७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

कैदी भगाउने प्रहरी निलम्बित

रौतहट– जिल्ला कारागारबाट उपचार बहानामा दुई कैदी भगाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन प्रहरीलाई निलम्बन गरेको छ। कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक शंकर कार्की, हवल्दार गणेश श्रेष्ठ र जवान गौरीशंकर साह तेलीलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकाल बताए।
शनिबार दिउँसो पेट दुख्यो भन्दै कराएपछि उपचारका लागि लैजाँदै गर्दा कैदीहरू नवीन यादव र मोहम्मद जावेद फरार भएका थिए। उनीहरूलाई गौरस्थित कारागारबाट आधा किलोमिटर दुरीको तैयब नर्सिङहोम पुर्‍याइएको थियो।
अपहरण तथा शरीर बन्धक मुद्दामा थुनिएका यादव र लागुऔषध मुद्दामा थुनिएका भारत, उत्तर प्रदेशका जावेदलाई भगाउनमा प्रहरीकै मिलेमतो रहेको जेलर अनिताकुमारी राजलवटले बताइन्। सर्लाही, जमुनियाका यादवलाई अदालतले ११ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो। त्यस्तै जावेदलाई कपिलवस्तु जिल्ला अदालतले १७ वर्ष कैद तथा २१ लाख जरिवाना फैसला गरेको थियो।
कारागार प्रशासनको निर्देशनबमोजिम हवल्दार श्रेष्ठ र जवान साह कैदीलाई लिएर हिँडेका थिए। कारागार स्रोतका अनुसार श्रेष्ठ र साह कैदीको हत्कडी खोलिदिएर गौरकै एक होटलमा ‘मासु र रक्सी' खान छिरेका थिए। त्यहाँबाट निस्किएर क्लिनिक पुग्नुअगावै कैदी भारततिर फरार भएका हुन्। ‘कैदी भागेपछि हिरासतमा लिइएका प्रहरीले होटलमा खाजा खाने क्रममा हतकडी खोलिदिएको स्विकारेका छन्,' स्रोतले भन्यो।
कैदी भागेपछि प्रहरी जवान साह शनिबार दिउँसैदेखि सम्पर्कविहीन भएका थिए। उनलाई मोबाइल फोनको लोकेसनका आधारमा गौर नपा–१० बाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ढकालले बताए।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समिति बैठकले सुरक्षा कमजोरी र लापरबाहीकै कारण कैदी भागेको ठहर गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराएका छन्। ‘फरार अभियुक्त चाँडै पक्राउ गरिनेछन्,' उनले भने।
यसैबीच जिल्ला कारागारबाट गम्भीर अपराधमा सजाय तोकिएका कैदी फरार भएको घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक भीम ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रहरी निरीक्षक विजयराज पण्डित र प्रहरी नायब निरीक्षक नवलकिशोर सिंह सदस्य रहेको टोलीले पाँच दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रकाशित: १८ जेष्ठ २०७१ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App