सन् २०१४ को 'मिस वर्ल्ड' उपाधि दक्षिण अफ्रिकाकी रोलिन स्ट्राउसले जितिन्। आइतवार राति लन्डनमा सम्पन्न मिस वर्ल्ड २०१४ मा २२ वर्षीया रोलिनले विश्वका १ सय २१ देशका सुन्दरीलाई पछि पारेर ताज पहिरिएकी हुन्। 'मिस वर्ल्ड'को ताज अफ्रिकी महादेशमा भित्र्याउने उनी तेस्री सुन्दरी हुन्।
दक्षिण अफ्रिकाले यसअघि सन् १९५८ र सन् १९७४ मा विश्व सुन्दरीको ताज भित्र्याएको थियो। सुन्दरता, दिमाग, विनयशीलता र करुणाको अद्भुत सम्मिश्रण रोलिनमा रहेको र यसै आधारमा उनलाई मिस वर्ल्डको ताज पहिर्याइएको आयोजकले जनाएको छ। तपाईं मिस वर्ल्ड किन बन्न चाहनुहुन्छ ? भनी सोध्दा उनले 'दक्षिण अफ्रिकी भएको नाताले मैले एकता, आदर, क्षमाशीलता लगायतको अनुभवसिद्ध ज्ञान हासिल गरेकी छु। मिस वर्ल्ड संस्थासँग यस्तो चरित्र छ र यो संस्था संसारभरिको एउटा आशाको केन्द्र हो। त्यसैले म यो संस्थासँग आबद्ध हुन चाहन्छु' भनेकी थिइन्।

२२ वर्षीया रोलिनलाई सन् २०१३ की 'मिस वर्ल्ड' मेगान योङ (फिलिपिन्स)ले ताज पहिर्याइन्। नेपालबाट मिस वर्ल्डमा प्रतिस्पर्धा गरेकी मिस नेपाल सुबिन लिम्बू पहिलो चरणको छनोटबाटै बाहिरिएकी थिइन्। 'मिस दक्षिण अफ्रिका' हुनुअघि समाजसेवामा लागेकी रोलिनले त्यसपछि मोडलिङ सुरु गरेकी हुन्। उनी पढाइमा पनि उत्तिकै तेज छिन्। खेलकुदमा उनी गल्फ, नेटबल र साइक्लिङ रुचाउँछिन्। गीतसंगीतकी पारखी पनि हुन् उनी। आफूलाई बाँसुरी, गिटार र पियानो असाध्यै मन पर्ने बताउँछिन् रोलिन। गीतले मानिसलाई काम गर्न र अघि बढ्न प्रेरणा दिने उनको भनाइ छ।
रोलिनका पाँच कुरा

टेस्टट्युब बेबी
रोलिन आफूलाई टेस्टट्युब बेबी बताउँछिन्। आफ्नो वेबसाइटमा उनले लेखेकी छिन्, 'मेरा आमाबाबुले मलाई जन्माउन पाँच वर्षसम्म अहोरात्र मेहनत गर्नुपर्यो। तर, पनि सफलता हासिल नगरेपछि अन्ततः मलाई टेस्टट्युबबाट निकाल्नुभयो।' जिस्किँदै उनले थप लेखेकी छिन्, 'मेरो जन्म भएको एक वर्षपछि भाइ जन्मियो। आमा भन्नुहुन्छ, 'तँ टेस्टट्युबबाट आइस्, तेरो भाइ चाहिँ स्वर्गबाट आयो।'
मेडिकल विद्यार्थी
रोलिनको परिवार मेडिकल जगतमा सक्रिय छ। उनका बाबु डाक्टर हुन् भने आमा नर्स हुन्। युनिभर्सिटी अफ द फ्री स्टेट इन ब्लोमफोन्टेनबाट उनले चार वर्षे मेडिकल कोर्स गरिरहेकी छिन्। 'मिस वर्ल्ड'मा भाग लिन उनले पढाइलाई थाती राखेकी छिन्। 'म टेस्टट्युब बेबी हुँ, त्यसैले होला, स्वास्थ्य जगतसँग मेरो गहिरो सम्बन्ध छ। डाक्टर भएर सेवा गर्ने मेरो धोको छ,' उनी भन्ने गर्छिन्।
दुई भाषा
अधिकांश दक्षिण अफ्रिकीजस्तै रोलिनको दुई भाषामा राम्रो पकड छ। उनी अंग्रेजी र अफ्रिकी भाषा फरर बोल्न सक्छिन्। यी दुई भाषामा उनले कैयौँ अन्तर्वार्ता दिएकी छिन्। कुनै समय अंग्रेजको उपनिवेश दक्षिण अफ्रिकामा भएकाले त्यहाँका अधिकांश मानिसलाई अंग्रेजी भाषाको ज्ञान छ।
हार्टब्रेकर
रोलिन अरूको मुटु तोड्न खप्पिस छिन्। मिस वर्ल्ड बन्नुअघि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन्।
तपाईंका कतिजना ब्वाइफ्रेन्ड छन् ? भनी गरिएको प्रश्नको जवाफमा उनले भनिन्, 'तीनजना। तर, तीनैजनाको मुटु मैले तोडेँ।' मुटु किन तोडेँ भन्नेबारे बेलिबिस्तार लगाउँदै उनले भनिन्, 'म आफ्नो प्रेम सम्बन्ध सार्वजनिक होस् भन्ने चाहन्नँ। मिस साउथ अफ्रिका भएकाले मैले आफूलाई आत्मनिर्भर युवतीका रूपमा प्रस्तुत गर्नुपर्छ। यसका लागि मैले प्रेमबाट आफूलाई मुक्त राख्नुपर्छ। फेरि, अहिलेको व्यस्त समयतालिकामा मलाई ब्वाइफ्रेन्डका लागि छुट्याउन समय पनि छैन।'
स्टोभ मोह
रोलिनलाई स्टोभमा पकाएको परिकार ज्यादै मीठो लाग्ने गर्छ। भव्य रेस्टुरेन्टमा पकाएको खानाभन्दा घरको स्टोभमा पकाएको खानाले आफ्नो जिब्रो रसाउने गरेको उनी बताउँछिन्। 'दक्षिण अफ्रिकामा प्रचलित मकैको परिकार मेरो बेस्ट परिकार हो। यो परिकार मेरी आमाले पकाउनुभयो भने अझ मीठो हुन्छ,' उनी भन्छिन्, 'हाम्रो घरमा एउटा पुरानो स्टोभ छ, जुन कोइलाको सहयोगले चल्ने गर्छ। त्यसमा ममीले मकैको परिकार बनाउनुभयो भने त्यस स्वादको तुलना अरू केहीसँग हुनै सक्दैन।'
अन्य उत्कृष्ट
एडिना कुल्कसार, फस्ट रनरअप, हंगेरी
२३ वर्षीया एडिनाले अभिनेत्री बन्ने लक्ष्य राखेकी छिन्। हंगेरीको राजधानी बुडापेस्टमा जन्मिएकी उनी विगत चार वर्षदेखि मोडलिङ क्षेत्रमा आबद्ध छिन्। नाटकमा विशेष रुचि राख्ने उनी ड्रामा स्कुलमा भर्ना भएर अभिनयसम्बन्धी ट्रेनिङ लिई फिल्मी क्षेत्रमा प्रवेश गर्न चाहन्छिन्। प्रकृतिप्रेमी एडिना हाइकिङ र हर्स राइडिङमा रुचि राख्छिन्। बर्गर उनको मन पर्ने खाना हो।
एलिजाबेथ सफ्रिट, सेकेन्ड रनरअप, अमेरिका
अमेरिकाको नर्थ क्यारोलिना राज्यकी एलिजाबेथले टेलिभिजनमा राजनीतिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेकी छिन्। राजनीतिशास्त्र र आमसञ्चारमा विश्वविद्यालयस्तरको अध्ययन पूरा गर्ने उनको सोच छ। फिट रहन उनी योग गर्ने गर्छिन्। म्युजिकल थिएटरमा शो हेर्नु उनको सोख हो। ब्याले नृत्यमा पनि उनी दख्खल राख्छिन्।
कर्टनी थोर्प, मिस अस्ट्रेलिया
आमसञ्चारकी विद्यार्थी कर्टनी थोर्प फ्रिल्यान्स लेखक र फेशन स्टाइलिस्ट पनि हुन्। फेशनसम्बन्धी लेख लेख्न रुचि राख्ने उनी एउटा अन्तर्राष्ट्रिय पत्रिकाको फेशन सम्पादक पनि हुन्। बालबालिकाका लागि उनले किताबको शृंखला नै लेखेकी छिन्।
कारिना टाइरेल, इंग्ल्यान्ड
बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीकी मेडिकल विद्यार्थी हुन्, कारिना टाइरेल। भविष्यमा डाक्टर बन्ने लक्ष्य उनले राखेकी छिन्। स्विट्जरल्यान्डमा जन्मिएकी उनी परिवारसाथ सानैमा बसाइँ सरेर अमेरिका पुगेकी थिइन्।
समाजसेवामा विशेष रुचि राख्ने उनी डाक्टरी पेशामार्फत संसारभरिका बिरामीको सेवा गर्न चाहन्छिन्। जिम्नास्टिकमा पनि उनको विशेष रुचि छ। फुर्सदको बेला पेन्टिङ गर्न र ड्रेस डिजाइन गर्न उनी रुचाउँछिन्। ठूला मानिसको आत्मकथा पढ्नु उनको अर्को सोख हो।
प्रकाशित: ४ पुस २०७१ ०८:२४ शुक्रबार





