जीटीभीमा चिफ एडिटरको जागिर थियो। जी म्युजिक च्यानलमा बलिउडका समाचार आउने 'बी न्युज'को एडिटिङको जिम्मा सम्हालेका थिए। पार्ट टाइम जागिरका लागि नजर अब्बास नामका फिल्मकर्मीसँग मिलेर 'फिल्म मेकिङ' (फिल्मको सुटिङ गर्नुअघि बनाइने डमी) गर्थे। फिल्म 'जब वी मेट', 'धमाल' जस्ताका 'फिल्म मेकिङ'मा एडिटरका रूपमा उनी संलग्न भइसकेका थिए। राम्रो कमाइ थियो।
फिल्म निर्देशक/एडिटर सुरेन्द्र पौडेल मुम्बईमा रहँदाको कहानी हो यो। उनकी श्रीमतीलाई जन्डिस भएपछि उनको मन बेचैन हुन थाल्यो। काम त छ तर बिहान गयो, बेलुका आयो। साथीभाइ छैनन्, आफन्त छैनन् र परेको बेला ढाडस दिने मान्छे पनि छैनन्। एक्कासि 'होम सिक' भएपछि यी सबथोक त्यागेर सुरेन्द्र नेपाल हानिए। 'तर, मलाई मुम्बईले धेरै थोक सिकायो,' उनले भने, 'संघर्ष गर्न सिकायो, मेहनत गर्न सिकायो, धैर्य गर्न सिकायो।'
उनी अहिले नेपालका राम्रा फिल्म एडिटरका रूपमा परिचित छन्। चाँडै प्रदर्शनको तयारीमा रहेको फिल्म 'आभास'बाट निर्देशकका रूपमा नयाँ परिचय बनाउने क्रममा छन्।
उनले फिल्म 'आभास'का लागि लेखेको/कम्पोज गरेको गीत 'यो जीवनको यात्रा अल्झिँदो छ' भनेजस्तै छ उनको जीवन पनि। जीवनका अल्झाइ र बल्झाइका कारण बनेको हो, उनको करिअर।
सुरेन्द्र गायक बन्न चाहन्थे। नवलपरासीमा रहँदा 'वेस्टर्न गाइज' नामक उनको ब्यान्ड थियो। मुख्य भोकलिस्ट थिए उनी । उनको ब्यान्डले स्थानीय स्तरमा ख्याति कमाइ पनि सकेको थियो।
माओवादी जनयुद्ध उत्कर्षतिर थियो। जवान केटाकेटीहरू धमाधम बन्दुक बोकिरहेका थिए। उनको परिवारलाई उनले पनि बन्दुक बोक्लान् भन्ने डर थियो। त्यसैले उनलाई भारत पठाइयो। उनका दाइ दिल्लीमा काम गर्थे। दिल्लीमा एक वर्ष बसिकेका सुरेन्द्रलाई भने मुम्बई जान मन लाग्यो। उनी त्यतै लागे।
मुम्बई पुगेपछि उनलाई लाग्यो, 'यहाँ गायक हुने सपना पालेर केही हुनेवाला छैन, बाँच्नका लागि अरू केही गर्नुपर्छ।' उत्तम भन्ने उनका साथीले भिजुअल एडिटिङ सिक्न सुझाए। दिल्लीमा एक वर्ष रहँदा कम्प्युटरको ज्ञान हासिल गरेका उनलाई आइडिया सही लाग्यो। एडिटिङ सिकेपछि स्थानीय स्टुडियोमा एसिस्टेन्ट एडिटरको काम पाए। तर, बीचमै मुख्य एडिटर शिवकुमार हृदयाघात भएर बिते। त्यसपछि उनले लिएका सबै काम सुरेन्द्रका थाप्लोमा आए। सहारा टीभीको फिल्मी टीभीमा आउने 'कौन बनेगा चम्पु', 'चला ललन हिरो' जस्ता कार्यक्रमका केही भाग उनले एडिट गरेका हुन्।
सन् २००८ तिर नेपाल आएका सुरेन्द्र नेपालमा आफ्नो क्षमता देखाउन चाहन्थे, आफ्नै टिमले गरेको फिल्ममार्फत। तत्काल त्यो अवसर नजुरेपछि साथीभाइले उनलाई सल्लाह दिए, 'फिल्म 'मेरो एउटा साथी छ'को एडिटिङ गरेर आफ्नो क्षमता देखाउँदै गरे हुन्छ।' उनले त्यो फिल्म एडिट गरे। फिल्म हिट भयो। उनको कामको तारिफ पनि भयो।
त्यसपछि उनले एडिट गरेका फिल्म 'ब्याच नं १६', 'लुट', 'होस्टेल', 'के यो माया हो', 'नोभेम्बर रेन' र भर्खरै रिलिज भएको 'जेरी' पनि राम्रा र कमाउने फिल्मका रूपमा दर्ता भए। उनले उत्कृष्ट फिल्म एडिटरका रूपमा पाँचवटा अवार्ड हासिल गरेका छन्।
मुम्बईमा रहँदा नै फिल्म निर्देशनको ज्ञानसमेत हासिल गरेका उनी 'कुनै पनि काम हतारमा गर्नु हुन्न' भन्ने मान्यता राख्छन्। त्यसैले फिल्म निर्देशनमा भर्खरमात्रै हात हालेका हुन्।
राम्रो कामको अपेक्षा राख्ने र गर्ने भएकाले उनी फिल्म एडिटिङ गर्दा निर्देशकलाई गाली गर्थे। अहिले ती निर्देशक उनलाई भन्छन्, 'आफैँले निर्देशन गर्दा कति नचाहेर पनि कमजोरी हुन्छ। थाहा भो ? अब कसलाई गाली गर्छाै ?'
लामो समय फिल्मको एडिटिङमै बिताएको हुनाले सुटिङ स्पटमै सट हेरेर सच्याउने प्रयास गरेको उनले बताए। 'तर, आफैँले नचाहेर गरेको कमजोरीमा फिल्म एडिटिङ गर्दा रिस उठ्छ। ठूलो ऐना छ। ऐनामा आफ्नै अनुहार हेरेर गाली गर्छु,' उनले भने।
पुस २५ गते रिलिज मिति तोकिएको 'आभास'को ट्रेलर र गीतबाट उनले प्रशंसा बटुलिरहेका छन्। फिल्म रिलिजपछि यो प्रशंसा कायम रहनेमा विश्वस्त पनि छन्।
प्रकाशित: १७ पुस २०७१ १२:३१ बिहीबार




