फिल्म ‘झुम्की’की मुख्य हिरोइनका रूपमा पूर्व मिस नेपाल मलिना जोशीलाई लिइएको छ। फिल्म युनिटले ‘झुम्की’को सुटिङको मिति नजिकिँदै गर्दा मुख्य हिरोइनको नाम सार्वजनिक गरेको हो।
यही हप्ता सुटिङ सुरु हुने ‘झुम्की’मा मलिनाले थारु युवतीको भूमिका निर्वाह गर्नेछिन्। ‘मैले अहिलेसम्म थारुहरूसँग संगत गरेकी छैन, मलाई त्यही भएर चुनौतीपूर्ण लागिरहेको छ,’ सोमवार मण्डला थिएटरमा आयोजित कार्यक्रममा मलिनाले भनिन्। फिल्ममा २०४६ देखि २०६२ सालसम्मको परिवेश हेर्न पाइने निर्देशक अपिल विष्टले बताए। ‘द्वन्द्वकालमा एउटी कम्लरी युवतीले भोगेका सास्तीको कथा फिल्ममा छ,’ उनले भने। ‘झुम्की’को पटकथा ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, प्रमोद अग्रहरि, भोलाराज सापकोटा, विजय बराल, वसन्त भट्ट, लुनिभा तुलाधर, बाल्मिकी पोखरेल, आकाश बुढाथोकी, प्रेम वर्षा, उज्ज्वल शर्मा, कमलप्यासी देवकोटा, अंकित खड्का, बिजेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: २५ पुस २०७१ १०:५१ शुक्रबार





