वीरगन्ज– भारतको पञ्जाब, हरियाणा र पाकिस्तानको पञ्जाब प्रान्तका नृत्य भारतीय कलाकारहरुले वीरगन्जमा प्रदर्शन गरेका छन्। भारतीय महावाणिज्य दूतावासले बिहीबार आफ्नो प्रांगणमा गरेको कार्यक्रममा भारत लुधियानाको ‘अजय कुमार तथा समूह'का १४ कलाकारले भाँगडाका विभिन्न शैलीका नृत्य प्रस्तुत गरे।काठ र बाँसबाट बनेका परम्परागत बाजाहरुको ‘फोक अर्केस्ट्रा'बाट सुरु भएको प्रस्तुति आधा दर्जन नृत्यसहित करिब डेढ घन्टा चलेको थियो। समूहका सञ्चालक समेत रहेका कलाकार अजय कुमारले ती नृत्यहरुबारे सँगसँगै जानकारी समेत गराए।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय र महावाणिज्यदूत अञ्जु रन्जनद्वारा उद्घाटित कार्यक्रममा कलाकारहरु शैली बर्मा, बबनित कौर, चान्दनी बर्मा, रजिन्दर कौर, मन्जिद सिंह, ऋषि जोशी, सुखबीर सिंह लगायतले प्रस्तुति दिएका थिए। करिब ७० देशमा कला देखाइसकेको समूह वीरगन्जमा आएकामा काउन्सुलर प्रशान्त देशपाण्डेले खुशी व्यक्त गरे।
प्रकाशित: ८ जेष्ठ २०७१ २३:३४ बिहीबार