२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

बलियो भलिबल, कमजोर संघ

नेपालमा अहिले भलिबल सक्रिय खेलमा गनिन्छ। घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा भलिबलको लोकप्रियतालाई थप बढाउँदै लगेको छ। त्यसमा अहिलेको कार्यसमितिको मेहनत ज्यादै प्रशंसनीय छ। लोकप्रियता र अन्तर्राष्ट्रिय छवि राम्रो बनाउँदै गए पनि व्यवस्थापनमा नेपाल भलिबल संघ धेरै कमजोर देखिन्छ।
संघले गतसाता प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिप आयोजना गर्‍यो। च्याम्पिनयसिपले संघको प्रशंसा नेपालमा मात्र होइन, दक्षिण एसियाली राष्ट्रको भलिबल प्रमुखले पनि गरे। प्रशंसाको ओइरो लाग्दै गर्दा संघको व्यवस्थापन कमजोरी सार्वजनिक भइरहेको छ। जसलाई संघको नेतृत्वले समयमै सुधार गर्न नसके लाचार साबित हुने संघकै एक पदाधिकारी बताउँछन्।
टिकट प्रतियोगिताको मुख्य आम्दानीको स्रोत हो। प्रतियोगिता गर्दा संघले टिकट बिक्री गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिएको हुन्छ। तर, मंगलवार सकिएको च्याम्पियनसिपमा संघका अध्यक्ष दानबहादुर तामाङ र महासचिव जितेन्द्रबहादुर चन्दले टिकट बिक्री गर्ने जिम्मा लिए।
नेतृत्वले नै टिकट बिक्रीको जिम्मेवारी लिँदा व्यवस्थापनमा संघ कमजोर देखिनुले यसको लाचारी पुष्टि गरेको छ। च्याम्पियनसिपमा दर्शकको टिकटबाट ६ लाख ६२ हजार रुपैयाँ उठ्यो। अध्यक्ष र महासचिवले पाँच लाख रुपैयाँमा टिकट बिक्री गर्ने जिम्मा लिएका थिए। यसअघि एनभीए कप क्लब च्याम्पियनसिप गर्दा संघले हेल्प नेपाल स्पोट्र्स क्लबलाई दुई लाख रुपैयाँमा टिकट बिक्रीको सम्झौता गरेको थियो।
नेपाल भलिबल संघका अध्यक्ष तामाङले बाध्यताका कारण टिकटको जिम्मा आफैँ लिनुपरेको बताए। उनले भने, 'हामीले टिकट बिक्री गर्ने जिम्मा निजी क्षेत्रलाई दिन खोजेका थियौँ। तर, कोही नआएपछि हामीले नै जिम्मा लिएका हौँ।'
संघकै एक पदाधिकारीको भनाइलाई आधार मान्ने हो भने 'भलिबल संघ बालुवामा बनेको घर' हो। दीर्घकालिन योजना समयमा बनाउन नसके जुनसुकै बेला पनि ढल्न सक्छ। सर्वाधिक घरेलु प्रतियोगिता र दुई दक्षिण एसियाली प्रतियोगिता गरिसकेको संघले भरपर्दो प्रायोजक खोज्न सकेको छैन। सिनियर स्तरको प्रतियोगिता गर्ने क्षमता राख्ने भए पनि नेपालमा जुनियर स्तरकै प्रतियोगिता वर्षमा एउटा पनि हुने गरेको छैन।
 
महिलाको ऐतिहासिक उपलब्धि
नेपालको महिला टोलीले च्याम्पिनयनसिपमा रजत पदक जितेर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। आठौँ र दशौँ सागमा कास्य विजेता नेपालले श्रीलंकालाई पहिलोपल्ट हराउनु अर्को उपलब्धि हो।
आठ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको महिला टोलीले घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपालले एसियाको बलियो टोली श्रीलंकालाई हराउनु उपलब्धि हो। तर, योे सफलतालाई जोगाउन टोलीमा धेरै कुरामा सुधारको खाँचो छ। श्रीलंकालाई सुरुवातका दुई सेट हराएपछि नेपाल लगातार दुई सेटमा पराजित भयो। दुई सेट जितेको अवस्थामा प्रशिक्षकले पहिलो रोजाइकै टोलीलाई निरन्तरता दिनुपर्ने थियो।
खेलाडी, प्रशिक्षकसँगै संघको व्यवस्थापनलाई पनि सुधार्न जरुरी छ। नेपालले प्रतियोगिता गर्ने तयारी गरे पनि महिला टोलीले भने एक महिना मात्र प्रशिक्षण पायो। बन्द प्रशिक्षणमा थोरै खेलाडीले मात्र भाग लिए। पहिलो चरणको प्रशिक्षणमा बोलाइएका १६ खेलाडीबाट प्रशिक्षक सुदेशकुमार रिमालले अन्तिम टोली छनोट गर्नुपरेको थियो। छनोट गरिएको टोलीलाई प्रशिक्षक रिमालले अहिलेको भन्दा अझ बलियो बनाउन सक्थे। तर, प्रशिक्षकले धेरै चुनौती लिन चाहेनन्।
च्याम्पिनयसिपमा ओपन स्पाइकरबाहेक अन्य पोजिसनका खेलाडीले आफ्नो क्षमताअनुसार खेल्न सकेनन्। क्विक स्पाइक र ब्लकलाइनमा सुधार आवश्यक छ। नेपाली टोलीमा चारजना मञ्जु गुरुङ, रमिला तन्डुकार, नेविका चौधरी, प्रतिभा माली ओपन स्पाइकर थिए। सरस्वती चौधरीले केही खेलमा ओपनबाट खेलिन्।
ओपन र ब्याक स्पाइक कमजोर भएका बेला प्रशिक्षक रिमालले अनुभवी मञ्जु र रमिलालाई त्यो पोजिसनमा धेरै प्रयोग गरेनन्। प्रत्येक खेलमा पोजिसन बदलेर खेलेकी सरस्वती चौधरीले प्रतियोगितामा २९ स्कोर गरेकी थिइन्। पोजिसन बदल्दा सरस्वतीले आफनो क्षमताअनुसार खेल्न सकिनन्। त्यसले टोलीकी कान्छी सदस्य प्रतिभा मालीलाई धेरै दबाब पर्‍यो।
१३ वर्षे प्रतिभाले प्रतियोगिताभर ५१ स्कोर स्पाइकबाट जोडिन्। नेपालले खेल जित्दा प्रतिभाको प्रर्दशनमै निर्भर रहनुपर्ने अवस्था थियो। अब महिला टोलीमा नयाँ सेटरको खाँचो छ। अहिलेकी सेटर विनिता र सुशीला थापाको औसतमा जम्परेज कम छ। सेटरले ब्लकरको जिम्मेवारी निर्वाह गर्छ। भलिबलमा सर्भिस, स्पाइक र ब्लकबाट नै धेरै स्कोर आउने हो। नेपालले प्रतियोगितामा सबैभन्दा धेरै श्रीलंकाविरुद्ध सात ब्लक गर्‍यो। भारतसँगको खेलमा नेपालले ब्लकबाट २, माल्दिभ्ससँग ३ र बंगलादेशसँग खेल्दा ४ अंक लिएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीलाई प्रशिक्षणसँगै मनोवैज्ञानिक रूपमा पनि संघले प्रशिक्षित गर्ने कार्यक्रम राख्नु जरुरी छ। नेपालको खेलाडीको अन्तर्राष्ट्रिय अनुभव थोरै हुँदा पनि घरेलु कोर्टमा उत्कृष्ट प्रर्दशन गरे। अहिलेको सफलता जोगाउन संघले भविष्यमा खेलाडीलाई पुरस्कृत गर्ने र हौसला प्रदान गर्ने कार्यक्रम ल्याउन जरुरी छ।

प्रकाशित: १७ पुस २०७१ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App