शान्ति मानव सभ्यताको आधारस्तम्भ हो। मानव इतिहासका सबै उतारचढाव, युद्ध, क्रान्ति र परिवर्तनबिच पनि शान्तिको खोज कहिल्यै समाप्त भएको छैन। शान्ति केवल युद्धको अन्त्य वा बन्दुकको मौनता मात्र होइन, बरु मानव जीवनलाई सुरक्षित, सम्मानजनक र अर्थपूर्ण बनाउने अवस्था हो। आजको विश्व राजनीतिक अस्थिरता, सामाजिक विभाजन, आर्थिक असमानता र जलवायु संकटजस्ता गम्भीर चुनौतीले ग्रस्त छ। यस्तो परिवेशमा शान्तिको महत्त्व झनै गहिरो र बहुआयामिक बनेको छ। शान्तिलाई विभिन्न तरिकाले परिभाषित गर्न सकिन्छ।
मानव गरिमा र अधिकारमा आधारित शान्तिको परिभाषा
शान्ति युद्ध वा सशस्त्र द्वन्द्वको अभाव मात्र होइन, डर, हिंसा र दमनबाट मुक्त यस्तो सामाजिक अवस्था पनि हो, जहाँ प्रत्येक व्यक्ति मानव गरिमा, मौलिक अधिकार र समान अवसरसहित जीवनयापन गर्न सक्षम हुन्छन्। संयुक्त राष्ट्रसंघको अवधारणा अनुसार शान्ति तब मात्र सम्भव हुन्छ, जब न्याय, विधिको शासन, मानव अधिकारको सम्मान र संवादमा आधारित विवाद समाधान प्रणाली सुदृढ हुन्छन्। यस अर्थमा शान्ति मानव अस्तित्वको आधार र दिगो समाजको पूर्वसर्त हो।
गान्धी दर्शनमा आधारित शान्तिको परिभाषा
शान्ति कुनै अन्तिम लक्ष्य होइन, बरु सत्य, अहिंसा र नैतिक साहसमा आधारित निरन्तर प्रक्रिया हो। महात्मा गान्धीको दृष्टिमा शान्ति भनेको द्वन्द्वको अनुपस्थिति होइन, द्वन्द्वलाई अहिंसात्मक, न्यायपूर्ण र मानवीय तरिकाले समाधान गर्ने क्षमता हो। यस परिभाषाले शान्तिलाई व्यक्ति, समाज र राज्यको दैनिक व्यवहारसँग जोड्छ, जहाँ साधन र लक्ष्य दुवै नैतिक हुनुपर्छ। त्यसैले गान्धीय दृष्टिकोणमा शान्ति स्वयं मार्ग हो, परिणाम मात्र होइन।
‘शान्तिको संस्कृति’ अवधारणामा आधारित परिभाषा
शान्ति भनेको सहिष्णुता, आपसी सम्मान, संवाद र विविधताको स्वीकारमार्फत निर्माण हुने ‘शान्तिको संस्कृति’ हो। युनेस्कोको दृष्टिमा शान्ति केवल राजनीतिक सम्झौता वा सुरक्षासम्बन्धी व्यवस्था होइन, बरु शिक्षा, संस्कृति र सामाजिक व्यवहारमा आधारित दीर्घकालीन प्रक्रिया हो। जब समाजले असहमतिको व्यवस्थापन हिंसाको सट्टा संवाद र सहकार्यबाट गर्न सिक्छ, तब मात्र दिगो शान्ति सम्भव हुन्छ। यस अर्थमा शान्ति सामूहिक चेतना, संस्कार र साझा जिम्मेवारीको परिणाम हो।
राजनीतिक दृष्टिले शान्ति भनेको संवाद, संविधान र विधिको शासनमार्फत शक्ति र असहमतिको व्यवस्थापन गर्नु हो। विश्वका धेरै देशमा देखिएको छ कि जब राजनीतिक बहिष्करण बढ्छ, तब हिंसात्मक द्वन्द्वको सम्भावना पनि बढ्छ।
नेपालमा २०६३ को शान्ति सम्झौतापछि सशस्त्र द्वन्द्वको अन्त्य हुनु राजनीतिक संवाद र समावेशी प्रक्रियाको प्रत्यक्ष उदाहरण हो। संविधान निर्माण, निर्वाचन र संघीय संरचनाले मतभेदलाई राजनीतिक प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जसले राजनीतिक शान्तिलाई मजबुत बनाएको छ।
त्यसैगरी आर्थिक दृष्टिले शान्ति भनेको रोजगारी, आयको अवसर र स्रोतको न्यायपूर्ण वितरणबाट उत्पन्न स्थिरता हो। विश्वका विभिन्न द्वन्द्वरत देशका अनुभवले गरिबी र बेरोजगारी उच्च भएका समाजहरू द्वन्द्वप्रति बढी संवेदनशील हुन्छन् भन्ने देखाउँछन्।
नेपालमा द्वन्द्वकालमा उद्योग, पर्यटन र ग्रामीण अर्थतन्त्र गम्भीर रूपमा प्रभावित भएका थिए। शान्ति स्थापनापश्चात् पर्यटनको पुनरुत्थान, जलविद्युत् आयोजनाको विस्तार र वैदेशिक लगानीको वृद्धि हुनु शान्ति र आर्थिक विकासबिचको प्रत्यक्ष सम्बन्धको प्रमाण हो।
सामाजिक दृष्टिकोणमा शान्ति भनेको विविध समुदायबिच विश्वास, सहिष्णुता र सामाजिक न्यायको अवस्था हो। जातीय, धार्मिक वा लैंगिक विभेद बढ्दा समाजमा असन्तोष र द्वन्द्व सिर्जना हुन्छ भन्ने कुरा विश्वव्यापी अनुभवले प्रमाणित गरेको छ।
समावेशी नीति, आरक्षण व्यवस्था र मेलमिलापका कार्यक्रमहरूले ऐतिहासिक रूपमा बहिष्कृत समुदायलाई राज्य प्रक्रियामा जोड्न सहयोग पुग्छ। स्थानीय तहमा समुदायस्तरीय मेलमिलाप र सहकार्यले सामाजिक शान्ति सुदृढ बनाएको अनुभव पाइन्छ।
सैन्य दृष्टिकोणबाट शान्ति भनेको युद्धको अवस्था नआउनु र आएमा सफलतापूर्वक अन्त्य गरी राष्ट्रिय सुरक्षाको सुनिश्चितता गर्नु हो तर आधुनिक अनुभवले देखाएको छ कि केवल सैन्य बलले दिगो शान्ति कायम गर्न सकिँदैन। संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा नेपाली सेनाको सहभागिताले देखाएको छ कि सैन्य क्षमता, कूटनीति र नागरिक संरक्षणको संयोजनले मात्र शान्ति सम्भव हुन्छ। नेपालमा सेनाको लोकतान्त्रिक नियन्त्रण र शान्ति प्रक्रियामा भूमिका हुनु सैन्य शान्तिको सकारात्मक अभ्यासको उदाहरण हो। शान्तिका बहुआयाम छन्।
क. मानव अस्तित्व र गरिमाका आधारका रूपमा शान्ति
मानव जीवनको पहिलो बाह्य आवश्यकता भनेको सुरक्षा हो र शान्ति बिनासुरक्षा सम्भव हुँदैन। युद्ध र हिंसाले प्रत्यक्ष रूपमा मानव अस्तित्वमाथि प्रहार गर्छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिका शिक्षाबाट वञ्चित छन्, महिलाहरू असुरक्षित छन् र वृद्धहरू आधारभूत स्वास्थ्य सेवाबाट टाढा छन्। युद्धले केवल ज्यान मात्र लिँदैन, यसले पुस्तौंसम्म असर पार्ने मानसिक आघात पनि दिन्छ।
मानव गरिमा शान्तिको मूल आत्मा हो। गरिमा भन्नाले मानिसले डर, अपमान र जबर्जस्तीबिना बाँच्न पाउने अधिकार हो। शरणार्थी जीवन बिताइरहेका लाखौं मानिसको अवस्था यसका प्रत्यक्ष उदाहरण हुन्। नेल्सन मन्डेलाले भनेझैं ‘युद्धको वास्तविक मूल्य मानव जीवन र मानव गरिमाले तिर्छ।’ शान्तिबिना मानव अधिकार कागजमा सीमित हुन्छ।
ख. विकास र समृद्धिको आधारको रूपमा शान्ति
शान्ति र विकास एकअर्काका पूरक हुन्। द्वन्द्वग्रस्त समाजमा विकास योजनाहरू कागजमै सीमित हुन्छन्। विद्यालय भवन भए पनि पढाइ हुँदैन, अस्पताल भए पनि औषधि पुग्दैन, सडक भए पनि आवागमन सुरक्षित हुँदैन। युद्धले राज्यका सीमित स्रोतलाई शिक्षा र स्वास्थ्यभन्दा बढी सुरक्षामा खर्च गर्न बाध्य बनाउँछ।
शान्ति स्थापना भएपछि भने विकासका ढोका खुल्छन्। नेपालमा शान्ति प्रक्रियापछि सडक विस्तार, जलविद्युत् आयोजना, पर्यटन र सूचना प्रविधिमा लगानी बढेको देखिन्छ। गाउँगाउँमा विद्यालय र स्वास्थ्य चौकी पुग्नु शान्तिको प्रतिफल हो। शान्त वातावरणमा युवाहरू विदेश पलायन मात्र होइन, स्वदेशमै उद्यमशील बन्न प्रेरित हुन्छन्।
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको भनाइ यहाँ स्मरणीय छ, ‘विकास र शान्ति अविभाज्य छन्।’
गरिबी, बेरोजगारी र असमानता समाधान नगरी शान्ति दिगो हुँदैन। त्यसैले शान्ति केवल बन्दुक बिसाउने प्रक्रिया होइन, सामाजिक न्याय र समावेशी विकाससँग जोडिएको दीर्घकालीन यात्रा हो।
ग. साझा नैतिक र सांस्कृतिक मूल्यका रूपमा शान्ति
शान्ति मानव सभ्यताको नैतिक चेतनासँग जोडिएको मूल्य हो। संसारका सबै धर्म र संस्कृतिहरूले शान्तिलाई उच्चतम आदर्श मानेका छन्। बुद्धको करुणा, गान्धीको अहिंसा, इस्लामको ‘सलाम’ र किराँत संस्कृतिको सहअस्तित्वको दर्शन सबै शान्तिकै विभिन्न अभिव्यक्ति हुन्।
नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुधार्मिक छ। यहाँ शान्तिपूर्ण सहअस्तित्वले सामाजिक एकता कायम राखेको छ। जात, धर्म वा विचार फरक भए पनि मेलमिलाप, परम्परा र सांस्कृतिक सहिष्णुताले समाजलाई बाँधेको छ। जब सांस्कृतिक सहिष्णुता कमजोर हुन्छ, तब द्वन्द्वको बिउ रोपिन्छ।
मार्टिन लुथर किङ जुनियरको चेतावनी आज पनि उत्तिकै सान्दर्भिक छ, ‘हामी भाइझैं सँगै बस्न सिक्नुपर्छ, नत्र मूर्खझैं सँगै नष्ट हुनेछौं।’
शान्ति केवल राजनीतिक सम्झौता होइन, यो दैनिक जीवनमा अभ्यास हुने नैतिक संस्कार हो।
घ. क्षेत्रीय र विश्वव्यापी सहकार्यको आधारका रूपमा शान्ति
आजको विश्व कुनै एक देशमा सीमित छैन। जलवायु परिवर्तन, महामारी, आतंकवाद र साइबर अपराधजस्ता चुनौतीहरू सिमाना मान्दैनन्। यस्ता समस्याको समाधान प्रतिस्पर्धा वा द्वन्द्वबाट होइन, सहकार्यबाट मात्र सम्भव छ र सहकार्यको आधार शान्ति नै हो।
दक्षिण एसियामा स्थायी शान्ति र विश्वासको वातावरण निर्माण हुन सके व्यापार, ऊर्जा र यातायात क्षेत्रमा अपार सम्भावना छन्। युरोपेली संघ यसको उदाहरण हो, जहाँ ऐतिहासिक शत्रु राष्ट्रहरू शान्ति र सहकार्यका कारण आर्थिक साझेदार बनेका छन्।
अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘शान्ति बल प्रयोग गरेर कायम गर्न सकिँदैन, यो समझदारीबाट मात्र सम्भव हुन्छ।’
कूटनीति, संवाद र अन्तर्राष्ट्रिय कानुनमा आधारित सम्बन्धले मात्र दिगो विश्व व्यवस्था निर्माण गर्न सक्छ।
ङ. सामूहिक अधिकार र साझा जिम्मेवारीका रूपमा शान्ति
शान्ति आज सामूहिक मानव अधिकारका रूपमा स्थापित भएको छ। शान्तिमा बाँच्न पाउने अधिकार प्रत्येक नागरिकको हो। तर यो अधिकार स्वतः प्राप्त हुँदैन, यसका लागि निरन्तर प्रयास आवश्यक हुन्छ। राज्यले न्याय, सुशासन र समावेशी नीति अपनाउनुपर्छ। नागरिक समाजले घृणा र हिंसाविरुद्ध आवाज उठाउनुपर्छ। सञ्चारमाध्यमले जिम्मेवार भूमिका खेल्नुपर्छ। विद्यालयले सहिष्णुता र संवादको संस्कार सिकाउनुपर्छ। प्रत्येक नागरिकले आफ्नो व्यवहारबाट शान्ति प्रवर्धन गर्न सक्छ। यस सन्दर्भमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव ड्याग ह्यामरसोल्डले भनेझैं ‘शान्ति सबैको जिम्मेवारी हो।’ शान्ति माथिबाट थोपरिने होइन, तलबाट निर्माण हुने प्रक्रिया हो।
निष्कर्ष
शान्ति एक सार्वभौमिक, बहुआयामिक र जीवन्त मान्यता हो। यो मानव अस्तित्व र गरिमाको आधार हो, विकास र समृद्धिको पूर्वसर्त हो, साझा नैतिक र सांस्कृतिक आदर्श हो, क्षेत्रीय तथा विश्वव्यापी सहकार्यको जग हो र सामूहिक अधिकारसँगै साझा जिम्मेवारी पनि हो। आजको अनिश्चित र चुनौतीपूर्ण विश्वमा शान्ति कुनै वैकल्पिक विकल्प होइन, मानवताको अनिवार्य आवश्यकता हो।
महात्मा गान्धीका शब्दहरू यस सन्दर्भमा मार्गदर्शक छन्, ‘शान्तितर्फ जाने कुनै बाटो हुँदैन, शान्ति नै बाटो हो।’ शान्तिलाई नीति, व्यवहार र जीवनशैलीका रूपमा अंगीकार गर्न सकेमा मात्र हामी सम्मान, न्याय र सहकार्यमा आधारित उज्यालो भविष्य निर्माण गर्न सक्छौं।
प्रकाशित: ७ माघ २०८२ ११:२७ बुधबार

