साहित्यको विभिन्न विधामध्ये नाटक सशक्त विधा हो। विचार प्रवाह गर्ने अभिव्यक्तिको साह्रै सशक्त माध्यम पनि हो। विभिन्न समय कालमा नेपाली नाटकहरूले पनि विचार प्रवाह गरेका छन्। तर, विश्व साहित्यको अध्ययन गर्दा नेपाली नाटकको विचार प्रवाह निकै कमजोर देखिन्छ। यो कमजोरीको पृष्ठभूमिमा नेपाली राजनीति पनि प्रमुख रूपमा रहेको देखिन्छ।
नेपाली नाटकको सुरुवाती चरणमा राणाकालीन समयमा नाटक पूर्णतः मनोविनोदको साधन थियो। त्यसपछिको प्रजातन्त्रकालमा केही वैचारिक रूपमा सशक्त नाटक आए पनि पञ्चायतको उदयसँगै फेरि विचारमा सीमितता, संकुचन आउन थालेको पाइन्छ। पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकाले विचारले आफ्नो वेगमा गति लिन पाएन। केही प्रतीकात्मक रूपमा पञ्चायतविरोधी नाटक भए पनि वैचारिक हिसाबले नाटक पूर्ण रूपमा धराशायी नै भयो।
पञ्चायतकालमा सरकारी नाटकघरहरूले पञ्चायतलाई प्रवद्र्धन गर्ने खालका नाटक मञ्चन गराए भने अर्काथरी नाटकको रूपमा फेरि पनि नितान्त मनोविनोदका नाटक गर्न प्रोत्साहित गरे। जसले गर्दा 'दुई बाउकी एक्ली छोरी', 'साहूजीकी लाटी स्वास्नी' जस्ता निम्नकोटीका नाटक गरेर सरकारी नाट्यशालाहरू इतिहासमा बद्नाम भए। त्यसको विकल्पमा गैरसरकारी रंगकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता हरण भएको त्यो समयमा नाटकलाई सशक्त ढंगबाट उपयोग गरेका थिए। वरिष्ठ साहित्यकारले लेखेका नाटकलाई स्थानीय जिल्ला प्रशासन कार्यालयका बहिदारहरूबाट सेन्सर गराउने कार्य गरेर नाटककारको मानमर्दन गर्न पनि पछि परेन, तत्कालीन सरकार। लेखकहरूलाई निरुत्साहित गर्ने चरम प्रयास थियो त्यो। फलस्वरूप त्यो अवधिमा नेपाली नाटक, साहित्य, दर्शन कुनै पनि विधाले स्वतन्त्र रूपमा विकसित हुन पाएन मात्र होइन, कुपोषित नै भयो।
त्यही कुपोषणग्रस्त अवस्थामा काठमाडौँमा 'सर्वनाम' विचारसहित नाटक गर्न अघि सरेको थियो। त्यसलाई 'आरोहण', 'नवप्रतिभा नाट्यशाला' जस्ता रंगसंस्थाहरूले थप ऊर्जासहित अघि बढाए। धरानमा 'अनाम'ले वैचारिक रूपमा सशक्त ढंगबाट नाटक प्रस्तुत गर्न थाल्यो त्यही बेला। उसलाई आरम्भले दह्रो साथ दिएको थियो। पोखरामा 'पोखरेली युवा सांस्कृतिक परिवार' र 'प्रतिविम्ब थिएटर'ले विचारलाई प्रधानता दिएको थियो। जनकपुरबाट मिथिला नाट्यकला परिषद्ले भाषिक तथा सांस्कृतिक रूपमा आफ्नो सशक्त उपस्थिति देखाएको थियो।
पछिल्लो समय नेपाली समाज परिवर्तनको सघन प्रसवमा छ। परिवर्तनको यो उत्कट अभिलाषालाई वर्तमान साहित्यिक÷सांस्कृतिक मूलधारले न त आत्मसात् गर्न सकेको छ, न सम्बोधन गर्न सकेको छ। संघीयताका कुरा, जातीय पहिचानका कुरा कहीँ न कहीँ विगतमा कुण्ठित स्वतन्त्रता र अव्यक्त अभिव्यक्तिका बाध्यात्मक परिस्थितिसँग पनि जोडिएर आउँछन्।
देशको टुटेको कडी जोड्ने काम अन्ततः संस्कृति र साहित्यले नै गर्छ। छिन्नभिन्न भएको समाज, मुण्ड–मुण्डमा विभक्त मानिस र झुण्ड–झुण्डमा विभाजित समुदायलाई आखिर हाम्रो संस्कृतिले नै एकाकार बनाउन सक्छ। यो बेला काठमाडौँले देख्ने मोफसल र मोफसल आफैँमा धेरै अन्तर छ। त्यही अन्तरका कारण हाम्रा सामाजिक समस्या समाधानभन्दा जटिलतातिर उन्मुख भइरहेका छन्। संवेदनशीलताको यो घडीमा फेरि पनि आवश्यकताले विचारको माग गरिरहेको छ। यही बेला हो, स्रष्टाहरूले प्राज्ञिकता प्रदर्शन गर्नुपर्ने, समाजलाई मार्गनिर्देश गर्नुपर्ने। यो बेला कथाले केही नयाँ खोजिरहेको छ।
प्रकाशित: १० पुस २०७१ ११:२५ बिहीबार





