राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले आफू गर्भवती भए पनि शारीरिक अवस्थाले साथ दिएसम्म चुनावी अभियानमा सक्रिय रहने बताएकी छन्।
मंगलबार काठमाडौंमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दर्शनाले मातृत्व र नेतृत्वलाई सँगसँगै अगाडि बढाउन सकिन्छ भन्ने सन्देश दिन आफू अन्तिम समयसम्म खट्ने बताइन्।
दर्शनाले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अझै एक महिना पूर्ण रूपमा सक्रिय हुन सक्ने समय रहेको बताइन्।
उनले भनिन्, ‘मेरो शरीरको तागतले भ्याउन्जेलसम्म म हरेक काम गरिरहेको छु र हरेक ठाउँमा पुग्छु पनि। डेलिभरीको अघिल्लो दिनसम्म पनि चुनावी क्याम्पेनमा हिँड्ने इच्छा छ।’
‘मातृत्व र नेतृत्वसँगै लान सक्छन् भनेर पनि देखाउनु छ,’ उनले थपिन्।
यसअघि आफ्नो गर्भावस्थाको विषय सार्वजनिक गर्न नचाहेको भए पनि समय नजिकिँदै जाँदा र बाहिर देखिँदै जाँदा यो कुरा डिस्क्लोज भएको उनले स्पष्ट पारिन्।
पछिल्लो समय रास्वपाको चुनावी तयारी र भेटघाटहरूमा दर्शना निरन्तर सक्रिय देखिँदै आएकी छन्।
यो पनि पढ्नुहोस्
हर्क साम्पाङलाई रवि-बालेनसँग मिसिन रन्जुको आग्रह
प्रकाशित: १५ पुस २०८२ २०:२५ मंगलबार





