२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

सबैलाई व्यंग्य गर्दै महजात्रा

काठमाडौं– भारत–नेपालको असमान सम्बन्ध, संविधानसभा, दण्डहीनताजस्ता विषय र राजनीतिक दलका नेताहरु लामो समयदेखि हास्यव्यंग्यका खुराक बन्दै आइरहेका छन्। राजधानीमा शुक्रबार सुरु भएको ‘टुबोर्ग महजात्रा'मा पनि दर्शकले यिनै विषय र मसलामा गरिएका घोचपेचको आनन्द लिन सक्नेछन्।झन्डै तीन घन्टा लामो प्याकेजमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै उनका सहायक कलाकारहरु कमलादीको प्रज्ञा प्रतिष्ठान हलमा प्रहसनसँगै विविध प्रस्तुतिका साथ जेठ ८ सम्म उपस्थित हुनेछन्।
कार्यक्रमको सुरुवातमा ‘मह' जोडीलाई मह प्रार्थना गरिरहेको देख्न सकिन्छ। ईश्वरले यो संसार बनाएको र संसारमै राम्रो नेपाल बनाएको तर नेपाल चाहिँ राम्रो बनाउने नेता नपठाएको भावार्थ समेटिएको प्रार्थनापछि सुरु हुन्छ महको प्रहसन शृंखला।
‘बोर्डर चेकपोस्ट' शीर्षकको प्रहसन लिएर देखा परेका राजाराम पौडेल, किरण केसी र शिवहरि पौडेलले नेपाल भारतको सीमा समस्यालाई विषय बनाएका छन्। हरेक रात भारतले सीमा–स्तम्भ गायब गर्दै नेपालको भूमिलाई आफ्नो दावी गरिरहँदा पनि नेपालका नेताले चासो नदेखाएको विषयलाई प्रहसनले व्यंग्य गरेको छ। सत्तामा नपुगुन्जेल भारतविरुद्ध हुँकार गर्ने तर सत्तामा पुगेर दिल्ली जाने बित्तिकै ‘त्वम शरणम' गर्ने नेपाली नेताको प्रवृत्तिलाई शिवहरि पौडेलले आफ्ना संवादमार्फत् छताछुल्ल पारेका छन्। 
त्यसैगरि चीनको इशारामा नाच्ने नेताको पनि नेपालमा कमी छैन। कि त चीनतिर कि त भारततिर रुझान राख्ने यस्ता नेताबाट छुटकारा पौडेलको जुक्ति छ, जोजो जता जता रुझान राख्छन्, त्यस्ता नेतालाई उतैउतै जिम्मा लगाइदिने। 
‘शब्दान्तक्षरी'मार्फत् पहिलो प्रहसनमा देखिने मह जोडीले प्रहसनमा जातीय राज्यले पार्ने प्रभावलाई देखाउन खोजेेका छन्। नेवार बहादुर र बाहुन बहादुरको चरित्रमा देखिने हरिवंश र मदनकृष्णलाई प्रहसनमा वसुन्धरा भुसाल र मोहितवंश आचार्यले सघाएका छन्।
‘म डनको फोटो स्टुडियो'मा भने मह जोडीले दण्डहीनता र राजनीतिक संरक्षणमा मौलाउँदै गरेको गुण्डागर्दीलाई प्रस्तुत गरेका छन्। महजात्रामा प्रस्तुत प्रहसनमध्ये उत्कृष्ट लाग्ने प्रहसनलाई डन फोटोग्राफर बनेका मदनकृष्ण श्रेष्ठ र सर्वसाधारण बनेका हरिवंशको अभिनयले जीवन्त तुल्याएको छ।
महजात्राको अन्तिम प्रहसन ‘विकास र भ्रष्टाचार'लाई महजोडीले गीति नाटकझैं प्रस्तुत गरेका छन्। भ्रष्टाचारका कारण विकास मौलाउन नसकेको विषय प्रस्तुत गर्ने प्रहसनमा भ्रष्टाचारी बनेका हरिवंश र विकासको रुपमा अभिनय गर्ने मदनकृष्ण सुहाउँदिला देखिन्छन्। 
प्रस्तुतिको शैली र विषयका हिसाबले पनि ‘विकास र भ्रष्टाचार' बाँकी प्रहसनभन्दा नवीन लाग्छ। 
‘महजात्रा'लाई मनोरञ्जक बनाउन दिलिप रायमाझीले दुई गीतमा नृत्य प्रस्तुत गरेका थिए। रायमाझीलाई अभिनेत्री अनु शाहले एउटा नृत्यमा सघाएकी थिइन्। कार्यक्रममा गायिका मल्लिका कार्कीले दुई पटक गरी चार गीत सुनाएकी थिइन्।

प्रकाशित: २७ वैशाख २०७१ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App