कवि जेनन नेपाल समाज या राज्यसित असिनपसिन हुनेगरी सिङौरी खेल्ने स्तरका अराजक कवि होइनन् तर केही उत्तेजना, केही अराजकता र हठका बाछिटासहित भएको यिनको प्रवेश रोमाञ्चकारी अवश्य छ। पकेट डायरीजत्रो र मोटाइमा पनि तुलनात्मक रूपले सानो लाग्ने यो कृतिसँग कवि स्वयंको पनि उत्पातै ठूलो महत्र्वाकांक्षा गाँसिएको छैन। बरु कवितामार्फत मानिससित केही सिधा र केही अडबांगा प्रश्नसहित संवाद गर्ने प्रयत्नचाहिँ गरेका छन्—
मेरै आफन्तहरूको
किरिया भोज खाएर
मोटाएको यो समय
किन लगाउँछ धारे हात मैमाथि?
(समय खुच्चिङ् गाइरहेछ)
जे लेखोस्, कविले लेख्ने त आफू उभिएको समयलाई नै हो। तर मुख्य कुरा समयको प्रतिविम्बन कवितामा कसरी गर्ने भन्ने। समयका भव्यता र विद्रूपता दुवैको काव्यिक रूपायनमा कविको वैचारिक उभ्याइले क्याटलिस्टको काम गर्ने हो। जेननको हकमा भन्नुपर्दा उनी उभिने चेष्टा गरिरहेका उत्साही कवि हुन्। उनको वैचारिक उभ्याइ स्थिर हुन भ्याइसकेको अझै छैन। तर व्यक्ति र सामाजिक जीवनका यथातथ्यको कलात्मक प्रशोधनका लागि आवश्यक सिप र चनाखोपन भने आर्जन गरिसकेको देखिन्छ। कवितामा सबैभन्दा बढी आजको समय लेखेका छन् उनले। आजका पीडा र असन्तुष्टि जहीँतहीँ हुर्हुरिएर प्रकट भएका छन्। कवि समयलाई यति विद्रूप देख्छन् कि मानौं यिनलाई समयको यो काइतेपनसितै चलिरहेको छ बढी झाँेक—
यो समय
कोमाबाट सुनिरहेछ
घुइरो घुइरो अव्यवस्थाको अलार्म
ब्युँझिएर गन्हाउने डसनाबाट...
(रात्रीभोजमा समय)
पैनीमाथि तेर्सिरहेको एउटा फलेकको नियतिजस्तो सयौं थरीका मान्छेलाई वारिपारि गराउँदा गराउँदै लेउ र काइले मक्किन लागेको भग्न देशको चित्र बनाएका छने जेननले– कुनै कलाकारले क्यानभासमा बनाएको चित्रझैं। नयाँ कुरा पनि नयाँ नलागिरहेको, पुरानो र कुरूप भित्तामा टाँसिएको कुनै भद्दा सिनेमाको पोस्टरजस्तो देख्छन् यिनी देशका नयाँ भनिएका कुरालाई।
म देख्छु सडकमा
उत्तानो परेर लडिरहेको नांगो देश
खोलेर ढाकाटोपी
छोपिदिन्छु उसको गुप्तांग...
(धडकनको डायरीमा देशप्रेम)
धन्न, देशलाई नांगो हेर्न नसक्ने सामान्य विवेक सुरक्षित छ अझै जेननको पुस्तासित! यसलाई प्रंशसनीय पक्ष मान्नुपर्छ।
शब्द र अर्थसम्प्रेषणको सहज सम्मेलन छ यसभित्र। कतिपय अवस्थामा बिल्कुलै अनौपचारिक शैलीसहित। कवितामा प्राज्ञिक गह्रुँगोपनाको अपेक्षा गर्नेहरू निराश हुन सक्ने सम्भावना प्रबल छ जेननका कवितासित। यिनी कुराकानी गरेजसरी आरामपूर्वक आफ्ना कुरा भन्न चाहन्छन्। कवितामा अनपेक्षित स्मार्ट र अटपटे विचारको बाढी ल्याएर बलजफ्ती कथ्यको कान्तिक्षय गराउनुमा यिनको रुचि देखिन्न। कतिपय अवस्थामा भन्न चाहेको के हो? त्यो स्पष्ट छैन। चलिरहेको आजको समयमाथिको उच्छ्वास र एकनासको गाली भट्याएजस्ता लाग्ने यिनका कविताले आजसम्म नलेखिएको कुनै ‘कस्मिक कविता'सित मात्रै भेट्छन् विचारको बाँझो फोर्ने र ‘सन्तुष्टिको क्रान्ति'छर्ने शक्ति। कवितामाथिको यत्रो आशा पूरा गर्न उनी आफैंचाहिँ कत्तिको तयार छन् त?
नपत्याउँदो गरी राम्रा बनेका केही कविताले बनाएको यिनको व्यक्तित्व कवि कम र हिपहप गायकजस्तो बढी लाग्छ। अनौपचारिकताको मिटर कतिसम्म तन्काउने भन्ने कुराको हेक्का राख्न सके यिनका कविताले कथ्यको आफ्नै खालको बान्की निर्माण गर्न सक्लान् पनि। तर कविताभित्र अंग्रेजी शब्दको हस्तक्षेप अलि बढी नै अनुभव हुन्छ। खासखास अवस्थामा अंग्रेजी शब्दको प्रयोग स्वाभाविक लागे पनि अधिकांशतः यस्तो भाषिक हस्तक्षेपले किरकिर हुनेगरी दाँतमा बिझाउँदा हैरान बनाउँछ। कविताभित्र मात्र नभई ‘एकछिन पर्खनुस्' शीर्षकको लेखकीयमा जेनन भन्छन्, ‘एकेडेमीका कविता लेख्न भयानक गट्स चाहिन्छ।' उनी आफैं भन्छन्, ‘इन्साइक्लोपेडिया'को प्राचीन पर्खाल चढ्न कविता बाध्य नहोस् (पृ.७८)। तर उनैको काव्यिक आग्रह छिचोल्न सामान्य नेपालीभाषी कविलाई अंग्रेजी शब्दकोशको बुई नचढी सुख छैन।
जेननको विचारमा केही अन्योल अवश्य देखिन्छ। तर यो अन्योल अक्षम्य छैन। यतिखेर जेननले कविता यात्राको साइतमात्रै गरेका हुन्। विचारको स्पष्टता प्राप्त गर्न यिनले अझै केही लामो बाटो हिँड्नुपर्ला। हुन त आजका प्रखर भनिएका अधिकांश कवि प्रशस्त वैचारिक अस्पष्टता बोकेर हिँडिरहेका छन् र आफूलाई मात्रै नेपाली कविताको खास उत्तराधिकारी ठान्ने मोहदंशका सिकार भइरहेका छन्।
भोक, उत्पीडन, गरिबी, प्रेम, क्रान्तिको सपना, उज्यालोको कामना, राजनीतिक नेतृत्वको आलोचना, बेरोजगारी र परनिर्भर अर्थतन्त्रको दयनीय अवस्थाप्रति व्यंग्य यिनका कविताको विम्बसूत्रमा उनिएका छन्। एकादुई कवितामा अग्रज कविहरूको हुबहु प्रभाव देखिएको भए पनि त्यो अस्वभाविक ठानिहाल्नु हुँदैन।
‘अस्तित्व सनाखत हुन नसकेको झोँकमा', ‘समय खुच्चिङ् गाइरहेछ', ‘मुस्कानको खोजीमा', ‘धडकनको डायरीमा देशप्रेम', ‘देश', ‘जानुअघि आमासँग', ‘भोकको साम्राज्य', ‘रात्रिभोजमा समय' कलात्मक पुटप्राप्त कविता हुन्। तर संघीयता र सांस्कृतिक पहिचानको सन्दर्भलाई लिएर लेखिएको ‘सालिकहरूको देशमा' कविताले संक्रमणकालीन समयका घर्षणहरूलाई बुझ्ने सवालमा कविको अपरिपक्वता झल्कन्छ। अधिकारप्राप्तिको आन्दोलनमा देश टुक््रयाउने र ‘नाक'को राजनीति गर्नेहरूमात्रै देख्नु उनको सीमा हो। समयप्रति बढी नै निराश देखिएका छन् कवि। जुगजमाना फेरिएको, मानिसहरू पहिलेजस्तो उदार र सहृदयी नरहेको, सांस्कृतिक संक्रमणले गाँजेको, देशमा विकृति र विसंगति व्याप्त रहेको, बहुसंख्यक नेता र कर्मचारी भ्रष्ट भएको भन्नेजस्ता चिन्ता जायज त हुन् तर यी जम्मै कुराको चुरोमा बसेको राज्यसत्ताको चरित्र नै यसको कारक हो भन्ने तथ्य बुझ्नु नितान्त जरुरी छ। र, त्यो चरित्र उदांगो पार्न जेननजस्ता कविहरू विचारका ज्यावल बोकेर हरबखत तयार हुनु पनि उत्तिकै जरुरी छ।
प्रकाशित: २ माघ २०७१ २३:०९ शुक्रबार


-600x400.jpg)


