१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

अमिलो लप्सीको गुलियो कथा

साँगा, काभ्रे — चार दशकअघिसम्म काभ्रेपलाञ्चोक नासिकास्थानमा अमिलो हुँदैन थियो। मकै, कोदो, धानलगायतका परम्परागत खेतीपातीले जीविका धान्न नसक्दा यहाँका किसानको मन ‘अमिलो' हुन्थ्यो। त्यही समयमा तुलसीलाल दुवालले पहिलोपटक अमिलोको व्यापार सुरु गर्ने सोच बनाए। उनी गाउँ–गाउँ पुगेर ढ्वाङमा लप्सी जम्मा गर्थे र घरमा ल्याएर माडा बनाउँथे। तयार भएको अमिलो अचार बिक्रीका लागि काठमाडौंको असन बजार पुर्‍याउँथे।

ढ्वाङमा लप्सी जम्मा गरेर उनले सुरु गरेको अमिलोको व्यापार अहिले गाउँभर फैलिएको छ। जिल्ला–जिल्लाबाट आएका ग्राहकले मोटरका मोटर लप्सी खरिद गरेर लैजान्छन्। घर–घरमा कारखाना खुलेका छन्। तिनमा थरीथरीका अचार बन्छन्। अचार देशका सहरमा मात्र होइन छिमेकी देश भारत र चीनमा पनि निर्यात हुन थालेको छ। अमिलोको बढ्दो व्यापारले सर्वसाधरणको मन अहिले ‘गुलियो' बनेको छ।

lapsi1
‘अमिलोले अहिले गुलियो कमाइ दिन थालेको छ,' तुलसीलालका छोरा रामकृष्ण दुवालले हाँस्दै भने, ‘बुबाले सुरु गर्नुभएको व्यवसाय अहिले पूरै गाउँभर फैलिएको देख्दा खुसी लाग्छ।' रामकृष्ण यो व्यवसायमा लागेका तीन दशक भयो। दिनदिनै अमिलो अचारको माग बढिरहेको उनी सुनाउँछन्। 
लप्सीलाई विभिन्न भेराइटीमा बनाउँदा आम्दानी राम्रो भएको उनको बुझाइ छ। ‘लप्सीका विभिन्न प्रकारका अचार बेचेर वार्षिक २० लाखजति आम्दानी हुने गरेको छु,' उनले भने, ‘अझै ग्राहकको माग पूर्ति गर्न सकेको छैन।' 
पहिले डेढ रोपनी जमिन भएका रामकृष्णलाई खान–लाउनसमेत धौधौ थियो। जब बाबुको व्यापार सम्हाले, अहिले सुधरिएको आर्थिक अवस्थाले उनी फुरुङ्ङ छन्। 
उनको कारखानामा दैनिक १५–२० कामदारले रोजगार पाइरहेका छन्। गाउँका करिब ७५ घरले सानोतिनो व्यवसाय सञ्चालन गर्छन् भने ठूलो व्यवसायमा १४–१५ परिवार आबद्ध छन्। ‘यसले स्थानीय ठाउँमै रोजगारी सिर्जना गरेको छ,' रामकृष्ण ढुक्क छन्, ‘आफैंले मन लगाएर काम गरे नहुने के छ र!'
सोही गाउँका ईश्वर चण्डीको कथा पनि दुलालको जस्तै छ। आफ्ना ठूलाबाले पनि पहिले ढ्वाङमा लप्सी जम्मा गरेर व्यापार थालेको सम्झन्छन्, उनी। ठूलोबुबा र बुवाले सुरु गर्नुभएको व्यवसायलाई मैले आधुनिक रूप दिएको छु,' चण्डीले भने, ‘अहिले बजार पनि राम्रो छ। आम्दानी पनि बढेकै छ।' उनले वार्षिक २५ लाखसम्मको कारोबार गर्दै छन्। 
यहाँ उत्पादित लप्सीको माडा, अचार, चक्र अचार, चाइनिज खट्टुलगायत विदेश समेत निर्यात हुन थालेको उनले सुनाए। उनीहरू काभ्रे, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाबाट लप्सीको आयात गर्छन्। ‘प्रशोधन प्रक्रियापछि विभिन्न खाले अचार बनाइन्छ,' उनले भने, ‘प्रतिकेजी २२ रुपैयाँमा किनिने लप्सीको दानाबाट स्वाद–स्वादका अचार बनाउँछौं।' 
लप्सीको बोक्राबाट धुलो अचार बनाइन्छ भने गुदीबाट फरक खालका अचार बन्छन्। अचार बनाइसकेर निक्किएको च्याम्पटी (गेडा) समेत प्रयोगमा आउँछ, जसलाई इँटा भट्टाले खरिद गर्ने गरेका छन्। कतिपयले च्याम्पटीमा लेपन गरेर विभिन्न प्रकारका अचार नै बनाउँछन्। 
अचारको बढ्दो मागका कारण सानोतिनो भए पनि गाउँले यही व्यवसायमा लोभिएका छन्। ‘हामी लप्सीलाई पकाएर माडा बनाउँछौ,' सरोज डंगोलले भने, ‘यही माडा बेचेर जीविका चलेको छ।' आफ्नो जमिन नभएकाले उलने मासिक १५ सय तिर्ने गरी एक रोपनी जग्गा भाडामा लिएका छन्। ‘माडा सुकाउनका लागि ठाउँको अलि समस्या छ,' उनी भन्छन्, ‘तर तयार भएको माडा बेच्नलाई कुनै समस्या छैन।' पाँच वर्षअघिबाट यस व्यवसायमा लागेका उनले बालबच्चाको पढाइदेखि घर खर्चसमेत टारिरहेका छन्। 
अचारको थोक बिक्रीसँगै खुद्रा विक्री पनि बढेको छ। अरनिको राजमार्गमा यात्रा गर्नेदेखि नजिकै रहेको महादेव शिवको मूर्ति हेर्न आउने पर्यटकको रोजाइमा यहाँको अचार छुट्दैन। ‘साँगा महादेवको मन्दिरमा आउनेहरूले कोसेलीको रूपमा अचार बोेकेर फर्कने गरेका छन्,' नजिकैकी पाउँ पसले लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘यहाँ आउने पर्यटक बढेसँगै हाम्रो व्यापार पनि राम्रो चलेको छ।' 
लप्सी कारखाना सञ्चालन भएपछि वरपरका गाउँलेलाई रोजगारीको समस्या छैन। बनेपा, भक्तपुर, खरिपाटीजस्ता गाउँका महिलाहरू अचार बनाउन यहाँ आउने गरेका छन्। ‘कारखाना खुलेर हामीलाई राम्रो भएको छ,' बनेपाबाट आएका रविना रञ्जितले भनिन्, ‘यसले गर्दा कामका लागि टाढा जानुपरेको छैन।'

प्रकाशित: ६ मंसिर २०७१ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App