बलिउड उस्तै हो या राखी सावन्त उस्तै हुन्, बुझिनसक्नु छ। आइटम गर्ल राखी पटक–पटक विवादमा पर्छिन्। उनीमाथि दुर्व्यवहार हुन्छ, पटक–पटक। कहिले उनलाई कसैले जबर्जस्ती चुम्बन गरिदिन्छ, कहिले कसैले शारीरिक छेडखानी। त्यति नपढेकी, कहाँ के बोल्ने, कति बोल्ने हेक्का नभएकी राखी कहिले मिडियामा आँशु झारिरहेकी हुन्छिन्, कहिले गुहार मागिरहेकी अनि कहिले जुधिरहेकी। मानिसहरूलाई लाग्छ– उनी पब्लिसिटी स्टन्ट (चर्चा हतकण्डा) गरिरहेकी छिन्।
एउटा सत्य चाहिँ के हो भने राखीलाई धेरैले हेपेका छन्। र, धेरैलाई लाग्छ– त्यो हेपाइ पनि आमन्त्रित हो। बलिउडमा टिक्न र बिक्न, उदाउन र चम्किन गर्नुपर्ने फन्डाहरू राखीले गर्न बाँकी राखेकी छैनन्। र, सबैले उनलाई विवादको पुत्ला मानेका छन्। आफू अपमानित र उत्पीडित भएको सत्य रुँदै बताउँदा पनि उनलाई ठट्टामा उडाइएको छ।अघिल्लो बिहीबार पनि राखीको जीवनमा थप एउटा काण्ड भयो। यो काण्डको कारण उनी थिइनन्, उनकी सहेली मनीषा कुमारी थिइन्। फिल्म 'मुम्बई क्यान डान्स साल'को सांगीतिक कार्यक्रममा मनीषाले निर्देशक सचिन्द्र शर्मालाई चड्काइदिइन्। 'उसले मसँग टाँस्सिने कोसिस गर्योक र उसको दुर्व्यवहारको जवाफस्वरूप मैले उसलाई थप्पड हानेँ,' मनीषाले दैनिक भाष्कर डटकमलाई भनेकी छिन्।
यही प्रकरणको सेरोफेरोमा दैनिक भाष्कर डटकमले राखीसँग गरेको कुराकानी -
खासमा यो घटना के हो ?
हामी 'मुम्बई क्यान डान्स साला'को संगीत विमोचनमा गएका थियौँ। मञ्चमा जानुअघि निर्देशक सचिन्द्र शर्माले मनीषालाई भनेछन्, 'तिमीले सम्झौता गरेकी भए आज राखीको ठाउँमा हुन्थ्यौ।' उनको मतलब थियो उनी मेरो ठाउँमा मनीषालाई लिन सक्थे। मनीषाले निर्देशकको टिप्पणीलाई बेवास्ता गरिदिइन्। तर, पछि मञ्चमा जब उनी मनीषासँग टाँस्सिन खोजे, उनले थप्पड हानिन्। त्यसपछि दुवैजनाबीच हात हालाहाल भयो। म फिल्मको टिमसँग निराश थिएँ। मनीषाले जे गरी, त्यसबाट म खुशी नै छु।
तपाईं फिल्मका निर्माताहरूसँग किन असन्तुष्ट हुनुहुन्छ ?
उनीहरू राजनीति खेलिरहेका छन्। म निर्माता रञ्जीत शर्मासँग खुशी थिइनँ किनभने उनले मेरा केही दृश्य काटिदिएका थिए। फिल्मको संगीत विमोचनमा उनकी छोरी आशिमा शर्माका तस्बिरमात्रै लगाइएका थिए। आशिमा यो फिल्मबाट डेब्यू गरिरहेकी छिन्। उनलाई मात्र प्रमोट गरिएको छ, मलाई बेवास्ता गरिएको छ। रञ्जीतले आफ्नो बाचा पूरा गरेनन्। मैले फिल्ममा राम्रो डान्स नम्बर गरेकी छु। उनले मलाई डेढ करोड भारु पनि दिए। तर, मलाई प्रमोट गर्नु थिएन भने यसको के अर्थ ?
मान्छेहरू त यसलाई पब्लिसिटी स्टन्ट ठानिरहेका छन् नि ?
त्यही त ! राखी सावन्त मरी भने पनि दुनियाँ भन्नेछ– यो एउटा पब्लिसिटी स्टन्ट हो। म बलात्कृत भएँ भने पनि मान्छेहरूले भन्नेछन्– चर्चाका लागि राखीले आफूलाई बलात्कृत गराई। पब्लिसिटीका लागि कोही सार्वजनिक रूपमा थप्पड खान्छ ? यहाँ मनीषा र निर्देशकबीच हानाहान भयो। यो कुनै पब्लिसिटी स्टन्ट थिएन।
पुलिसमा उजुरी गर्नुभयो कि ?
हामीले सान्टा क्रुज पुलिस स्टेसन, मुम्बईमा एफआईआर दर्ता गराएका छौँ। पुलिस आफ्नो काम गरिरहेको छ। चाँडै नै निर्देशक पक्राउन पर्ने र यस मामिलामा न्याय पाउने आशा गरेका छौँ।
मनीषा र उनको पृष्ठभूमिबारे केही बताउनुस् न।
मनीषासँग दुई वर्ष पहिले भेट भएको थियो। ऊ मेरी असल साथी हो। म्यानेजरका रूपमा मलाई सघाइरहेकी छे। यो घटनापछि उसले फिल्म उद्योग छोड्ने निर्णय गरेकी छे।
प्रकाशित: ३ पुस २०७१ १०:४५ बिहीबार





