१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

आउँदो वर्ष कोरियामा ५५ हजार

दक्षिण कोरियामा आगामी वर्षका लागि ५५ हजार कामदारको कोटा निर्धारण गरिएको छ। कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको जनाएको हो।
कोरियाको आप्रवासी मजुदर कार्यान्वयन समितिले मंगलवार निर्णय गर्दै ५५ हजार कोटामध्ये २ हजारको माग बढी भएमा मात्र ल्याइने जनाएको हो। माग नभए ५३ हजार कामदारमात्र कोरिया लगिने समितिले निर्णय गरेको छ। साना तथा मझौला घरेलु उद्योगमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न कोरियाले ५५ हजार आप्रवासी कामदारका लागि कोटा तय गरेको जनाएको छ।
निर्धारण गरिएको कोटामध्ये ४५ हजार नयाँका लागि र १० हजार पुनः प्रवेश गर्नेका लागि हो। त्यसमा उत्पादनमूलक क्षेत्रमा ४२ हजार ४ सय, कृषि क्षेत्रमा ६ हजार, निर्माण क्षेत्रमा २ हजार ३ सय, मत्स्यपालनमा २ हजार २ सय र सेवा क्षेत्रमा १ सय कोटा निर्धारण गरिएको छ।
नेपाली कामदार उत्पादनमूलक र कृषि क्षेत्रमात्र काम गर्न जान पाउँछन्। यसपटक आवेदन दिएकामा ४९ प्रतिशत कृषि र ५१ प्रतिशत औद्योगिक क्षेत्रका नेपाली कामदार रहेका छन्। कोरियाले निर्धारण गरेको कोटा आगामी अक्टूबरसम्ममा कोरिया लग्नेछ। कोरियाले मार्चका लागि १७ हजार ६ सय ४० र अतिरिक्त १२ सय कोटा तथा जुनका लागि १२ हजार ९ सय ९० र अतिरिक्त ८ सय कोटा निर्धारण गरेको छ। त्यस्तै सेप्टेम्बरका लागि ६ हजार ६ सय र अक्टूबरका लागि ६ हजार ५ सय ७० कोटा छुट्याइएको छ।
नयाँ कोटा निर्धारणले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन्। ईपीएस भाषा परीक्षा पास गरेर बसेका कामदारलाई फाइदा पुग्नेछ। ईपीएस भाषा परीक्षा पास गरेर रोस्टरमा परेका कामदारलाई श्रम सम्झौता गरेपछि रोजगारदाताले छनोट गर्ने गर्छ। आउँदो जनवरीदेखि श्रम सम्झौता आउने र कामदार जाने ईपीएस शाखाले जनाएको छ। अहिले कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। रोस्टरमा ईपीएस पास गरेकाको सम्पूर्ण व्यक्तिगत विवरण तयार गरिन्छ। ईपीएस कोरिया शाखाले भाषा तथा स्वास्थ्य परीक्षण उत्तीर्ण भएका कामदारको रोस्टर तयार पारी कोरियाको मानव संसाधन विभागलाई बुझाउन थालेको हो। यसपटक स्वास्थ्यमा एकजना कामदार पनि फेल नभएको शाखाले जनाएको छ।
सन् २०१४ को भाषा परीक्षा उतीर्ण गरेका परीक्षार्थी प्रक्रिया पूरा गरेर आगामी जनवरीदेखि जान सक्ने ईपीएस शाखाले जनाएको छ। यसपटक ईपीएसमार्फत कोरिया जाने कामदारको लागि लिइएको भाषा परीक्षामा ३६ सय ६३ जना उतीर्ण भएका छन्। त्यसमध्ये २२ सय जनाको रोस्टर तयार भएको शाखाले जनाएको छ।
कोरियाले पहिलोपटक सन् २००८ मा ईपीएसमार्फत नेपाली कामदारलाई कोरिया लगेको थियो। कोरियामा सन् २००८, सन् २०१०, सन् २०११ र सन् २०१३ को ईपीएस परीक्षा दिएर २२ हजारभन्दा बढी नेपाली काम गरिरहेका छन्।

प्रकाशित: ३ पुस २०७१ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App