मनाङ नभइदिएको भए अन्नपूर्ण पदमार्गमा यात्रा गर्न कोही किन आउँथ्यो होला र? यो ठाउँको विचित्रताले यस्तै प्रश्न सोध्न लगाउँछ। कुम जोडेर बसेको छिमेकी मुस्ताङसँगै हातेमालो गर्दै मनाङको सौन्दर्यले बर्सेनि हजारौं पर्यटकलाई लोभ्याइरहेको छ।
मनाङका विशेषता अनेक छन्। मन्दमन्द बतासले हरेक पर्यटकलाई मिठो चुम्बन गरिदिन्छ। फुसफुसी उडिरहने हिउँ अँगालो मार्न आउँछ। भीर, पहरा, ताल, झरना र कलकल बग्ने खोलाको सुसेलीले हरबखत डाकिरहन्छ।
यस्तैयस्तै विशेषता भएर होला– स्थानीय भाषामा सिङखम साक्षा मनाङ अर्थात स्वर्गसरी मनाङ भनिन्छ।
खेतीपाती खासै नहुने यो जिल्लामा चम्केको व्यवसाय नै पर्यटन हो। 'साहसिक पदमार्ग परेकै कारण यहाँ बर्सेनि धेरै पर्यटक आउँछन्। तिनै पर्यटकलाई सेवा दिएर आम्दानी गर्न सकिएको छ,' पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्छन्।
‘अन्नपूर्ण फेरो’ पदमार्गको अधिकांश भाग मनाङमा पर्छ। लमजुङको बेसीसहरबाट सुरु हुने बाटोमा सबभन्दा रोमाञ्चक यात्राको बिन्दु हो– थोराङ्ला भन्ज्याङ। ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ्ला मनाङको अन्तिम सीमा पनि हो। बेसीसहरदेखि थोराङ्ला पुग्न कम्तीमा एक साता लाग्छ। अहिले भने सदरमुकाम चामेसम्म मोटरबाटो पुगेको छ। केही वर्षअघिसम्म यो दुरी पार गर्न विदेशीले दुई साताभन्दा बढी समय खर्चन्थे।
सन् २०१३ मा मात्र करिब २१ हजार विदेशी पर्यटकले थोराङ्ला भन्ज्याङ पार गरेका थिए। २०१२ को तुलनामा २०१३ मा करिब १५ सय बढी पर्यटकले यो नाका पार गरेको व्यवसायी बताउँछन्। पाँच हजार मिटरको तिलिचो ताल, ४ हजार ६ सय मिटरको आइसलेक, ४ हजार मिटरको मिलेरेपा गुफा पनि यहाँका परिचित क्षेत्र हुन्। जसले पर्यटकलाई आकर्षित गरिरहेका छन्। तीबाहेक अन्य धार्मिक र ऐतिहासिकस्थल पनि मनाङमा प्रशस्तै छन्।
घले राजाको दरबार, स्यागु गुम्बा, गंगापूर्ण, केचो, छोकर्ण ताल पनि परिचित क्षेत्र हुन्। ३ हजार ८ सय मिटरको फू र ४ हजार १ सय मिटरको नार गाउँ पर्यटकीय क्षेत्र हुन्। लार्के भन्ज्याङसहित काङला नमो, मनाङ, भ्राका, टसीलाकाङ, थोचे, तारे गुम्बा पनि यही जिल्लामा पर्छन्। वि.सं. २०२० को दशकमा तिब्बतका खम्पा विद्रोहीले नार र फू गाउँमा आश्रय लिएका थिए। तिनले छाडेर गए पनि उनीहरुका अवशेष भने पर्यटकका लागि बाँकी नै छन्।
अति दुर्गम जिल्ला अर्थात 'क' वर्गमा पर्छ मनाङ। यसको क्षेत्रफल २ हजार २ सय ४६ वर्ग किमि छ। पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ। अग्ला भिराला पहाड र उच्च हिमशृंखला, पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पनि उत्तिकै परिचित छन्।
मनाङपछि अन्नपूर्ण फेरोको आकर्षक पर्यटकीय गन्तव्य मुस्ताङ हो। मुस्ताङको बखान सुन्दा जति रोमाञ्चक लाग्छ, त्यहाँ पुगेर प्रत्यक्ष अवलोकन गर्न पाउँदाको आनन्द झनै बेग्लै छ। त्यसैले त बर्सेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटक छोटो अवधिका लागि भए पनि मुस्ताङ जान रुचाउँछन्।
भौगोलिक दृष्टिले मुस्ताङ जति दुर्गम भए पनि प्राकृतिक सुन्दरताको आकर्षणले सुगम बन्दै गएको छ। हवाई र स्थल यातायातको पहुँचमा पुगिसकेको मुस्ताङ प्राकृतिकसहित कृषि र धार्मिक पर्यटनका लागि पनि चर्चित छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रको मुस्ताङमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर, अन्नपूर्ण सर्किटको पदमार्गसहित अर्धनिषेधित क्षेत्र (सेमी रेस्ट्रिक्टेट एरिया) को रूपमा उपल्लो मुस्ताङ क्षेत्र पर्छन्। यो स्याउ उत्पादनको मुख्य थलो पनि हो।
एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेल सुन्दरताले नै मुस्ताङको पहिचान बदलिदिएको बताउँछन्। 'मुस्ताङको ९७ प्रतिशत भू–भाग जमिन हो। तीन प्रतिशतमात्र वनले ढाकेको छ। त्यसैले पनि मरुभूमिको झल्को मेटाउने जिल्लाको रुपमा परिचिति छ,' उनले भने, 'यसले पर्यटकलाई आकर्षित गरिरहेको छ।' कुइकेलका अनुसार मुस्ताङ जाने पर्यटक गुफा, गुम्बा, धरातलीय 'ल्यान्डस्केप' हेर्न पाउँदा निकै रमाउँछन्।
समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा पर्ने उपल्लो मुस्ताङको ल्यान्डस्केपले त्यहाँ पुगेका पर्यटकको मन लोभ्याउँछ। मुस्ताङमा मात्र वार्षिक करिब ३५ हजार विदेशी पर्यटक पुग्छन्। सेमी रेस्ट्रिक्टेड एरियामा जाने पर्यटकले साताको ५ सय अमेरिकी डलर तिर्नुपर्छ। साताभन्दा बढी समय बिताउनेले थप दस्तुर तिर्नुपर्छ। यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटक प्रवेशका लागि खुल्ला गरिएको थियो।
पर्यटकीय दृष्टिले सुन्दर हुुँदाहुँदै पनि मोटरबाटो पुगेसँगै मुस्ताङको पर्यटनमा धक्का पुगेको छ। पर्यटक हिँड्ने पदमार्गमा मोटरबाटो खनेर गाडी कुदाउन थालिएपछि पदयात्रा प्रभावित भएको हो। कच्ची बाटोमा गाडी कुद्न थालेपछि पर्यटकले धुलो र धुवाँको सामना गर्नुपरेको कुइँकेलले बताए। 'मोटरबाटो विकास त भयो तर त्यही बाटो यहाँका लागि अफापसिद्ध बन्दै गएको छ, धुलो र धुवाँका कारण पर्यटक घट्न थाले,' उनले भने, 'विकासले विनाश पनि निम्त्याएको छ।' पर्यटक घट्न थालेपछि एक्यापले नयाँ टे्रकिङ रुट निर्माणको पहल गरिरहेको उनले बताए।
'मोटरबाटोका कारण पदयात्रामा आउने पर्यटक घट्न थालेका छन्। त्यसबाहेक उडान कम हुने र दुई वर्षसम्म लगातारजसो भएका हवाई दुर्घटनाले पनि आगमनमा केही कमी भएकै हो,' उनले भने, 'यसपटक फेरि सिन्डिकेट अवरोध देखिएको छ। सिन्डिकेटले पनि पर्यटक खुसी छैनन्। लगातार गाडी फेर्नुपर्ने समस्या छ।' उनले वैकल्पिक पदमार्ग बनाएर पर्यटक भित्र्याउन सक्ने हो भने मुस्ताङले पर्यटन क्षेत्रबाटै राम्रो गर्नसक्ने उनी बताउँछन्।
पर्यटनले गर्दा नै मुस्ताङको पहिचान बदलिएको उद्योग बाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन्। 'पर्यटनले गर्दा केही राम्रो देखिएको छ, सहज तरिकाले पर्यटकलाई आउजाउको सुविधा मिलाउन सक्ने हो भने अझै आशा गर्न सकिन्छ,' उनले भने, 'सरकारले कम दृष्टि दिए पनि यो अवस्थामा जिल्लाले पर्यटनबाटै प्रगति गर्न सकेको हो।'
गोरखाका दुर्गम गाविसभित्र पर्ने मनास्लु क्षेत्र अन्नपूर्णपछिको दोस्रो ट्रेकिङ रुट हो। पदमार्गका लागि विश्वमै प्रख्यात मनास्लु क्षेत्रमा बर्सेनि पर्यटक संख्या बढ्दै गएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। अघिल्लो वर्षको तुलनामा फेब्रुअरी र मार्चमा मनास्लु क्षेत्र जाने पर्यटक बढेका छन्। जनवरीदेखि मेसम्म र सेप्टेम्बरदेखि नोभेम्बरसम्म मनास्लु क्षेत्रमा पर्यटक संख्या बढी हुन्छ। फेबु्रअरीमा ८६ विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरे भने मार्चमा ५ सय ९ जनाले यो पदमार्ग प्रयोग गरेको एमक्यापका गोरखा प्रमुख राजकुमार गुरुङले बताए। 'अघिल्लो वर्षभन्दा दुवै महिनामा पर्यटक बढेका छन्, अप्रिलमा अझै बढ्ने देखिन्छ,' उनले भने, 'अघिल्लो वर्षको सिजन सुरु हुँदा ३२ पर्यटक मनास्लु क्षेत्र पुगिसके।' पर्यटकका लागि बस्ने–खाने सुविधा र पैदलमार्गको स्तरोन्नति गरिएकाले पर्यटक बढेका हुन्।
मनास्लु पदमार्गमा पर्यटन प्रर्वद्धन गर्न सक्ने हो भने पूरै गोरखा जिल्लालाई फाइदा पुग्ने धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ बताउँछन्। मनास्लु पदमार्ग पर्यटकका लागि निकै लोकप्रिय मानिन्छ। बर्सेनि पाँच हजारभन्दा बढी विदेशी मनास्लु पदयात्रामा सहभागी हुन्छन्। गुरुङ भन्छन्, 'हामी दुर्गम गाविसका गाउँ भने वास्ता गदैनौँ, विदेशी पर्यटक पदमार्गमा आउने भनेको यहाँको दुर्गम गाउँ, डाँडाकाँडा र हिमाल हेर्न हो।' विदेशीको रुचिअनुसार सेवा–सुविधा, होटल र गाइड व्यवस्था गर्न सके पदमार्गबाट धेरै फाइदा हुने उनी बताउँछन्।
आन्तरिक र बाह्य पर्यटकको चाप बढ्न थालेपछि मनास्लु पदमार्गमा होटल खुलेका छन्। व्यापार व्यवसायमा स्थानीय तानिएका छन्। नेपाली भाषाको अक्षर प्रष्ट बोल्न नसक्नेहरु पर्यटकसँग अंग्रेजीमा कुरा गर्नसक्ने बनेका छन्। खच्चडबाट ढुवानी गराएर भए पनि होटल शैलीका घर बन्न थालेका छन्। स्थानीयले रोजगारी पाएका छन्।
उत्तरी सात गाविसमा पर्ने मनास्लुलाई पोखराको अन्नपूर्णपछिको पदमार्गका रुपमा लिइन्छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाले सार्कभित्रका पर्यटकसँग दुई सय र बाहिरकासँग दुई हजार शुल्क लिने गर्छ। आयोजना प्रमुख गुरुङ भन्छन्, 'व्यक्तिगतभन्दा पनि ग्रुपमा टे्रकिङ आउने ठाउँको रुपमा मनास्लु पदमार्ग चिनिन्छन्।' सबै पर्यटक ग्रुपमा जान्छन्, उनीहरूलाई सिर्दीवासको जगत र सामागाउँमा चेकजाँच र प्रवेश गराइन्छ। बिनाटिकट उनीहरु मनास्लु क्षेत्र प्रवेश गर्न पाउँदैनन्। फ्रान्स, जर्मनी, अमेरिका र स्विट्जरल्यान्डका पर्यटक धेरै आउने गरेको तथ्यांकले देखाएको छ।
गोरखाका दुर्गम गाविस चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका छन्। सरकारले गोरखाका मान्बु, केरौंजा, कासीगाउँ, उहिया, लाप्राक, लापु, गुम्दा, छेकम्पार, सिर्दीबास, सामागाउँ, चुम्चेत, ल्हो, बिही, प्रोक गाविसलाई दुर्गमक्षेत्र मानेको छ। मनास्लु पदमार्गमा जाने पर्यटकले अति विपन्न यिनै गाविसका विविध पक्षको प्रत्यक्ष अनुभव गर्न पाउँछन्।
गोरखकाली मन्दिर, गोरखनाथ गुफा, हिमाल, कोट, मन्दिर, गोरखा संग्रहालय, पुस्करतीर्थजस्ता धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल यहाँ धेरै छन्। यसको प्रचार–प्रसार र नयाँपन दिन नसक्दा सोचेजति पर्यटक नआएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख नानीबाबु पोखरेल बताउँछन्।
प्रकाशित: ११ वैशाख २०७१ ०२:०२ बिहीबार





