१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

राजेशका प्रिय १० सुर

प्रसिद्ध गायक राजेश पायल राई गीत गाउनमात्रै होइन, सुन्न पनि उत्तिकै रुचाउँछन्। सुन्ने क्रममा उनको मनमा केही गीतले राज गरेका छन्। त्यसैगरी आफैँले गाएका केही गीत असाध्यै आत्मीय लाग्छन् र उनी सुन्छन्। उनले शुक्रवारमार्फत स्रोतालाई पाँच आफ्ना र पाँच अरूका गीत प्रिय हुनुका कारण बताएका छन्।
अरूका पाँच
बफलो सोल्जर : मलाई असाध्यै मन पर्ने गीत हो यो। बब मार्लीले गाएको यो गीतले जातीय भेदभावको विरोध गरेको छ। गोरा जातिले काला जातिलाई हेप्ने समयमा गाइएको असाध्यै सान्दर्भिक गीत हो यो। जमैकाका गायक मार्लीको यो क्रान्तिकारी गीत निकै पटक सुनेको छु।
कुछ तो लोग कहेँगे : आफ्नै जीवन डोर्‍याउने दर्शनजस्तो लाग्छ यो गीत। किनभने, जे गर्दा पनि दुनियाँले केही न केही भनिहाल्छ। किशोर कुमारले गाएको यस गीतले सफलता हासिल गरिरहँदा खुट्टा तान्ने दुनियाँको पर्वाह नगरी अघि बढ्न प्रेरित गर्छ। 'कुछ तो लोग कहेंगे, दुनियाँ का काम है कहेना' भित्र ठूलो व्यावहारिक सत्य लुकेको छ।
यो मन त मेरो नेपाली हो : राष्ट्रिय गीत मैले पनि धेरै गाएको छ। किन–किन यो गीत बढी नै आत्मीय लाग्छ। किनभने, यो गीतले छिनछिनमा आफ्नो मातृभूमिलाई माया गर्न प्रेरित गरिरहन्छ। यसले जहाँ, जे भए पनि मनभित्र नेपाल रहेको कुरा बोलेको छ। १९७४ एडीले गाएको यो गीतको संगीत पक्ष पनि उत्तिकै बलियो छ।
ए कान्छा ठट्टैमा :लोकगीत भन्नेबित्तिकै मलाई यो गीतको याद आउँछ। किनभने, यसमा प्रयोग भएका शब्द, संगीत र स्वरले लोकपन झल्काउँछ। नारायण गोपालका उत्कृष्ट धेरै गीतमध्य यो पनि हो। गाउँ, ठाउँ र परिवेश गीतमा दुरुस्तै उतारिएको छ।
मोहनी लाग्ला है : म फिल्म संगीतमा आउनुअघि आएको गीत हो यो। फिल्मको पाश्र्वगायनमा रुचि भएकाले मैले यो गीत खूब सुनेको छु, गुनगुनाएको छु। त्यसैले यो गीत मलाई मन पर्छ। फिल्मको पाश्र्वगायन भन्नेबित्तिकै पछिसम्म यही गीत दिमागमा नाचिरहन्थ्यो।
 
आफ्ना पाँच
फैलियो माया दुबोसरी : यो गीतले मलाई सांगीतिक दुनियाँमा चिनाएको हो। यो किन पनि सुन्छु मान्छेले आफ्नो धरातल बिर्सनु हुँदैन। राम्रो पनि भएका कारण यो लोकप्रिय भएको हो।
नमाग मसँग : यो गीतले मेरो करिअर उठाउने काम गरेको हो। रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा सहभागी हुँदा गाएको थिएँ। संगीतकार र गीतकार प्रथम भए तर मैले सान्त्वना पुरस्कार पाएँ। रेडियो नेपालको इतिहासमा सान्त्वना पुरस्कार पहिलोपल्ट राखिएको थियो।
सागरसरी चोखो माया : जहिलेसम्म यो संसारमा माया भन्ने चिज रहन्छ, त्यतिञ्जेलसम्म यो गीत श्रवणीय हुन्छ जस्तो लाग्छ। किनभने, यसले सम्पूर्ण रूपमा प्रेमभाव बोकेको छ।
दर्शन नमस्ते : नेपालीको हार्दिकता बाँड्ने शैलीमाथिको यो गीत निकै रुचाइयो। गीतका 'दर्शन, नमस्ते' भन्ने दुई शब्दले गर्दा यो असाध्यै राम्रो बनेको हो।
असतोमा सत गमय : सानैदेखि निकै सुनेको यो श्लोक असाध्यै प्रिय लाग्छ। परापूर्वकालदेखिको यो वाक्यांशमाथि बनेको गीत मलाई राम्रो लाग्छ। धेरै स्रोताले नसुने पनि यो गीत सुन्दा म आनन्दित हुन्छु।

प्रकाशित: २५ पुस २०७१ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App