मलेसिया दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा दिएको 'फोसा' नामक संस्था सो कामबाट पछि हटेको छ। फोसाले एक महिनाअघि काम अगाडि बढाएको थियो। बीचमा विवाद आएकाले मलेसियाले नै नेपालमा तत्काल राहदानी संकलनको काम नगर्न भनेपछि फोसा पछि हटेको हो।
फोसाले कामदार, विद्यार्थी, पर्यटकलगायत सबै भिसाका लागि राहदानी संकलन गरेर दूतावासमा पठाउने तयारी गरेको थियो। उसले राजधानीको लाजिम्पाटस्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरी कर्मचारीसमेत नियुक्त गरेको थियो। राहदानी संकलन र त्यसपछिको प्रक्रियाका लागि भन्दै तीनजना कर्मचारीले मलेसिया दूतावासमा तालिम लिइरहेका थिए।
राज ओभरसिजका सञ्चालकसमेत रहेका फोसाका सञ्चालक पीबी राईले विवाद बढ्दै गएपछि अहिले राहदानी संकलनको काम रोकिएको बताए। 'यो विषयमा विवाद बढ्दै गयो,' उनले भने, 'त्यसैले मलेसियाले नै तत्काल काम नथाल्ने संकेत दिएपछि हामीले काम स्थगित गरेका हौँ।'
फोसामार्फत राहदानी संकलनको काम अगाडि बढेको भए मलेसिया जाने नेपालीका लागि तीन हजार रुपैयाँको आर्थिक भार आइलाग्थ्यो। भार थपिने भएकाले वैदेशिक रोजगार व्यवसायीले यसको विरोध गरेका थिए। भिसा प्रोसेसिङका लागि भन्दै 'मलेसिया नेपाल भीएलएन प्रालि'ले पनि ३९ सय रुपैयाँ लिँदै आएको थियो। मलेसियाले गत वर्षको नोभेम्बर १ देखि सात सय रुपैयाँको भिसालाई वृद्धि गरी ३२ सय हुँदै ३९ सय रुपैयाँ पु¥याएको थियो। भीएलएन र बायोमेट्रिक प्रणालीको तीव्र विरोध भएपछि मलेसियाले तत्कालका लागि फोसाको काम अघि नबढाउने आदेश दिएको स्रोतले जनायो।
भिसाका लागि दूतावासमा भीड बढेकाले र अपरेटिङ लागत कम गराउन मलेसिया सरकारको निर्णयअनुसार नै फोसालाई राहदानी संकलनको जिम्मेवारी दिइएको थियो। मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणाली भन्दै बेस्टिनेट कम्पनीमार्फत सशुल्क स्वास्थ्य परीक्षण गरिन्थ्यो। त्यसको पनि विरोध भएपछि अहिले यो स्थगित भएको छ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवकोटीले फोसाका विषयमा मन्त्रालयमा कुनै जानकारी नआएको बताए। 'न पहिला सुरु हुँदैछ भनेर हामीलाई खबर आएको थियो,' उनले भने, 'न अहिले रोकियो भन्ने खबर आएको छ।'
प्रकाशित: १७ पुस २०७१ ११:१९ बिहीबार





