३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

भरियालाई भ्याइनभ्याइ

खुर्कोट (सिन्धुली)– उनीहरू हतारमा छन्। सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने झोलुंगे पुलमा होस् वा सुनकोसी किनारको खुर्कोट नयाँ बजारमा उनीहरू दौडिरहेका छन्। हातमा नाम्लो लिएका वा पिठ्युँमा भारी बोकेका– सबैलाई भ्याइनभ्याइ छ। खुर्कोटमा तराईबाट मालबाहक गाडीले ल्याएका सामान झार्नु र रामेछापतर्फ प्रतीक्षारत गाडीमा भर्नु उनीहरूको दैनिकी हो। तीन वर्षदेखि उनीहरूको दिनचर्या यसैगरी बितिरहेको छ।महोत्तरीको बर्दिबास हुँदै सिन्धुलीको खुर्कोटसम्म र रामेछापको मन्थली हुँदै दोलखाको लामाबगरसम्म सडक सञ्जाल फैलिएपछि अहिले हिमाली जिल्ला दोलखा र सोलुसमेत तराईसँग नजिक भएका छन्। बाटोले पहाड र मधेसलाई नजिक्याएपछि दैनिक उपभोग्य सामग्री बर्दिबासबाट सोझै दोलखाको लामाबगरसम्म पुग्न थालेका छन्।
यो करिडोर लामाबगर हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसम्म जोडिने क्रममा छ। अर्थात चीनदेखि भारतसम्म फैलिएको कारोबारमा जोडिन पुगेका छन्– रामेछाप, दोलखाका स्थानीय। नाम्लोसँग जोडिएको पेसाले उनीहरूलाई बेफुर्सदिलो बनाएको छ। साथ दिएको छ– हिउँदमा चुपचाप बग्ने र वर्षामा उर्लने सुनकोसी नदीले।
सुनकोसीमा निर्माणाधीन पुल बनिनसक्दै वारिपारि दुवैतर्फ छिमेकी मुलुकसमेत जोड्ने हैसियतको सडक विस्तार हुँदा रामेछाप र दोलखाका स्थानीयले धेरै अवसर पाएका छन्। उनीहरूबीच कुनै औपचारिक संगठन सतहमा देखिँदैन तर कसले भारी झिक्ने, कसरी पारी पुर्याथउने र कसले लोड गर्ने भन्नेमा आलोपालो गर्छन्। आलोपालको वृहत नीतिभित्र उनीहरू प्रतिस्पर्धा पनि गरिरहेका छन्।
जसले धेरै भारी बोक्छ, उसैको कमाइ बढी हुन्छ। त्यसैले उनीहरू काममा जोतिएका बेला बोल्न चाहँदैनन्। एक भरियाले भने, ‘कुरा गरेर समय खेर फाल्नु भनेको पैसा थोरै कमाउनु हो, हामी त भारीमै लाग्नुपर्छ।' 
रामेछाप भिरपानीकी अन्जु विकलाई दिनमा कति भारी वारिपारि गरिन्छ भन्ने हेक्का हुँदैन। उनले भनिन्, ‘काम सकेर राति पैसा गन्दा मात्रै कति भारी बोकिएछ भन्ने थाहा हुन्छ।' उनीहरूको भारी बोक्ने प्रतिस्पर्धा र हतारो अब लामो समय चल्ने देखिन्न।
भरियाको जस्तै हतारोमा सुनकोसीमा पक्की पुल बन्दैछ। एक भरिया भन्छन्, ‘पुल बनेपछि गाडी आफैं वारपार गर्छन्, हाम्रो काम हुँदैन।' पहिले काठमाडौं गएर इँटा पार्ने काम गरेको बताउँदै ती भरियाले थपे, ‘जता काम पाइन्छ, त्यतै नाम्लो बोकेर जाने हो।' 
तराईबाट सामान लिएर आएको गाडी खुर्कोट बजारमा रोकिएपछि नाम्लो भिरेका भरिया पंक्तिबद्ध हुन्छन्, भारी बोक्छन् र झोलुंगे पुल हुँदै रामेछापको सेलेघाटतर्फ लम्कन्छन्। अधिकांशले दुईवटा चालमका बोरा (३० किलोको प्याकेट) एकैपटक बोक्छन् भने सिमेन्ट (५० किलो) को एउटा बोरा। करिब ५ सय मिटर दुरीमा सामान यताउता लैजाँदा भरियाहरू सधैं हतारमा हुन्छन्।
सेलेघाटमा रित्ता गाडीमात्र हुँदैनन्, हातमा १०–२० को नोटका बिटा बोकेर व्यापारीहरु बसेका हुन्छन्। कसले, कति भारी ल्याएको छ, त्यसअनुसार उनीहरूलाई पैसा दिइन्छ। सिमेन्ट एक प्याकेटको ४० रुपैयाँ र चामल एक प्याकेटको ३० रुपैयाँ भाडा तोकिएको छ। भरियाले त्यहीअनुसार पैसा पाउँछन्।
उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष पशुपतिबहादुर खड्काका अनुसार भारी बोक्नेहरूको संख्या दैनिक हजार जनाजति हुन्छन् भने २० ट्रक चामल तराईबाट खुर्कोट हुँदै रामेछाप, दोलखा, ओखलढुंगाको माथिल्लो भागसम्म पुग्छ।

प्रकाशित: १९ वैशाख २०७१ २०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App