२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

स्वर संसारका जादुगर रहेनन्, जादु कायमै

सङ्गीत

सन् २०२६ को जाडो, काठमाडौं। एउटा दुःखद खबर, नेपालका प्रसिद्ध सञ्चारकर्मी माइकल चन्द बित्नुभयो। माइकल चन्द एक नाम मात्र होइन, सम्मानसाथ बोलाइने एउटा संस्था हो– भाषा, उच्चारण अनि अनुशासनको।  

रेडियो नेपालमा अङ्ग्रेजी भाषामा समाचार पढ्न आफ्नो नागरिकताको नाम त्यागेर हरिश चन्द भए उनी।  

रेडियो नेपालमा उनीभन्दा अगाडि अङ्ग्रेजी भाषामा  समाचार पढ्ने नारायण श्रेष्ठको इतिहासलाई उनले सदैव कायम राखे। नारायण श्रेष्ठ, शेखर मानन्धर, तुलसीनाथ ढुङ्गेल हुँदै पछि यो क्रमलाई सारा योन्जनसम्मले कायमै राखे।  

शेखर मानन्धरले हिन्दी कार्यक्रम पछि कृष्णा ताम्रकारलाई चलाउन सिकाए। हिन्दीबाहेक कृष्णा ताम्रकारले नेपालभाषा र नेपालीमा पनि कार्यक्रम चलाइन्।  

तुलसीनाथ ढुङ्गेल आफ्नो अनुसन्धान कर्मका सिलसिलामा पश्चिम नेपालतिर हराएपछि उनको ‘हमलोग’ जस्तो कार्यक्रम इतिहास बन्यो।

इतिहासमै लेखिने एउटा नाम बने– कृष्णा ताम्रकार। जो पछि नेपाली समाचारवाचनमा एक खम्बा नै बने। कृष्णा ताम्रकारसँगै रेडियो नेपालको माइक्रोफोनका अगाडि उद्घोषणमा किरण खरेल, हरि श्रेष्ठ, प्रचण्डमान सिंह, कल्याणी रिमाल, यादव खरेल, शान्ता श्रेष्ठ आदि त छँदै थिए, सँगसँगै मणि राणा, तीर्थ भण्डारी, कमल प्रधान, ध्रुव थापा हुँदै पछि दुर्गानाथ शर्मा पनि आए।

यो इतिहास बन्दै गर्दा रेडियो नेपालको आफ्नै इतिहास थियो। हुन त अहिले रेडियो नेपाल आफ्नै इतिहासको ऐतिह्यमा हराइसकेर पिबिएस बनिसकेको छ। रेडियो नेपाल आफैं इतिहासको पानामा थन्किसकेको छ, त्यहाँ माइकल चन्द अर्थात् हरिश चन्दको इतिहास खोज्न गाह्रै छ।

इतिहासको त्यो पानामा माइकल चन्द हरिश चन्द भएर रेडियोमा गुन्जिँदै गर्दा ईश्वरवल्लभ पनि किरण खरेलजस्तै गीतकारबाट सञ्चारकर्मी बनिसकेका थिए।

दार्जिलिङमा हुँदै ईश्वरवल्लभले लेखिसकेका थिए–

‘फुलाई फूल फुल न धरती

आकाश ओर्ली आउला’

पण्डित मुरलीधर भट्टराईका ज्येष्ठ पुत्र ईश्वरवल्लभ आमाको आत्महत्यापछि र त्यसपछि बनेका अनेक कथापछि विरक्तिएर रामहरि जोशीको मलङ्वाको घरमा गुरुबा बनेर पढाउँदै थिए। रामहरिकै भाइ ध्रुव जोशी सुत्ने मूल कोठा नै वल्लभको थियो। मलङ्वामै छँदा हनी जोशी, वीणा जोशी उनका शिष्य थिए। त्यसपछि वल्लभ हिँडे, दोर्जेलिङतिर। उतै बिहे गरे, उतै सेटल भए उनी। पछि उनलाई रेडियो नेपालले तान्यो नेपालमा। फर्के मदन पुरस्कार विजेता ईश्वरवल्लभ।

रेडियो नेपालमा उनी जस्तै श्यामदास वैष्णव, उनकै भाइ विश्ववल्लभ, धना लामा, निरोदराज पाण्डे, खगेन्द्र नेपाली, विन्दुध्वज अधिकारी सबै आइसकेका थिए तर त्यो भिडमा माइकल चन्द एउटा अर्कै नाम थियो र रह्यो पनि पछिसम्म।

माइकल चन्दको समाचारवाचनबाहेक देव आनन्द शैलीय जीवन पनि लोकप्रिय थियो– टाउकोमा ह्याट, वेभर ज्याकेट, टाइट जिन पाइन्ट अनि आँखामा गगल्स।

धेरै पटक भेट हुन्थ्यो, गणवहालस्थित गोयटे इन्स्टिच्युटमा। त्यहाँ उनी जर्मन भाषाका गुरु थिए। गुरु व्यक्तित्व गजबको थियो उनको, बोल्ने कम सुन्ने बढी। जर्मन भाषा पढ्न आउनेमाझ उनी लोकप्रिय थिए। त्यहीं भेट्थ्यौं म्यानफ्रायेड ट्रोय, रोल्फ, नेपाली साथीहरू गजेन्द्र, नूतन सिंह। गणबहालको त्यो भवनमा भुइँतल्लामा पुस्तकालय पनि थियो। अनि पाश्र्वभागमा एउटा थिएटर हल पनि थियो, जहाँ देखाइन्थ्यो जर्मन भाषाका सिनेमा।

त्यहीं हे¥यौं हामीले, फासविन्डर, वेर्नर हर्जोग, अलेक्जेन्डर क्लुगका सिनेमाहरू। त्यहींबाट चिन्थ्यौं, हाइनरिख ब्यौल, गुइन्टर ग्रास, हरमन हेस्से, बर्टोल्ट बे्रख्त, हरमन बारह आदि। मोत्सार्ट, विथोवन, बाख पनि त्यही दिनदेखि नै चिन्दै र सुन्दै आएका हौं। त्यही ठाउँमा एकदिन अग्रज पत्रकार मित्र शिव अधिकारीले चिनाइदिएका थिए, माइकल चन्दलाई।

द ग्रेट माइकल चन्द।

समय र संवत् बदलिँदै गयो। त्यसैगरी माइकल चन्दसित नाता पनि बदलिँदै गयो। उनलाई मैले माइकल सरबाट  भेनाज्यू भन्न थालेँ।उनी नेपाली सिनेमाका फस्र्ट लेडी अर्थात् आमा सिनेमाकी नायिका भुवन थापाका पति भनेर चिनेपछि झन् धेरै गर्व लाग्यो।  

अब इतिहास अर्को पाटोमा मोडियो। माइकल भेनाज्यू हाम्रा प्रिय कलाकार, नाटक लेखक एवं अभिनेता महेश थापाका पनि भेनाज्यू, डबल भेनाज्यू।

सम्बन्धको इतिहासमा हामी कहिले नजिक कहिले टाढा त छँदै थियौं तर जर्मन भाषा र सम्बन्ध, अंग्रेजी गीत र इतिहास अनि समयसँगै आयो ‘रक एन्ड रोल’। ‘रक एन्ड रोल’का ख्यातनामा व्यक्ति थिए - माइकल चन्द।

उनैले रेडियो अनि स्टेजमा नेपाल र नेपालीलाई ‘रक एन्ड रोल’ चिनाए।

माइकल सबैका प्रिय भए, डियर माइकल।

एक दिन तिनै माइकलले नेपालको रङ्गमञ्चमा अर्का एक होनहार गायकलाई चिनाए– आइ एम माइकल हि इज माइक, माइक खड्का।

काठमाडौं उपत्यकाको ललितपुरको पुलचोकस्थित रातो घरमा जन्मेका मुकुन्दकुमार खड्का नेपालका पहिलो रक गायक भनेर चिनिए, इतिहासको यो धरामा। त्यो चिनाउने श्रेय जान्छ, डियर माइकललाई।

माइकल चन्द बितेको जनबरीमै जन्मेका थिए माइक खड्का, जो नेपालमा सर्वथा परिचित नाम हो। जब नेपालमा बाउन्न सालपछि एफएमको आगमन सुरु भयो, माइकको बुलन्द आवाज रेडियोमा गुन्जियो स्टेसन आइडी बनेर, क्लासिक एफएम हन्ड्रेड वन प्वाइन्ट वन।  

एफएमको आगमनपछि नेपालका पहिलो रक सिंगर माइक खड्का रेडियो एङ्कर अनि मिडिया गुरुका रूपमा चर्चामा आए। उनको घना आवाज सबैलाई मन प¥यो, उनी मञ्चमा पनि छाउन थाले।

उनलाई कसैकसैले नेपालको एल्भिस प्रेस्ले पनि भन्थे। उनी थिए नै त्यस्तै। एल्भिस प्रेस्लेका फ्यान। राजा महेन्द्र र रानी रत्न एल्भिसलाई भेट्न जाँदाको फोटो उनले सुरक्षित राखेका थिए।

नेपालका एल्भिस जसलाई माइकल चन्दले नयाँ नाम दिए, माइक। साँच्चै नै माइक्रोफोनका प्रिय साथी। माइकले वीरगन्जका प्रसिद्ध गायक मधु क्षेत्रीकी बहिनी रत्नासँग विवाह गरे, एक छोरा राजीवको जन्मपछि पनि माइक गायनमा सक्रिय नै थिए। अचानक क्यान्सरको प्रताडनाले उनलाई करिब तीन वर्षअघि हामीबाट हरेर लग्यो। अब उनी छैनन्, जसरी माइकल चन्द छैनन्।

माइकको सम्झनामा एक साँझ उनका सार्थीहरू देव राणा, पेम्बा लेप्चा, समाज श्रेष्ठ, सुवर्ण लिम्बू, कपिल लोहनी, एन्जिला सिंह आदिले जिजी मचानमा एक साङ्गीतिक कार्यक्रम गरे, मिसिङ माइ फ्रेन्ड भन्ने गीत गाए।

नेपालको पहिलो रक सिङ्गर माइकलाई चिनाउने माइकलले पनि यसै साल त्यही महिना बिदा लिए, महानगरको एउटा अस्पतालमा।

माइकल चन्दलाई दुई दिनपछि पशुपतिको आर्यघाटमा उनका छोरीहरूको उपस्थितिमा भावलीन बिदा गरियो। त्यही घाटको पारिपट्टि तीन वर्षअघि माइकलाई बिदा गरिएको थियो, सुवर्ण लिम्बू, रघु शाह, प्रा. डा. सनतकुमार, शैलेश सिंह, ज्योति घिमिरे, रोजी श्रेष्ठ, एन्जेला सिंह, कपिल लोहनीको उपस्थितिमा।

माइक खड्का अङ्ग्रेजी गीत गाउँथे तर नेपाली गीतका अपार फ्यान थिए , विशेषतः नारायणगोपालका। नारायणगोपाललाई उनी नेपालका दश राम्रा गायकमा एकदेखि दशसम्म नारायणगोपाल मात्र छन् भन्थे। उनको कुरामा विवाद पनि हुन्थ्यो। उनी कहिलेकाहिँ अपार प्रेमले यति पनि भन्थे - दक्षिण एसियामा तीन उत्कृष्ट गायक छन्, एमएमएन अर्थात् मोहम्मद रफी, मेंहदी हसन, नारायणगोपाल। यी तीनको तुलना उनी कोहीसित गर्न मन पराउँदैनथे।

माइक खड्काको सम्झनामा भएको साङ्गीतिक कार्यक्रममा पंक्तिकारले उनका बारेमा बोल्नुपरेको थियो। तर उनका एक घनिष्ठ मित्र नाटक लेखक एवं गायक रघु शाह भन्छन्, ‘म र माइक घनिष्ठ मित्र हौं। हामी दुवैको कुनै क्यारेक्टर मिल्दैन। म सेतो मात्र लुगा लगाउँछु, उहाँ कालो मात्र लुगा लगाउनुहुन्छ। म हरेक किसिमको गाडी चढ्छु, बनाउँछु, चलाउँछु। उहाँलाई गाडीमा कुनै सोख छैन। उहाँ घरबाहिर केही खानुहुन्न, म हरेक होटल चहार्दै खाना खान्छु तर हाम्रो केही कुरा नमिले पनि एउटै मात्र कुरा मिल्छ, त्यो हो म्युजिक।’

रघु शाह अहिले अस्वस्थ छन् तर हरेक दिन माइकलाई सम्झन्छन्। माइक ६९ वर्षको उमेरमा गए, सानो रोग ठुलो असर।

माइक खड्काका ज्वाइँ प्रसिद्ध रेडियो समाचारवाचक गोपाल बस्नेत भन्छन् - दाइले केही नखाइदिने। खुवाउन साह्रै गाह्रो।

माइक गएपछि उनका साथीहरूको समूहमा एउटा शून्यता कायमै छ, त्यो शून्यता अझै थपेर गए माइकल चन्दले।

माइकल चन्द र माइक खड्का दुवैको प्रिय चिज माइक्रोफोन त हो नै। त्यसबाहेक विशुद्ध राम्रो अङ्ग्रेजी उनीहरूको सम्पत्ति हो तर त्योभन्दा पनि यी दुईको मिल्ने र मनपर्ने विषय हो– बलिउड स्टार देव आनन्द।

देव आनन्दको निधन भएपछि भारतीय राजदूतावासले रुसी सांस्कृतिक केन्द्रमा आयोजना गरेको स्मृति कार्यक्रममा माइकल चन्द देव आनन्दको गेट अपमा मञ्चस्थ भएका थिए भने माइक खड्का दर्शकका रूपमा टिप्पणीकर्तामा थिए। माइक सार्वजनिक जीवनमा सधैं देव आनन्द शैलीको गेटअममै हुन्थे।

अहिले पनि एफएमको क्लासिक ब्यान्डमा उनी गुन्जिन्छन् - ‘हन्ड्रेड वन प्वाइन्ड वन’।

आवाज नै जीवनको साक्षी रहेछ, कवि फिल्मकार गुलजारले भनेजस्तै - मेरी आवाज ही मेरी पहचान है, गर याद रहे।  

प्रकाशित: ३ माघ २०८२ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App