रुकुम जिल्लाको मैकोट (२,३०० मिटर) गाउँ ऐतिहासिक स्थल हो। मगर जातिको बसोबासस्थल मैकोट पुन थरका मगरको उद्गम थलो मानिन्छ।

मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषा यहाँको आकर्षण। विविध प्राकृतिक सम्पदा लोभलाग्दा गहना। रुकुममा अवस्थित छ अग्ला हिमालमध्ये चार वटा त मैकोटअन्तर्गत नै पर्छन्। चुरेन (७,३७१ मिटर), पुथा हिउँचुली (७२४६ मिटर), दोगारी (६,५३६ मिटर) र साम्जाङ (५,९२४ मिटर) को अवस्थितिले मैकोट हिमाली सौन्दर्यको खानी हो भन्दा अत्युक्ति नहोला। हिमफेदीका लेकाली दहहरूको त झन् गन्ती नै भएको छैन। चार हजारभन्दा बढी उचाइमा रहेका सुनदह, राक्षसदह, पार्वीवार्मी लगायतका हिमदह यसका उदाहरण हुन्।

मैकोटका धेरैजसो बस्ती ढोरपाटन सिकार आरक्षको प्रस्तावित मध्यवर्ती क्षेत्रभित्र पर्छन्। आरक्षले सिकार खेल्न छुट्याएको सात ब्लकमध्ये चार वटा त मैकोटअन्तर्गत पर्छन्। जैविक विविधताका दृष्टिले मैकोट धनी ठाउँ हो। यार्सा सिजनमा लाग्ने मेलामा हजारौंको भीड लाग्छ। मेलामा आधारित दीपेन्द्र भण्डारीको वृत्तचित्र ‘जर्नी टु यार्सा'ले देश–विदेशमा चर्चा कमाएको छ।
जेठ र असारमा यार्सा किनबेचको चहलपहलपछि क्रमशः वनलसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडिबुटी आय आर्जनका स्रोत हुन्। भेडा र घोडापालनका लागि बाक्लो र मसिनो बुकी घाँस थप विशेषता। शितोष्ण हावापानी अनुकूलका वनपैदावारले यहाँको वैभतालाई थप उजिल्याउँछ। लौठसल्ला, भोजपत्र, निगालो, गोब्रेसल्ला, खर्सुजस्ता रूखबिरुवा पाइन्छ।
गुरिल्ला ट्रेलको एउटा मुख्य अंश मानिने मैकोटको जंगल र खर्कहरूमा माओवादी द्वन्द्वकालमा छापामारको आश्रयस्थल देख्न सकिन्छ। म्याग्दी सदरमुकाम बेनी, अर्घाखाँची सदरमुकाम सन्धिखर्क र डोल्पा सदरमुकाम दुनै आक्रमणताका घाइते छापामारलाई भण्डारण गरिएका गोठ, ओडार र जंगल अध्ययन गर्नेका लागि थप महत्वको विषय हुन सक्छ। सदरमुकाम कब्जापश्चात् अपहरण गरिएका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षितसाथ बसाइएका घर अझसम्म देख्न सकिन्छ। मुख्यतः २०५५ साउन र भदौमा माओवादी जनमिलिसिया र स्क्वायडहरूलाई छनौट गरी प्लाटुन स्तरमा युद्ध प्रशिक्षण दिइएको र्या ल्बी खर्क कम महत्वको देखिन्न।

तत्कालीन छापामार तालिम प्रशिक्षक नन्दकिशोर पुन थिए। जनार्दन शर्मा राजनीतिक कमिसारका रूपमा छापामार तालिममा संलग्न थिए। तालिमपछि रुकुमको छुट्टै ३३ सदस्यीय छापामार दस्ता प्लाटुन गठन भएको थियो। छापामार तालिम भएलगत्तै राप्ती क्षेत्रका रोल्पा, रुकुम, जाजरकोट र सल्यानमा प्लाटुन फर्मेसन तयार गर्ने अवधारणाले मूर्तरूप लिएको मानिन्छ।
सामरिक दृष्टिले अत्यन्त महत्व राख्ने यस भूभाग सेरोफेरो साहसिक पदयात्रा गर्नेहरूका निम्ति राम्रो क्याम्पिङ साइट बन्ने सम्भावना राख्छ। द्वन्द्वकालताका गाउँघरमा सामाजिक अपराधस्वरूप माओवादीको कारबाहीमा परेका र राजनीतिक रूपले माओवादीभन्दा फरक धारका व्यक्तिलाई जनकारबाहीका नाममा खेतीपातीको श्रमशिविरमा खटाएर स्थानीय उत्पादनमा सघाउ पुर्याकएका घटना सत्यकथाको रूपमा गाउँलेबाट सुन्न सकिन्छ।
तत्कालीन राज्यस्तरबाट सञ्चालित ‘किलो सेरा टु', ‘कर्डन एन्ड सर्च'जस्ता माओवादीलाई साइजमा ल्याउने खालका प्रहरी र सेना अपरेसनमा पूरापुर गाउँका गाउँ रित्तो पारेर ज्यान बचाउन आश्रय लिएका जंगल र ओडार रहस्यमयी लाग्छन्। यस्तै कथा सुन्दा सुनाउँदा रमाइलो मात्रै लाग्दैनन्, ती त युद्ध र शान्तिले आम मानिसको जीवन निर्वाहमा के कति सकारात्मक र नकारात्मक प्रभाव पार्योल भन्ने सवालमा एउटा गतिलो पाठ हो। यो पाटोबाट हेर्दा मैकोट जो कोहीका लागि राम्रो गन्तव्यस्थल बन्न सक्छ।
मैकोटे संस्कृति सहजै ध्यान खिच्ने खालका छन्। यहाँ मनाइने दसैं अचम्मको छ। यहाँका बासिन्दा आफूलाई प्रकृतिपूजक माने तापनि दसैंमा मष्टा देवतालाई भेडाको साँड बलि दिएर धुमधामसाथ पर्व मनाउँछन्। दसैंको मष्टापूजा र मंसिरे पूर्णिमाका अवसरमा गरिने पितृपूजामा पूजा गर्ने भक्तजनलाई तिनका भाञ्जाहरूले ढाडमा बोकेर घरसम्म पुर्यािउने चलन छ। संस्कारमा बौद्ध र हिन्दू धर्मको सम्मिश्रण पाइनु खोजको विषय हुन सक्छ।
मैकोटीहरू तिहार मनाउँदैनन्। तिहारको सट्टा मंसिरे संक्रान्ति भव्य रूपले मनाउँछन्। मंसिरे संक्रान्तिमा फुर्सदिला भएर मिठामिठा परिकार खान्छन्। गहुँको रोटी, भात, राँगाको मासु, जाँड र रक्सी यो पर्वको विशेष परिकार। संक्रान्ति पर्वको प्रसंगमा ३० वर्षीय भागिमान पुन भन्छन्, ‘१६ दशकअघि नै हाम्रो ज्यूज्यूले तिहारलाई सारेर त्यसको सट्टा मंसिरे संक्रान्ति मनाउने चलन बसाएका हुन्।' मैकोटका महाजन लछिन्त पुनले यस्तो चलन बसाएका थिए। लछिन्त गाउँका तालुकदार थिए।
‘भागिमान पुन लछिन्त पुनका पनाति हुन्,' स्थानीय देउधन घर्तीमगर भन्छन्, ‘त्यसैले तिहार सरेको धेरै वर्ष पनि भएको छैन।' मंसिरे संक्रान्तिमा दिदीबहिनी र दाजुभाइबीच टीका लगाउने चलन छैन। यसको सट्टा माघे संक्रान्तिमा चेलीबेटीलाई रोटी, मासु, तरुल, फलफूल, लत्ताकपडा र पैसाले पुज्ने चलन छ भने कागलाई पनि यही पर्वको अवसरमा भात र मासुले पुज्ने अनौठो संस्कार छ।
डिग्रे यहाँको मुख्य नाच। मयुर, सिंगाारु यहाँको पर्व रंगिलो बनाउने नाच। महिलाको झ्होल्ला सामूहिक नाच हो। गीतिकथामार्फत् रामायणको सिलसिलाबद्ध वर्णन गरेर गोलबद्ध भई भलाद्मीका साथ नाचिन्छ। कथाको समापन हुँदा सबै एक ठाउँ बसेर आपसमा रुवाबासी गरेर छुट्टिन्छन्। प्रायजसो नाच सामूहिक प्रकृतिका हुन्छन्। नाचको अगुवाइ गर्ने नचारुका अनुसार यस्ता नाचहरूले नेतृत्व विकासको पाठ सिकाउने र आपसमा एकताबद्ध हुनु नै मानिसको सामाजिक शक्ति हो भन्ने सन्देश दिन्छ। यसले आपसमा मिलेर बस्नुको अर्को विकल्प नभएको अर्थ दिन्छ।
नाचमा दर्शकलाई हास्यरसको मनोरन्जन दिन मुखुन्डोधारी कलाकारलाई साथमा नचाइन्छ। मुखुन्डोधारी औसत रूपमा उच्छृंखल र अश्लील स्वभावका हुन्छन्।
पछिल्लो चरणमा यहाँका युवामाझ स्थानीय संस्कृति र इतिहास झल्किने खेल प्रतियोगिता गर्ने होड चलेको छ। उदाहरणका रूपमा घार्डासे खेल निकै पृथक चासोको सतहमा आएको छ। ‘घोर्डासे' भन्नाले स्थानीयस्तरमा कुस्ती खेल भन्ने बुझ्न सकिन्छ। यस खेलले ‘मैकोट' गाउँको शाब्दिक अर्थलाई छर्लङ्ङ पार्छ।
‘मैकोटको ऐतिहासिक पृष्ठभूमिलाई यसले केही हदसम्म चिनाउन मद्दत गरेको छ,' पुपाल युवा क्लबका अध्यक्ष भरतकुमार पुन स्पष्ट पार्छन्। जवान युवाबीच नियमबद्ध भई घम्साघम्सी लडेर कुनै एक बलवान् युवा विजयी बन्छ। विजयीलाई पगरीले गुथेर विशेष सम्मानसाथ पुरस्कृत गरिन्छ। यहाँको अर्को मौलिक खेल डन्डीबियो। डन्डीबियो हाम्रो राष्ट्रिय खेल भए तापनि लोपोन्मुखको अवस्थामा छ।

घोर्डासे, डण्डीबियो, रसी तानातान, महिला तथा पुरुष भलिबल, लामो दौड, दोहोरी गीत, घोडा दौडजस्ता स्थानीय हावापानी सुहाउँदो खेल प्रतियोगिता गरेर युवा आन्तरिक र बाह्य पर्यटक तान्न लालायित छन्। यी खेल मुख्यतः मंसिरे संक्रान्तिमा गरिन्छ। योसँगै स्थानीय लोक संस्कृति झल्किने नाचगानमा रमाएर पर्यटकलाई मनोरन्जन दिइन्छ।
भौगोलिक दृष्टिले रुकुमको उत्तरपूर्वी दिशामा अवस्थित विकट गाविस भए तापनि प्रकृति र संस्कृतिको अनुपम संगमले पर्यटकका लागि मैकोट पर्यापर्यटन मात्र नभएर खेल, संस्कृतिलगायत पर्यटनका लागि पुग्नैपर्ने गन्तव्यस्थल हो। डोल्पा टे्रकिङ रुटको द्वारसमेत भएकाले डोल्पा प्रस्थान गर्ने पर्यटकलाई पनि केही दिन यहाँ भुलाउन सकिन्छ।
पाहुनालाई सहजै बास दिएर खानपिन व्यवस्था गर्नबाट गाउँले सितिमिति पन्छिँदैनन्। गाउँस्तरमै होमस्टे शैलीका होटेल खुल्ने क्रम बढिरहेको छ। स्थानीय कोदो, जहुँ, मकै, आलु आदिका परिकार खुवाउन सकिन्छ भने जडिबुटी र स्याउखेतीले पर्यटकलाई लोभ्याउन सकिन्छ। पेल्मा नजिकैको तातापानी कुण्ड स्वास्थ्य पर्यटनको राम्रो गन्तव्य बन्न सक्छ। यहाँको मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषाविज्ञानका विद्यार्थी यहाँ आकर्षित हुन सक्छन्। त्यस्तै नजिकैको रन्मा गाउँमा मगर भाषामा बढी से बढी साहित्यिक व्यंग्यको उर्वरता भेटिने भएकाले मगरभाषीहरूकै निम्ति थप अध्ययन अनुसन्धानको पाटो बन्न सक्छ।
सिस्ने हिमाल आरोही मनबहादुर खत्री भन्छन्, ‘पर्यटनका लागि मैकोटको भविष्य राम्रो छ।' पुपाल लेकको यार्सा क्याम्पमा भेटिएका अमेरिकी नागरिक एलोन्जो लायन्सले घुमेका ठाउँमध्ये मैकोट बिर्सनै नसकिने गाउँ भनेर दोहोर्यािए। उनी ‘गुरिल्ला एन्ड यार्सा टे्रल' पुस्तकका लेखक हुन्।
अन्तमा भन्न मन लाग्छ, घुम्न जाने हैन त मैकोट?
प्रकाशित: २७ मंसिर २०७१ ००:४८ शनिबार





