२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ

प्रहरीको भूमिकामाथि प्रश्न

रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ। पीडित बिर्जा राम चमारले दिएको लिखित उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मिनियाले बुधबार मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार छन्। फरार आरोपीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

घटना गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।

पीडितले न्यायका लागि पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेपछि मात्रै प्रहरीले मुद्दा दर्ता गरेको स्थानीयको भनाइ छ।

पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर घरमा प्रवेश गरी कुटपिट गरेको बताएका थिए।

बिर्जाको घरमा रहेका उनकी श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामानसमेत तोडफोड गरिएको थियो।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लगाइएको छ।

कुटपिटका कारण ललन राम चमार र नरेश राम चमारको टाउको र आँखामा पनि चोट लागेको पीडितले बताएका छन्।

प्रहरीको भूमिकामाथि प्रश्न

घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा पीडित बिर्जा राम चमार र उनका छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगेको आरोप लगाइएको छ। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर लगिएको पीडित पक्षको आरोप छ।

फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिइएको र घटनाको एक सातासम्म पनि जाहेरी दर्ता नगरिएकाले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई पक्राउ गरिएको बताएका छन्।

पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको थाहा पाएपछि सोही रात जिम्मा जमानिमा छाडिएको उनले बताए।

स्थानीयका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएदेखि क्षेत्रमा अराजक गतिविधि बढेको गुनासो गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App