अहिलेसम्म डेढ सयवटा जति फिल्ममा अभिनय गरियो होला। तीमध्ये सुटिङका क्रममा चोट नलागेको फिल्म कमै छन्। फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फाल्दा प्रेसरले नाकबाट रगत बगेको थियो।
यसकारणले सुटिङ केही समयका लागि रोकेका पनि थियौँ। सोही फिल्ममा फाइट गर्ने क्रममा ब्यालेन्स बिग्रिएर दाँत भाँच्चिएको थियो।'मायाको जाल' फिल्ममा कारले ठक्कर दिँदा बाल–बाल जोगिएको थिएँ। स्केटिङमा गुन्डाहरूले लखेट्ने क्रममा कार ठोक्किन पुग्यो। धन्न म बाँचेँ। कारको गति कम भएर बाँचेको हुँ। कार स्पिडमा भएको भए आज म हुन्नथेँ।
'भाग्यविधाता'मा रूखबाट जम्प गर्दा मेरो दाहिने खुट्टा भाँच्चिएको थियो। सन्तुलन बिग्रिएर एउटा ठाउँमा खस्नुपर्ने अर्कैतिर खसिएछ । एक महिना अस्पतालमा बस्नुपरेको थियो।
फिल्म 'धड्कन'को दुर्घटना सम्झिँदा अहिले पनि मुटु धड्कन्छ। हेलिकप्टरबाट जम्प गर्नुपर्ने दृश्य थियो। डर लागेको थिएन। जम्प हानेँ तर अन्तै खस्न पुगेछु, कार्टुनमाथि पछारिँदा धन्न जोगिएँ। तर, मेरा हातखुट्टामा धेरै चोटपटक लागेको थियो।
फिल्म 'राम बलराम'मा बाइक उडाउँदा 'क्याल्कुलेसन' बिगे्रर बाइक क्यामेराम्यानमाथि ठोक्किन पुगेको थियो। क्यामेराको सिसा फुट्नुका साथै हात र टाउकोमा चोट लागेको थियो। स्टन्टवालाका लागि त सुटिङ भनेको आत्महत्याको तयारी गर्नुजस्तै हुन्छ !
फिल्म 'धर्मात्मा'मा बाइकलाई उडाएर झ्यालभित्र छिराउनुपर्ने दृश्य थियो। बाइक उडाउँदा सिसाभित्र त छिरियो तर ब्यालेन्स बिग्रिएर चिप्लिएँ। घुँडा र चिउँडोमा चोट लाग्यो।
फिल्म 'अर्बपति'मा फ्लाइङ किक हान्दा ब्यालेन्स बिग्रिएर खुट्टा मर्किएको थियो। एक हप्तासम्म फिल्मको सुटिङ रोकियो।
फिल्म 'क्रोेध'मा साइड–फाइटरहरूसँग फाइट गर्दा तरिका नमिलेर मेरो मुखमा चोट लागेको थियो। केही दिनको आरामपछि मात्र सुटिङ गरेको थिएँ। सुटिङमा अनगिन्ती चोट र असंख्य घाउ लागेका छन्।
प्रस्तुतिः सुकृत
प्रकाशित: १७ पुस २०७१ १२:३४ बिहीबार





