२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

हिउँको पर्खाइमा हुम्ला

हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो। यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो।

लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन्।

यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे। तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ। त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन्।

हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ। हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन। चार, पाँच दिनसम्म आकाशमा बादल मडारिने गरे पनि हिमपात हुन नसकेको हो।

मङ्सिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भए पनि यो वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन। यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ।

सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामा भन्छन्, ‘यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन्। पुस महिना सकिएर माघको आज ७ गते भइसक्यो।’

बढी हिमपात हुने महिना पुस र माघ हो तर हिउँ परेन अब फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो।

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन्। हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन्।

जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गरे। किसान बोहराले भने, ‘जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ।’

हिमपात नभएर यहाँको जमिन, सुक्खा देखिँदै गएका छन् भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन्।

हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुक्खा देखिएका छन्। पुस महिनामा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमालहरु सुक्खा देखिएका छन्। हिमपात नहुँदा यी हिमालहरु हिउँको पर्खाइमा छन्।

जलवायु परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ। जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिए पनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए।

उनले भने, ‘हुम्लामा दुई–तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छोडेको छ।’

यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चङ्खेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन्।

यो समयको हिउँदयाममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिलाफिा भनेर किसान उख्खान समेत भन्ने गर्थे।

पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उखानजस्तै माघमा परेको हिउँ बिलाउँदै जाने गर्छ। पुसमा परेको हिउँ जमेर बस्छ भने फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ।

यो पटक मङ्सिर र पुस दुई महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तीत बनेका छन्।

गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन्।

हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन्।  

प्रकाशित: ७ माघ २०८२ १५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App