नेपालमा धेरैजसो निर्माता पैसा कमाउनुपर्छ भन्दै तथाकथित कमर्सियल फिल्म बनाउने गर्छन्। कलाकारले पनि पैसा कमाउन धेरैभन्दा धेरै फिल्म खेल्नुपरेको तर्क दिन्छन्। जबकि विश्वकै फिल्म क्षेत्रको अध्ययनले देखाउँछ, फिल्मबाट पैसा कमाउन त सकिन्छ तर धनी चाहिँ हुन सकिँदैन। धनी हुनका लागि अरू नै क्षेत्र उपयुक्त छन्।
फोब्र्स म्यागजिनले हरेक वर्ष विश्वका अर्बपतिहरूको सूची निकाल्छ। कम्तीमा एक अर्ब अमेरिकी डलरको सम्पत्ति हुनेहरूको नाम सूचीमा समेटिन्छ। यो सूचीमा विश्वका कुनै पनि अभिनेता वा अभिनेत्रीले अझसम्म प्रवेश पाएका छैनन्। अर्थात्, अभिनय गरेर कोही पनि अर्बपति बनेका छैनन्।
विश्वमै सबैभन्दा धनी अभिनेता अमेरिकी कमेडियन जेरी सिनफिल्ड हुन्। ६० वर्षीय जेरीको व्यक्तिगत सम्पत्ति लगभग ८२ करोड डलर पुगेको छ। फिल्ममा खासै नदेखिने जेरी स्टेज र टीभी सिरियलमा लोकप्रिय छन्।
धनी अभिनेताको दोस्रो स्थानमा भारतका शाहरूख खान छन्। उनको ६० करोड डलर बराबरको चल वा अचल सम्पत्ति छ। तेस्रो स्थानमा अमेरिकाका टम क्रुज छन्। उनको सम्पत्ति ४९ करोड डलरको हाराहारीमा पुगेको छ।
हलिउडका सर्वाधिक धनी फिल्म निर्देशक जर्ज लुकास हुन्। 'स्टार वार्स' शृंखलाका फिल्म निर्देशन गरेर चर्चा कमाएका उनलाई कमाइको दौडमा विश्वका अरू फिल्म निर्देशकले पनि उछिन्न सकेका छैनन्। फोब्र्सका अनुसार उनको सम्पति ४ अर्ब ४० करोड डलर छ।
लुकासलाई पछ्याउँदै स्टेभन स्पिलबर्ग हलिउडका दोस्रो धनी निर्देशकका रूपमा रहेका छन्। 'इन्डियाना जोन्स', 'ईटी', 'जुरासिक पार्क', 'द टर्मिनल', 'वार हर्स', 'सिन्डलर्स लिस्ट'जस्ता फिल्म निर्देशन गरेका स्पिलबर्गसँग ३ अर्ब ६० करोड डलर बराबरको सम्पत्ति छ। उनी दुई दर्जनभन्दा बढी फिल्मका निर्माता पनि हुन्।
लुकास र स्पिलबर्ग दुवै फोब्र्सको अर्बपतिको सूचीमा परेका छन्। तर, अरू अर्बपतिसँग तुलना गर्दा उनीहरूको सम्पत्ति 'हात्तीको मुखमा जिरा' साबित हुन्छ। अमेरिका तथा विश्वकै सर्वाधिक धनी बिल गेट्ससँग ८२ अर्ब डलर बराबरको सम्पत्ति छ। अमेरिकाको दशौँ नम्बरका धनी माइकल ब्लुमबर्गकै सम्पत्ति पनि ३४ अर्ब डलर छ।
जर्ज लुकास र स्टेभन स्पिलबर्गको सम्पत्तिलाई नेपाली रुपैयाँमा बद्लेर हेर्ने हो भने अकूत लाग्छ। तर, अमेरिकी धनीहरूको सूचीमा लुकास ११४ औँ र स्पिलबर्ग १५४ औँ स्थानमा छन्। धनीहरूको अन्तर्राष्ट्रिय सूचीमा लुकास ३४० औँ र स्पिलबर्ग ४५४ औँ स्थानमा सीमित छन्।
पछिल्ला केही वर्षमा चर्चामा रहेकी अमेरिकी टेलिभिजन सेलिब्रिटी ओपरा विन्फ्रे पनि धनी नै मानिन्छिन्। उनले मिडियाको माध्यमबाट आफ्नो आर्जनको उचाइलाई बढाएकै हुन्। तर, उनको तीन अर्ब डलरबराबरको सम्पत्ति अरु धनीका सामु खासै ठूलो होइन। उनी अमेरिकाकी २१० औँ र विश्वकी ५७० औँ धनी व्यक्ति हुन्।
फोब्र्स म्यागजिनले भारतका पनि सर्वाधिक धनी तथा अर्बपतिहरूको सूची प्रकाशित गर्दै आएको छ। उक्त सूचीअनुसार मुकेश अम्बानी भारतका नम्बर एक धनी हुन्। उनको सम्पत्ति लगभग २३ अर्ब ६० करोड डलर पुगेको छ।
भारतमा पछिल्लो समय सय करोड कमाउने फिल्मको संख्या बढेको बढ्यै छ। शाहरूख खान, सलमान खान र आमिर खानका फिल्महरूले बक्सअफिसमा विभिन्न कीर्तिमान तोड्दै आएका छन्। एउटै फिल्मबाट कलाकारले १० देखि ४० करोड भारुसम्म पारिश्रमिक लिए भन्ने खालका समाचार पढ्न पाइन्छन्।
बलिउडको व्यापार बढेकै हो। कलाकारहरूको आम्दानी पनि उकालो लागेको मान्न सकिन्छ। बलिउडको ग्ल्यामरदेखि को आकर्षित छैन र ? यसमा पैसा र ग्ल्यामर दुवै छ। तर, यति हुँदाहुँदै पनि धनी हुने माध्यम भने होइन यो।
फोब्र्सले निकालेको सयजना भारतीय धनीहरूको सूचीमा फिल्म कलाकार वा फिल्म क्षेत्रका एकजना पनि अटाएका छैनन्। बिस्कुट, रङ, सिमेन्ट, औषधि, गाडीजस्ता वस्तु उत्पादन गर्नेहरू यो सूचीमा छन्। तर, विश्वकै दोस्रा धनी अभिनेता शाहरूखको यसमा नामोनिशान छैन।
चीनमा समेत सयजना धनीहरूको सूचीमा फिल्म क्षेत्रका व्यक्तिको उपस्थिति छैन, जबकि चीन विश्वको दोस्रो ठूलो फिल्म बजार मानिन्छ। चीनको सय नम्बरका धनी लियु बाओलिन औषधि वितरक हुन्। उनको सम्पत्ति १ अर्ब ६० करोड डलर छ।
नेपालमा पछिल्लो समय ९० प्रतिशत फिल्म घाटामै गएका छन्। सुपरहिट भनिएका फिल्महरूले पनि लगानीकै हाराहारीमा मात्र नाफा कमाइरहेका छन्। आफ्नो साँवा उठ्दा नै खुशीयाली मनाउनुपर्ने बाध्यता नेपाली निर्मातालाई छ।
यहाँका चलेका कलाकारले एउटा फिल्मबाट दुई लाख रुपैयाँको हाराहारीमा पारिश्रमिक पाउने गर्छन्। त्यस्ता कलाकारले वर्षमा अधिकतम तीनवटा फिल्म खेल्छन्। छ लाख रुपैयाँले गुजारा त चल्छ होला। तर, धनी चाहिँ बनाउँदैन।
प्रकाशित: ४ पुस २०७१ ०७:२८ शुक्रबार





