ताप्लेजुङ आइडल जितेपछि गायकको पहिचान बनाएका पदम राईले दुई वर्षअघि 'यो जन्म' नामक एल्बम निकाले। गायकका रूपमा चर्चा कमाउन उनलाई एल्बम निकालेर मात्रै काफी भएन। म्युजिक भिडियो पनि बनाउनैपर्ने भयो। तर, उनीसँग पर्याप्त रकम थिए। त्यसैले पदम लगानीकर्ता खोज्न थाले।
हिमालराज कन्दङ्वा पदमको गीतको भिडियोमा लगानी गर्न राजी भए। तर, त्यसको बदलामा हिमाललाई नै भिडियोमा मोडल राख्नुपर्ने भयो। पदमले शर्त स्विकारे। केही दिनमै 'राम्रीमा राम्री तरुनी' गीतको भिडियो बनिहाल्यो। हिमाल भिडियोको 'हिरो' बने। आफैँले पैसा हालेर यो क्षेत्रमा आएका उनले अहिलेसम्म सातवटा भिडियोमा काम गरिसकेका छन्।
ताप्लेजुङका भीम लिङ्देन पनि राजेश पायल राई, रजिना रिमाल लगायतका गीतको भिडियोमा लगानी गरेर यो क्षेत्रमा प्रवेश गरे। उनले यही वर्ष तीनवटा म्युजिक भिडियोमा लगानी गरेर केकी अधिकारी र अन्य मोडलसँग अभिनय गरे। आफ्नै लगानीमा अभिनय यात्रा सुरु गरेका पाँचथरका मधु केरुङले आधा दर्जन भिडियोमा काम गरिसके। धरानका मदन राईले तीन गीतमा अभिनय गरे। इटहरीका दिलिप केरुङ, धरानका विप्लव राई, एकराज राई, खोटाङका मणि चाम्लिङदेखि सिंगापुर प्रहरीमा कार्यरत तारा इम्सोङलगायत थुप्रै मोडल अर्काको गीतमा लगानी गरेर 'हिरो' बनेका छन्। उनीहरू मात्र होइनन्, पूर्वमा बनेका र बनिरहेका अधिकांश म्युजिक भिडियोमा अभिनय गर्ने पुरुष मोडलहरू यसरी नै हिरो बन्न लगानी गर्छन्।
मोफसलमा त्यसै पनि कलाकारिताबाट बाँच्न गाह्रो छ। त्यसमाथि स्थानीय स्तरमा निर्माण हुने म्युजिक भिडियोमा अभिनय गर्न चाहने युवालाई लगानी नगरी यो क्षेत्रमा आउन मुश्किल छ। अहिले चलेकै गायकको पनि एल्बम बिक्दैन। झन् नयाँ गायकको त कुरै भएन। टेलिभिजन र युट्युबबाट गायकका रूपमा चिनिन एल्बम नबिके पनि भिडियो नबनाई सुख छैन। महँगो लगानी पर्ने भिडियो पनि बिक्री हुँदैन। आफ्नो परिचय बनाउनकै लागि मात्र गायकले एल्बम र भिडियोमा लगानी गर्नुपर्ने अवस्था छ। त्यसैले पनि गायकहरू एल्बम निकाल्दैदेखि भिडियोमा लगानी गरेर मोडल बन्ने सम्भावित साथीभाइ र चिनेजानेका लगानीकर्ताको खोजीमा हुन्छन्। हालै भीसीडी बजारमा ल्याएका गायक पदम सुनाउँछन्, 'आफूलाई पनि हल्का हुने र उनीहरूले पनि अवसर पाउने भएकाले साथीहरूलाई प्रस्ताव राखिन्छ। कहिलेकाहीँ त नचाहँदानचाहँदै पनि कुरा गर्नुपर्ने बाध्यता हुन्छ।'
लगानीकर्ता हिरोहरूको खोजीमा गायकसँगै निर्देशक पनि हुन्छन्। लगानीकर्ता मोडलहरूसँग धेरै काम गरेका निर्देशक लोकेन साँवाको अनुभवमा पूर्वमा बन्ने गरेका भिडियोमा सामान्यतया ६० हजारदेखि ९० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। त्यसमध्ये कतिपय मोडलले पूरै खर्च पनि बेहोर्छन् भने अधिकांशले १५ हजारदेखि २५ हजारसम्म लगानी गर्छन्। केही युवाचाहिँ चर्चित नायिका र मोडलसँग हिरो बनेर अभिनय गर्न लगानी गर्छन्। पूर्वका युवाहरूले यसरी आफैँ लगानी गरेर केकी अधिकारी, निशा अधिकारी, ऋचासिंह ठकुरी, सौजन्य सुब्बा, नन्दिता केसीलगायत अभिनेत्रीसँग अभिनय गरेका छन्। चलेका मोडलहरूले भने पूर्व आएर अभिनय गर्दा २५ देखि ४० हजार रुपैयाँसम्म लिन्छन्। पूर्वमा लोकेनसँगै इटहरीका प्रकाश सुब्बा, पाँचथरका सागर केरुङलगायत निर्देशकले बढी भिडियो निर्देशन गर्ने गरेका छन्। अहिले धेरै भिडियो निर्देशन गर्ने लोकेन पनि कुनै समय आफैँ लगानी गरेर यो क्षेत्रमा आएका हुन्। निर्देशक मौसम इम्बुङलाई १८ हजार रुपैयाँ बुझाएर एउटा भिडियोमा सानो रोल पाएको बताउने उनी सुनाउँछन्, 'अहिले सन्तुष्ट छु। त्यसो नगरी चल्न नसकिने रहेछ। गायक, निर्देशक, हिरो सबै जनाको सहमतिमा नै यसरी भिडियो बनिरहेका छन्। सबैले अवसर पनि पाएका छन्। आफ्ना लागि आफैँले नगरे कसले गर्छ ?'
प्रकाशित: २५ पुस २०७१ १०:११ शुक्रबार





