धरानकी राईलाई लिन आएका काभ्रेका रामहरि कार्कीलाई समेत प्रहरीले पक्रेर थप कारबाहीका लागि भन्सार बुझायो । विमानस्थल प्रहरीका अनुसार राई मलेसियामा डान्सरका रुपमा काम गर्ने अनुसन्धानमा देखिएको छ ।
उनी यसअगाडि समेत पटकपटक नेपाल आउनेजाने गर्ने गरेकाले उनलाई सुन तस्करले भरियाका रुपमा उपयोग गर्ने गरेको प्रहरीको आशंका छ । उनलाई लिन आएको कार्की तस्करीको दोस्रो समूहका व्यक्ति भएको प्रहरीको आशंका छ ।
भारतीय बजारलाई लक्ष्य गरेर तस्कर समूहले स्थलमार्ग प्रयोग गर्दै खासाबाट काठमाडौंसम्म सुन भिœयाउन सक्रिय देखिए पनि हवाईमार्गबाट आउने यात्रु अवैध सुनसहित पक्राउ पर्ने घटना शून्यबराबर थियो । तर, पछिल्लो समय स्थलमार्गबाट आउने सुन फेला पर्ने क्रम रोकिएको छ भने हवाईमार्गबाट आउने यात्रु अवैध सुनसहित पक्राउ पर्ने क्रम बढेको छ ।
पछिल्लो एक महिनामा त्रिभुवन विमानस्थलमा ३८ किलो अवैध सुनसहित २५ भन्दा बढी तस्करीमा सक्रियहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिकको संख्या बढी छ ।
विमानस्थल प्रहरीको तथ्यांकअनुसार प्राय दुबई, मलेसिया हुँदै नेपाल आउने यात्रु अवैध सुनसहित पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्नेहरु अधिकांश भरिया तहका हुन् । पक्राउ गरेलगत्तै तत्काल भन्सार कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधानले प्रहरी थप अनुसन्धानमा अगाडि बढ्न नसक्दा तस्करीको जालो भत्किन सकेको छैन ।
बेल्टदेखि कार्बनसम्म उपयोग
विमानस्थल प्रहरीका अनुसार वैशाखमा बेल्टभित्र लुकाएर तस्करी गर्न लागेको सुनसहित भारतीय नागरिक नुहाम्मद सानुदलाई पक्रेको थियो । यसअगाडि मलेसियाबाट आएका ४ जना भारतीय नागरिक ५ किलो सुनसहित पक्राउ परेका थिए । प्रहरीले सुन तस्करीमा संलग्न रहेको अभियोगमा खदर सुन्थान, महोमत हुसेन, मोहमत नासिर, मुताफा खाजा मोइदिन र अब्दुल रसिदलाई पक्रेको थियो ।
प्रहरीले चैत २६ गते दुबईबाट आएकी प्रतिमा राई सय ग्राम सुनसहित पक्राउ परेकी थिइन् । त्यसको ४ दिनपछि १ किलो ७ सय ९५ ग्राम सुनसहित बालकृष्ण अग्रवाल पक्राउ परेका थिए ।
प्रहरीले वैशाख पहिलो साता हङकङबाट काठमाडौं सीतादेवी घलेलाई १ सय ७४ ग्राम र शान्ति गुरुङलाई ८१ ग्राम सुनसहित पक्रेको थियो । दुबईबाट आएका कृष्णगोपाल अग्रवाल १ सय ९८ ग्राम सुनसहित पक्राउ परेका थिए ।
विमानस्थलको तथ्यांकअनुसार भने सारजाहा“–काठमाडौं हवाई उडानबाट आएका घनश्याम चालिसे ३ सय ४९ ग्राम, निता श्रेष्ठ सात सय ग्राम भारतीय नागरिक पञ्कज जोदान ९ सय ३३ ग्राम सुनसहित पक्राउ परिसकेका छन् ।
वैशाख पहिलो साता ३ किलो सुनसहित ३ जना भारतीय नागरिक पक्राउ परेका थिए । २२ वैशाखमा साढे तीन केजी सुनसहित लक्ष्मी सोनी, बृजमोहन सोनी र राजकुमार सोनी पक्राउ परेका थिए । उनीहरु एकै परिवारका हुन् ।
फ्लाई दुबईबाट काठमाडौं आएका उनीहरु स्थलमार्गबाट भारत जाने तयारीमा थिए । तर, विमानस्थलमै पक्राउ परे ।
मलेसियन एयरलाइन्सबाट आएका भारत चेन्नईका कादर सुल्तान, मोहम्मद असन र मुस्ताफा खान २ किलो सुनसहित पक्राउ परेका थिए । भारतमा सुन आयातमा कडाइ गरेपछि नेपाल हुँदै सुन तस्करी मौलाएको थियो । तस्करहरुले चीनको खासा हुँदै स्थलमार्गबाट सुन खासा भिœयाएर स्थलमार्गबाट भारत पु¥याउँदै आएका थिए ।
दैनिक ५० किलोसम्म सुन तस्करीको बाटो भएर भारत पुग्ने गरेको सार्वजनिक भएपछि पछिल्लो समय प्रहरीले खासा हुँदै काठमाडौं भित्रने सवारीसाधनमा निगरानी बढाएपछि पक्राउको क्रम घटेको थियो ।
स्थलमार्गमा सुन बरामदका घटना बढिरहेका बेला विमानस्थल शान्त थियो । पछिल्लो समय एकाएक विमानस्थलमा अवैध सुन फेला पर्ने क्रम बढेको छ ।
विमानस्थलका डिआइजी यादव अधिकारी हवाईमार्गबाट सुन तस्करी बढ्नु चिन्ताजनक भएको बताउँछन् । हवाई सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले प्रहरी निगरानीमा कडाइ गरिएको उनले बताए ।
पक्राउ पर्नेहरु प्रायः भरिया तहका हुने र पक्राउ गरेलगत्तै सामानसहित भन्सार दाखिला गर्नुपर्ने कानुनी प्रावधानका कारण गहिरो अनुसन्धान सम्भव नभएको बताउँदै उनले तस्करीको जालो खोतल्न प्रहरी प्रयासरत भने रहेको बताए ।
प्रकाशित: ४ जेष्ठ २०७१ २२:१९ आइतबार





