११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

भाषाको भेउ : नेपाली चलचित्र किन हेर्ने !

२०७१ पुस ९ गते दिउँसो म पैदलै हिँडेर डिल्लीबजार कालिकास्थानको बाटो हुँदै निवासतिर लम्किँदै थिएँ। भाइ नवराज लम्सालले बोलाए। नवराजतिर फर्किंदा नाट्यकर्मी मोहन निरौलाको अनुहार पनि मेरोे दृष्टिमा पस्यो। नवराजले भने, सर्वनाम नाट्यघरमा नाटक हेरेर फर्किएको।
निरौलाजीले थपे, मेरो लेखनको नाटक। म सबै कुरो चिलाएको सहन सक्छु, मु्ख चिलाएको खप्नै सक्तिनँ, यसैले कतिपयका लागि काँडै बन्ने गरेको छु। "अँ, मोहनजी ! तपाईंलाई टेलिफिलिममा अचेल देख्दिनँ नि ! हामी दर्शकले तपाईंहरूले खेलेको चलचित्रलाई नेपाली चलचित्र भनेर हेरिदिनुपर्ने एउटै कारण मलाई भनिदिनोस् त !" मोहनजीले रुन्चे हाँसोमा सुनाए, "भरसक नेपाली बोली बोल्दै छ।" मेरो आशय बुझेरै उनले मनोवैज्ञानिक उत्तर दिए। नेपाली चलचित्रलाई नेपाली भनाउने एउटै कारण पनि उनले दिएनन्। सम्भवतः उनलाई पनि थाहा थिएन। विश्वव्यापीकरणको युगमा लगानी त विदेशीले पनि गरिदिन सक्छ। अभिनय विदेशीले पनि गरिदिन सक्छ। गीत पनि गाइदिन सक्छ। लवाइ वा वेशभूषा विदेशी, तडकभडक विदेशी, संस्कृति विदेशी, पटकथा विदेशी। हुँदा–हुँदा नाम पनि विदेशी ! नेपाली चलचित्र कसरी भयो ? अब भन्नुहोला "भाषा त स्वदेशी छ नि !" पाठक महानुभावहरू ! केही टेलिशृंखलाका केही पात्रले बाहेक कथित नेपाली चलचित्रका कति जना पात्रले नेपाली बोल्छन् ? भन्नुहोला, "सबैले नेपाली बोल्छन्।"
तिनले बोल्ने नेपाली कस–कसले बोल्छन् ? तिनको परिवारकै सदस्यले पनि त्यसरी बोल्दैनन्। महाकवि देवकोटाका आधुनिक 'भलादमी'हरूले झैँ नितान्त कृत्रिम शैलीमा जिब्रो बटारी–बटारी नेपाली बोल्ने कलाकारलाई कसरी नेपाली कलाकार भन्ने ?
शुद्ध नेपाली बोल्न अचेलका शिक्षकले सिकाउँदैनन्। शुद्ध जनजिब्रो अशिक्षित नेपाली भाषीसँग हुन्छ। आधुनिकता र सहरिया प्रदूषणबाट मुक्त गाउँलेले बोलेको शब्दमात्र शुद्ध नेपाली शब्द हो। तिनको बोलीमै झरना झङ्कृत हुन्छ। कोइलीको 'कुहुकुहु' गोठालाले मात्र सुसेल्न सक्छन्। हलो, कुटो र कोदालोसँग खेलेकाहरूले मात्र नेपाली शब्दलाई खेलाउन सक्छन्। शुद्ध नेपाली बोल्नका लागि शरीर पसिनाले पखालिएको र माटाले मैलिएको हुनुपर्छ। 'बिबिसी लण्डन र भ्वाइस अफ अमेरिका वा अल इण्डिया रेडियो तथा विभिन्न विदेशी च्यानलबाट शुद्ध नेपाली भाषाको वर्षा हुनु सम्भव छैन। शुद्ध नेपाली बोल्नका लागि ठसठसी कन्दै व्याकरणका सूत्र वा परिभाषा पनि घोकिरहनुपर्दैन। आधुनिक सभ्यता हामी आफैँले बोलेर जन्माउन सक्छौँ। पराईको भाषा बोल्न पराईकै अनुसरण गरौ। आफ्नो भाषा बोल्नका लागि आफ्नै पूर्वजको शरणागति पर्याप्त हुन्छ। तपाईं नेपालका हजारौँ थरी प्राकृतिक उच्चारण–शैलीमध्ये कुनै पनि उच्चारण–शैली अवलम्बन गर्न स्वतन्त्र हुनुहुन्छ। नेपाली तपाईंको मातृभाषा हो भने मातृभाषाकै शैलीमा बोल्नु आवश्यक छ। काँठे शैली, झापाली शैली, दार्जलिङे शैली, खोटाङे शैली, धादिङे शैली, गोर्खाली शैली, पर्वते शैली, पाल्पाली शैली, गुल्मेली शैली, जुम्ली शैली, डडेल्धुरे शैली वा अन्य जुनसुकै शैलीमा बोल्न सक्नुहुन्छ। तपाईंको मातृभाषा नेपाली हुँदै होइन र नेपाली दोस्रो भाषा हो भने तपाईंको मातृभाषाको प्रभाव नेपालीमा पार्न पाउनुुहुन्छ। नेपाली भाषाको स्वाभाविक उच्चारण गर्न लाज मान्ने कलाकारको चलचित्रलाई नेपाली चलचित्र भनेर माया गरिदिनुपर्ने बाध्यता मलाई र हामी कसैलाई पनि छैन। बोली नै बिग्रिएको चलचित्र चल्दै चल्दैन, निर्मातालाई पनि चेतना हुनुप¥यो।

प्रकाशित: २५ पुस २०७१ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App