७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

यामसाजन र दिलमायाको कीर्तिमान

काठमाडौं- नेपाली एथलेटिक्सका उदीयमान खेलाडी यामसाजन सुनार र दिलमाया कार्कीले शुक्रबार राष्ट्रिय कीर्तिमान बनाएका छन्। दक्षिण कोरियाको इन्चोनमा हुने १७औं दक्षिण एसियाली खेलकुदका लागि भएको छनोटमा यामसाजनले १०० मिटर र दिलमायाले ४०० मिटरमा आफ्नो पुरानो कीर्तिमान तोडेका हुन्।दशरथ रंगशालामा शुक्रबार कीर्तिमान बनाएका दुवै खेलाडीले शनिबार हुने २०० मिटर दौड गुमाउने भएका छन्। कीर्तिमान बनाएपछि यामसाजन घाइते भएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन्। दिलमाया पनि ढाडको समस्याले गर्दा खेल्न नखेल्ने भएकी छन्। 
जाजरकोटका यामसाजनले १० दशमलब ३ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमानमा सुधारे। यसअघि उनले माघमा ३९औं राष्ट्रिय एथलेटिक्समा १० दशमलब ४ सेकेन्डमा १ सय मिटर दौड पूरा गर्दा १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडिएको थियो। रामकृष्ण चौधरीको नाममा १० दशमलब ७१ सेकेन्डको कीर्तिमान कायम थियो। रामकृष्णको कीर्तिमान सन् १९९९ मा काठमाडौं सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा बनेको थियो। शुक्रबार १ पल्स सुधारेका यामसाजन फिनिसिङ प्वाइन्ट पार गर्दै ल्यान्डिङ हुँदा उनको बायाँ खुट्टाको एङ्कलमा समस्या देखिएको थियो। उनले एकसाता आराम गर्नुपर्ने भएको छ। यामले भने, 'कीर्तिमान बन्छ भन्ने विश्वास थियो। एसियाली खेलकुदमा राम्रो गर्न मैले प्रशिक्षणमा धेरै सुधार गर्दै आएको छु। आफ्नै कीर्तिमान सुधार गर्दा खुसी छु। यसले इन्चोन एसियाडमा राम्रो नतिजा निकाल्न सहयोग गर्छ।' १५ दिनपछि ट्र्याकमा फर्कन मिल्ने उनले बताए। 'बायाँ खुट्टाको मसलमा केही समस्या देखिएको रहेछ। डाक्टरले २ हप्तापछि ट्र्याकमा फर्कन मिल्ने भनेको छ।'
मध्यपश्चिमबाट राष्ट्रिय प्रतियोगिता खेलेपछि उनी पुलिस क्लब हुँदै अहिले त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। 
आर्मीका एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझाले अब नेपाल दक्षिण एसियामा १०० मिटरमा पदक दाबेदार देखिएको बताए। उनले भने, 'यामको प्रदर्शनबाट हामी धेरै खुसी छौं। उनले नेपाललाई छोटो दूरीमा पदक दिलाउन सक्ने सम्भावना देखाएका छन्। अब उनको प्रशिक्षणमा ध्यान दिन सके हामीले साफमा पदक जित्न सक्छौं।' 
ओझाले चोटका कारण यामको मलेसिया यात्रा अप्ठेरोमा पर्न सक्ने बताए। नेपाल एथलेटिक्स संघले इन्चोन एसियाली खेलकुदअघि मलेसियामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण एथलेटिक्समा नेपाली खेलाडीलाई सहभागी गराउने तयारी गरिरहेको छ। ओझाका अनुसार दुई सातापछि मलेसियामा प्रतियोगिता हुनेछ। 
४ वर्षदेखि एपिएफबाट खेल्दै आएकी दिलमायाले ५८ दशमलब ५ सेकेन्डमा ४०० मिटर पूरा गर्दै कीर्तिमान सुधारिन्। यसअघि दिलमायाले असोजमा सम्पन्न राष्ट्रिय खुला एथलेटिक्समा ५८ दशमलब ८ सेकेन्डमा दूरा पार गरेकी थिइन्। त्यतिखेर प्रमिला रिजालको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडिएको थियो। प्रमिलाले ११औं दक्षिण एसियाली खेलकुदमा ५९.२ सेकेन्डको कीर्तिमान राखेकी थिइन्। 
९ महिनापछि पुनः कीर्तिमान सुधार्न सकेकी दिलमायाले प्रशिक्षक र क्लबको सहयोग कारण सफलता पाएको बताइन्। सुर्खेतकी उनले भनिन्, 'कीर्तिमान बन्दा खुसी छु। सुशील गुरु (सुशील नरसिंह राणा) ले अभ्यास गराउँदा मलाई धेरै मिहिनेत गर्नुभएको छ। ब्याक पेनको समस्या देखिएपछि प्रशिक्षणमा धेरै विचार पुर्या एको थिएँ। अब डाक्टरको सल्लाहअनुसार उपचार गरेर मात्र अभ्यास गर्छु। ' 
छनोट प्रतियोगिताको १०० मिटरमा पुलिसका तिलकराम थारु (१०.६ सेकेन्ड) दोस्रो र मध्यमाञ्चलका आशिष चौधरी (११ सेकेन्ड) तेस्रो भए। तिलकरामले ४०० मिटरमा दौड पनि जिते। आर्मीका नवराज परियार दोस्रो र एपिएफका हरिलाल चौधरी तेस्रो भए। 
दिलमायाले १०० मिटर दौड १२ दशमलब ८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन्। पुलिसकी मनमति चौधरी (१२ दशमलब ९ सेकेन्ड) दोस्रो र मध्यपश्चिमकी सरस्वती चौधरी (१३ सेकेन्ड) तेस्रो भए। 
५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्की पहिलो, आर्मीका छत्रबहादुर दाहाल दोस्रो र किरणकुमार मल्ल तेस्रो भए। दुईले मात्र प्रतिस्पर्धा गरेको महिला ५ हजार मिटरमा एपिएफकी कान्छिमाया कोजु पहिलो र गीता खत्री दोस्रो भए। 
१५ सय मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो, आर्मीकै दिले बस्नेत दोस्रो र सुदूरपश्चिमका उमेश भण्डारी तेस्रो भए। सोही दूरीको महिलामा विजेश्वरी स्कुलकी संगीता खड्का पहिलो, आर्मीकी मेनुका श्रेष्ठ दोस्रो र मध्यमाञ्चलकी सन्तोषी श्रेष्ठ तेस्रो भए। 
४ सय मिटरमा दिलमायाले कीर्तिमान बनाउँदा पुलिसकी मनमति विष्ट दोस्रो र विजेश्वरी स्कुलकी अनिता थापा तेस्रो भए।

प्रकाशित: २३ जेष्ठ २०७१ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App