८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

देशभक्त खनाल : छुच्चो ससुरोदेखि गुरुसम्म

म २०४४ सालबाट कलाकारितामा आएको हुँ। सानैदेखि अभिनयमा रुचि राख्थेँ। अरूले गरेको अभिनय हेरेर पनि धेरै रमाउने खालको थिएँ। रूखको हाँगामा चढेर समेत अरूले गरेको रिहर्सल हेरेको थिएँ। त्यही हेरेर नै मैले अभिनय सिकेको हो।
'हारजीत' भन्ने भिडियो फिल्मबाट मैले अभिनय यात्रा थालेको हुँ। निर्देशक दिपक आलोकले मलाई यो फिल्ममा अफर गर्नुभएको थियो। त्यसपछि टेलिफिल्ममा अफरको ओइरो लाग्न थाल्यो। नरेन्द्र श्रेष्ठले निर्देशन गरेको 'गुरुआमा' मा गुरुको अभिनय गरेपछि म चर्चित भएको थिएँ। मलाई अहिले पनि याद छ, बाटोमा मलाई मान्छेहरू 'त्यो त फलानो टेलिफिल्ममा देखिने मान्छे होइन' भनेर हेर्थे।
'लाहुरी भैँसी' टेलिफिल्ममा मैले एउटा निरीह व्यक्तिको भूमिका निर्वाह गरेको छु। धेरै मान्छेको साझा पीडा बोकेको पात्र भएकाले धेरैले यसका लागि धन्यवाद दिए। कतिले त हेर्दाहेर्दै रोएको पनि बताए।
टेलिफिल्म 'डोको' मा बुहारीसँग झगडा गरिरहने ससुरोको भूमिका गरेको थिएँ। मेरो त्यो भूमिकाले गर्दा धेरै युवतीले झगडा गर्दा 'फलानो जस्तो ससुरा परोस्' भनेर गाली गर्ने गरेको पनि सुनियो।
'दलन' टेलिफिल्ममा गरेको दया देखाएजस्तो गर्ने शोषक पात्रको भूमिका पनि चर्चित भएको थियो। 'भाइ भाइ' फिल्ममा मैले एउटा गरिब बाउको भुमिका गरेको छु। एउटा यस्तो गरिब बाउ, जो आफ्नी श्रीमतीको ज्यान बचाउनका लागि आफ्नो छोरोसमेत बेच्न बाध्य हुन्छ।
भर्खरै गरेको फिल्म 'झोला'मा म काका भएको छु। सय वर्षअघिको कथा भएकाले दुरुस्तै उतार्न अप्ठ्यारो भएको थियो। जंगलमा खाली खुट्टा हिँड्दा काँडाले घोचेर निकै दुःख पाइएको थियो।

प्रकाशित: २६ मंसिर २०७१ २१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App