३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्यः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । गृहमन्त्री अर्याल बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार विराटनगर पुगेका हुन्।  

मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख मान्यताका साथ यो सरकारले काम गरिरहेको बताएका हुन् । बुधनगरमा सन् २०२० बाट संचालनमा आएको नेपाल-भारत एकिकृत भन्सार जाँचचौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।  

शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै उनले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिलो शर्त हुने भएकोले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए ।  

एक सय २९ बिगाहा क्षेत्रफलमा फैलिएको एकिकृत जाँचचौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकोसमेत उनले जानकारी दिए। त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत उनको भनाइ थियो ।  

यस्तै, आजै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुःमर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गरे ।  

सो क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरुबारे ब्रिफिङ गरेका थिए ।  

यस्तै, मन्त्री अर्यालले आजै कोभिड-१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गरे। हाल यो होल्डिङ सेन्टर खालि अवस्थामा सेनाको निगरानीमा यतिकै खालि अवस्थामा छ।

प्रकाशित: १५ पुस २०८२ २०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App