२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

धेरै रहर छोडेर गयो

धेरै सोच्थ्यो, थोरै लेख्थ्यो। जति लेख्थ्यो, मिठो लेख्थ्यो। थोरै बोल्थ्यो, धेरै सुन्थ्यो। थोरै थिए उसका मन मिल्ने साथीहरू। जति थिए, उनीहरूसँग आत्मीयता थियो। हुलबाट पर रहन्थ्यो। जमातबाट अलग बस्थ्यो। भिन्न परिचय थियो उसको। शालीन प्रस्तुति थियो। निजी थियो शैली।


संयोगवश उसका मन मिल्ने साथीहरूको सूचीमा म पनि पर्थें। विक्रमाब्द २०३५–३६ देखि नै हाम्रो भेटघाट, बोलचाल, उठबस, खानपिन र घुमफिर भइरहे पनि पछिल्ला दस–बाह्र वर्षयता उसको र मेरो सम्बन्ध अत्यन्त निकट र आत्मीय थियो। उसलाई धेरै घुमफिर गर्नुपर्ने। प्रायजसो ऊ एक्लै यात्रामा निस्किन्थ्यो। साथीसँग यात्रामा जान मन लाग्दा उसको रोजाइमा म नै पर्थें।

विनोद गौचन र म बीस–बाइस पटकभन्दा बढी धम्पुस पुग्यौं होला। जुन बेला गए पनि र जति बेला गए पनि हाम्रा लागि धम्पुस ताजा लाग्थ्यो, प्रिय लाग्थ्यो र रमाइलो लाग्थ्यो। कहिले धम्पुस जान हिँडेका हामी दुई दिनभरि घट्टेखोलमा बसेर धम्पुस नै नगई साँझ पोखरा फर्किन्थ्यौं भने कहिले धम्पुस फेदीसम्म पुगेर फर्किउँला भनेर केही नलिईकन गएका हामी धम्पुसमा बास बस्न पुग्थ्यौं। कुनै टुंगो हुन्थेन हामीसँग। जहाँ पुगेर बस्दा रमाइलो हुन्थ्यो वा मन रमाउँथ्यो, हाम्रो गन्तव्य त्यहीँ हुन्थ्यो। पुग्नैपर्छ भन्ने बाध्यता हुँदैनथ्यो। वास्तवमा यात्राको कुनै गन्तव्य नै हुँदैन। पुग्ने ठाउँमा पुगे पनि त्यस ठाउँबाट पुग्नुपर्ने थप अरू गन्तव्यहरू निस्किन्छन्। रमाइलो गर्न जान्ने मान्छेलाई र रमाउन सक्नेलाई जुन ठाउँ पनि प्रिय लाग्छ।

कति सँगै हिँडियो तर ऊ र म सँगै घान्द्रुक कहिल्यै गएनौं। हाम्रो जाने ठाउँ भनेकै प्रायः धम्पुस हुन्थ्यो र धम्पुसबाहेक काँडे, लुम्ले, घुम्ती, ठूलाखर्क, पोथाना, प्रितम देउराली, लान्द्रुक, चन्द्रकोट, वीरेठाँटी र तिखेढुंगा हुन्थ्यो। हाम्रो यात्रा अरूको भन्दा फरक हुन्थ्यो। घडी हेरिन्थेन, बाटो कति लामो छ भनेर सोधिन्थेन, हिँड्दा बाटोमा गफगाफ हुन्थेन, आ–आफ्नै धुन हुन्थ्यो बसिन्थ्यो। चिज, कुकिज, पिनट, चिप्स, चकलेट लिएर गइन्थ्यो र सँगै खाइन्थ्यो। कहिले कविताका कुरा गरिन्थ्यो त कहिले पुरानो पोखराका सन्दर्भहरू। तेस्रो व्यक्तिको कुरा गरिन्थेन। कसैको टीकाटिप्पणी हुन्थेन। फेरि हिँडिन्थ्यो चुपचाप चुपचाप। यात्रामा बोल्नैपर्छ भन्ने छैन। आफू–आफैंसँग बोल्दै हिँड्नु हामी दुवैको शैली थियो। हिँड्दै जाँदा जो अगाडि पुग्छ उसले चियाको अर्डर दिन्थ्यो। उसलाई ब्ल्याक टी मलाई मिल्क टी। मिल्क टी नपाएको ठाउँमा म अर्कै एक गिलास टी पिउँथेँ।

हामी दुई जनाको आनिबानी भने एकदम फरक थियो। विनोद साकाहारी खाना रुचाउँथ्यो, म मांसाहारी। ऊ एकदम थोरै पिउँथ्यो, म अलि बढी। ऊ यात्रामा केही लेख्थेन, म लेख्थेँ। ऊ राति अबेरसम्म बाहिर बसेर हिमाली दृश्य र जूनतारा हेर्थ्यो, म आठ बजे नै सुतिहाल्थेँ। ऊ बिहान अबेरसम्म सुतिरहन्थ्यो, म बिहानै उठ्थेँ। यी फरकहरूबीच हामी एक–अर्कालाई बु‰ने साथी थियौं।

विनोदलाई मेरो पिउने शैली एकदम मनपर्थ्यो। मैले पिएको हेरिरहन्थ्यो ऊ। मुसुमुसु हाँस्थ्यो। यात्रामा हामी दुवैले आ–आफ्ना कविताका पाण्डुलिपि लिएर जान्थ्यौं। साँझको बेला हामी एक–अर्काका कविता सुन्ने अनि सुनाउने गर्थ्यौं। उसको 'पोखरामा फूल फुल्दैन' कविता संग्रहका धेरै कविताको पहिलो पाठक सायकद म नै थिएँ। विनोदलाई मेरा कवितामध्ये सर्वाधिक मन पर्ने कविता 'अक्सर टंकलालहरू' भन्ने शीर्षकमा लेखिएको कविता थियो। जहाँ जाँदा पनि मैले त्यो कविता सुनाउनुपर्थ्यो। त्यसपछि उसलाई मन पर्ने मेरा कवितामा 'चट्ट रुमाल क्या मालुम' र 'भोक' थिए।

मैले 'चट्ट रुमाल क्या मालुम' भन्ने कवितासँगे अरू तीन वटा कविता विनोदलाई सम्बोधन गरेर लेखेको छु।

मबाहेक विनोदका आफ्ना भन्नेहरूमा अमृत भादगाउँले, भोजराज न्यौपाने, केशवशरण लामिछाने, एमबी आस्था, भावना अधिकारी, वसन्ती बाँस्तोला, रूपनारायण ढकालहरू थिए। जोसँग विनोद अलि बढी रमाउने गर्थ्यो। ऊ अलि बढी आफूकेन्द्रित थियो। अन्तरमुखी स्वभावको। यही कारणले होला धेरै साथी उसको निजी जीवनमा कौतुहल राख्थे। मान्छेहरूको एउटा स्वभाव हुन्छ कि आफ्नो जीवनलाई लुकाएर अरूको जीवनप्रति चासो राख्ने र बेअर्थका अर्थ्याइहरू अर्थ्याइरहन्छन्। मलाई भने विनोदको यो स्वभाव स्वाभाविक नै लाग्थ्यो। आखिर आफ्नो जीवन आफूले नै बाँच्ने हो, कसैको परिभाषामा र आग्रहमा होइन। आफूलाई जसरी अनुकूल लाग्छ, त्यसरी नै। विनोदले आफ्नो जीवन आफ्नै पारामा बाँच्यो।

विनोदको परिकल्पनामा लुम्लेलाई 'कविता गाउँ' घोषणा गरियो। यसमा माथि उल्लिखित सबै साथीहरूले साथ दिए। लुम्लेलाई कविता गाउँ घोषणा गर्दा सबैभन्दा बढी त म नै खुसी थिएँ। २०४२ सालदेखि ०५२ सम्मको एक दशक समय मैले लुम्ले कृषि केन्द्रमा बिताएको थिएँ र त्यही समयमा गीत लेख्न सुरु गरेथेँ। मेरो त्यो गीति परिवेशलाई कविता गाउँको नाम दियो, विनोदले।

उसकै सक्रियतामा थकाली सेवा समिति पोखराले पुस १० गते कवि भूपि शेरचनको जन्मजयन्ती मनाउँदै आएको थियो। यस वषै पनि भूपिको ७९औं जन्मजयन्ती आयोजना भयो तर त्यहाँ विनोद थिएन।

उसका जति पनि गीत रेकर्ड भए, सबै हिट भए। 'जति माया लाए पनि', 'तगारोमा रुमाल राखी', 'कस्तो ठाउँमा फुल्यौ तिमी'जस्ता गीतले विनोदलाई कालान्तरसम्म बचाइराख्नेछ। ढुंगेसाँघुको मेलामा र पोखरामा फूल फुल्दैन उसका दुई प्रकाशित कृति हुन्। सरल भाषामा कलात्मक गीत, कविता लेख्न खप्पिस थियो ऊ।

विगत तीन वर्षदेखि म काठमाडौं थिएँ। विनोदसँगको उठबस बिस्तारै पातलिँदै गयो। कहिलेकाहीँ फोन हुन्थ्यो र हरेक फोनमा उसले म पोखरा आएपछि घुम्न जाऊँ है भन्थ्यो। गइन्थ्यो पनि। यसरी काठमाडौं–पोखरा आउने–जाने क्रमको एक दिन विनोदले महेन्द्रपुल (चिप्लेढुंगा) को माधव्स क्याफेमा बोलायो। म गएँ। देखेँ– विनोद एकदमै दुब्लाएको। गाला भित्र घुसेका, घाँटी पातलो, नसानसा देखिने। हातका औंला काँपेका, अलि बढी कालो भएको।

'विनोद, तिमी त झन्झन् दुब्लाउँदे गयौ त, के भयो?'

'केही भएको छैन प्रकट। अन्नपानीको शरीर कहिलेकाहीँ तलमागि भइहाल्छ।' यत्ति भनेर उसले टार्योए। मैले पनि उसको स्वभावअनुसार अरू बढी जिज्ञासा राखिनँ। त्यो दिन कफीमात्र पिएर छुट्टियौं हामी।

त्यही छुटाइ नै विनोदसँगको सधैंको छुटाइ भयो। त्यसको ठिक दुई महिनापछि बित्यो ऊ। रोग के थियो, हामीलाई भनेन।

विनोद गएपछिको यो एक वर्ष म कतै यात्रामा निस्केको छैन। हरेक वर्ष म मनसुन ट्रेक जान्थेँ। यस वर्ष गइनँ। जान मन लागेन। सहयात्रीविनाको यात्रा झन् पीडादायी हुँदो हुन्छ। आज पनि विनोद हिँडेका ती बाटाहरू उस्तै होलान्, ऊ बसेका चौतारीका छपनीहरू त्यहीँ होलान्, उसले ब्ल्याक टी पिएको चिया पसल उस्तै होला, ऊ बसेका होटलका कोठाहरू त्यस्तै होलान्।

'अब त

रहरै रहरको

माला लगाउने रहर छ...' भन्ने विनोद गौचनले आफ्नो जीवनमा कति रहर पूरा गरेर गयो, कति गरेन त्यो त उही जानोस् तर मलाई भने धेरै रहर छोडेर गयो।

प्रकाशित: १८ पुस २०७१ २३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App