छन्। सरल पठन गर्ने हो भने हाँस्नका लागि, मनोरन्जनका लागि काफी छन्। गहन पठन गर्ने हो यी कथा नेपाली संस्कृति, समाज र सत्ताका मसिना दाउपेचदेखि ठूल्ठूला उल्झनहरूबारे समेत व्यापक अभिरुचि पैदा गर्न समर्थ छन्।
कृति : कथा
कथाकार : उपेन्द्र सुब्बा
प्रकाशन : फिनिक्स बुक्स
पृष्ठ : २२२, मूल्य : ३००/–
प्रकाशित: २९ जेष्ठ २०७२ २१:३७ शुक्रबार





