२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘होर्मुज स्ट्रेट’ पार गर्दै एलपीजी बोकेको जहाज भारत आइपुग्यो

अमेरिका–इजरायल र इरानबीच जारी युद्धका बीच होर्मुज स्ट्रेटबाट ग्यास बोकेर आएको भारतीय जहाज गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको छ।

सोमबार भारतीय समयअनुसार साँझ ५ बजे कतारबाट शिवालिक एलपीजी वाहक जहाज आइपुगेको हो। जहाज मार्च १४ मा होर्मुजको स्ट्रेट पार गर्दै भारततर्फ लागेको थियो।  

मध्यपूर्वमा जारी द्वन्द्वको बीच भारत पुग्ने यो पहिलो एलपीजी जहाज हो। शिवालिकले लगभग ४६ हजार मेट्रिक टन एलपीजी बोकेको छ। यो लगभग ३२ लाख ४० हजार घरेलु ग्यास सिलिन्डर बराबर हो।

भारतको ढुवानी मन्त्रालयका अनुसार मंगलबार थप दुई जहाज भारत आइपुग्दैछन्। नन्दा देवीले लगभग ४६ हजार टन एलपीजी र जग लड्कीले लगभग ८१ हजार टन कच्चा तेल बोकेको जनाइएको छ।

उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने इरान मुद्दामा सहयोग नगर्नेको भविष्य अन्धकार हुने बताएका छन्।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले यदि सहयोगीहरूले हर्मुजको स्ट्रेटमा सहयोग गरेनन् भने गठबन्धनको स्थिति कमजोर हुन सक्ने बताएका थिए।

उनले भनेका थिए, ‘अमेरिकाले युक्रेनलाई हजारौं माइल टाढा भए पनि सहयोग गर्‍यो, र अब यो हेर्न बाँकी छ, अरु सहयोगीहरूले अमेरिकालाई मद्दत गर्छन् कि गर्दैनन्।’

यसैबीच, जर्मनीले इरानसँग सम्बन्धित कुनै पनि युद्ध वा सैन्य बल प्रयोग गरेर हर्मुजको स्ट्रेट खुला राख्ने कुनै पनि अभियानमा भाग नलिने स्पष्ट पारेको छ।

ग्रीक सरकारका प्रवक्ता पावलोस मारिनाकिसले पनि आफ्नो देश हर्मुजको मार्गमा कुनै पनि सैन्य कारबाहीमा संलग्न नहुने बताएका छन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि आफ्नो देश मध्य पूर्वको व्यापक युद्धमा भाग नलिने बताइसकेका छन्।

-एजेन्सीको सहयोगमा

प्रकाशित: २ चैत्र २०८२ १८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App