७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बमकाण्डबारे थुनछेक बहस सुरु

जनकपुर-जनकपुर बमकाण्डको मुख्य योजनाकार रहेको अभियोगमा प्रहरी हिरासतमा रहेका सञ्जय साहको मुद्दामा थुनछेकसम्बन्धी बहस सुरु भएको छ। धनुषा जिल्ला अदालतले आइतबार र सोमबार साहको बयान लिएपछि मंगलबार बहस सुरु भएको हो।अतिरिक्त न्यायाधीश कैलाश केसीको एकल इजलासमा बहस भइरहेको छ। पहिलो दिन मंगलबार जाहेरवालाका तर्फबाट बलराम सुवेदी, हेमबहादुर कार्की, चन्द्रकुमार मैनाली, किशोरी साह र विपीन झाले बहस गरेका थिए। 
प्रतिवादी साहको तर्फबाट अधिवक्ता विश्वनाथ उपाध्याय, कृष्णप्रसाद सापकोटा, श्यामकुमार मिश्रा र विनोदकुमार शर्माले बहस गरेका छन्। बाँकी रहेका अधिवक्ता सुरेन्द्र महतो, प्रकाश घिमिरे, मन्सुर राइन, कोषराज काफ्ले, उमेश पजियार र सुबोध मण्डलले बुधबार बहस गरेपछि मात्र अदालतले फैसला सुनाउने अदालतस्रोतले जनाएको छ। 
२०६९ वैशाख १८ गते जनकपुर रामानन्द चोकमा भएको शक्तिशाली बम विस्फोटमा पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए। उक्त घटनाको जिम्मेवारी लिने मुकेश चौधरी पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले संविधानसभा सभासदसमेत रहेका साहलाई अभियुक्त ठहर गरेको थियो। उनलाई गत शनिबार राति विरगन्जको छपकैयाबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत धनुषामा पेस गरेको हो। 

चौधरीको बयान र विस्फोटसम्बन्धी साह तथा चौधरीबीच भएको कुराकानी कैद गरिएको टेपलाई आधार मानेर प्रहरीले साहविरुद्ध अदालतमा मुद्दा चलाएको थियो। बहसका क्रममा जाहेरवालाको तर्फबाट ज्यानसम्बन्धी महलको १३ (४), १५ र १६ अनुसार साहलाई थुनामा राखी पुर्पक्षको कारबाही बढाउन माग गरिएको छ। 
प्रतिवादीतर्फका अधिवक्ताहरूले अदालती बन्दोबस्ती महलको ४७ अनुसार साधारण तारेखमा राखी पुर्पक्षको कारबाही अगाडि बढाउन माग गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७१ २०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App