अहिले पर्यटकीय गन्तव्यको पर्याय नै बनेको यो ठाउँको सम्भावना सय वर्षअघि नै विदेशी आँखाले देखिसकेको थियो। तर, राणा शासनभर काठमाडौंबाहिर कुनै परदेशीले पाइला राख्ने अनुमति पाउन सक्दैनथ्यो। सन् १८९९ मा काठमाडौंबाट लुकीछिपी पोखरा, मुस्ताङ हुँदै तिब्बत पुगेका जापानी भिक्षु ईकाइ कावागुचीले आफ्नो डायरीमा पोखराको सौन्दर्यको बखानमा धेरै पाना खर्चेका थिए। नेपालभर घुम्न अनुमति पाएका पहिलो विदेशी टोनी हेगनको कलमको धेरै मसी पनि पोखराको सौन्दर्यमा खर्च भएपछि यो ठाउँ धेरैको चासोमा पर्न थालेको थियो। २००७ सालमा राणा शासन ढलेपछि पारखीहरूले पोखराको सौन्दर्य देख्न पाए र यो ठाउँले बाहिरी दुनियाँसँग साक्षात्कार गर्न पायो।
प्रजातन्त्र स्थापनापछि बाहिरी दुनियाँसँग साक्षात्कार गर्न पाए पनि राजनीतिक फाइदा पोखराले कहिल्यै पाएन। आजसम्म यो ठाउँबाट राजनीतिक उच्च ओहोदामा पुगेका व्यक्ति गन्न दुई औंला नै काफी हुन्छन्। मुलुकको ६० वर्षे आधुनिक इतिहासमा कास्कीबाट अहिलेसम्म जम्मा दुईजनामात्रै मन्त्री बनेका छन्। राजनीतिक सत्ताको पछि लाग्न नसके पनि पोखराले विकासमा भने अनौठो फड्को मारेको छ जुन, २०१६ सालमा आफूसँगै स्थापित नगरपालिका राजविराज र वीरगन्जको भन्दामात्रै होइन शताब्दी पुरानो सहर विराटनगरको भन्दा पनि अब्बल छ।
सरकार मातहतको निकाय केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा कम गरिब भएको नगरपालिका हो पोखरा। ‘पोखरामा गरिबीको रेखामुनिको जनसंख्या १ प्रतिशतभन्दा कम छ,’ तथ्यांक कार्यालय कास्कीका प्रमुख जग्गुप्रसाद बस्यालले बताए। त्यसैगरी जिल्लाका हिसाबले समृद्धिमा सर्वाेत्कृष्ट बनेको छ कास्की। लेखनाथ नगरपालिका धनी नगरपालिकाको सूचीमा पाँचौं स्थानमा छ। सरकारले २०६८ मा गरेको जीवनस्तर सर्भेक्षणले कास्कीलाई अब्बल देखाएको हो।
धनी हुनुको अर्थ के हो? पैसाको कसीमा घोटेरमात्रै धनी भनिएको होइन। यहाँका बासिन्दाको पढाइलेखाइ कति छ भनेर पनि त्यो कसीले घोट्छ। जिल्ला शिक्षा कार्यालय प्रमुख डिल्लीराम लुइँटेलका अनुसार कास्कीका ३ प्रतिशत बालबालिकामात्रै स्कुलबाहिर छन्। साक्षरता प्रतिशत ८२ छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश अधिकारीका अनुसार कास्केलीको औसत आयु ७० वर्षभन्दा माथि छ। राम्रो आम्दानी भए त्यसैअनुसार खर्च हुने भइहाल्यो। कास्केली पनि आम्दानीमा अगाडि छन्। प्रतिव्यक्ति आम्दानी ३ सय १३ अमेरिकी डलर छ।
पोखरामा २०१० सालसम्म लगभग १० हजार जनसंख्या थियो भन्छन् बुढापाका। अहिले भने ३ लाख हाराहारीमा छ। जिल्लाभरको भने पुगनपुग ५ लाख छ। पचास वर्षअघिसम्म काँस र बयरघारीले भरिएको पोखरामा कास्कीकै विभिन्न गाउँ र वरपरका जिल्लाबाट बसाइ सर्ने क्रम तीव्र भएपछि विकासले पनि गति लिन थालेको हो। २० देखि ३० को दशकभित्र सिद्धार्थ राजमार्गले भारतीय सीमासम्म र पृथ्वीराजमार्गले राजधानी काठमाडौंसँग सम्बन्ध जोडेपछि पोखरा बजार बन्न थाल्यो। तिनै बाटो हुँदै गुड्ने मोटरबाट यहाँ थुप्रै वस्तु र संस्कृति भित्रिए।
२०१४ सालमै रानीको नाममा रत्नमन्दिर दरबार निर्माण गरेर राजा महेन्द्रले पोखरालाई पर्यटकीय गन्तव्य बनाउने सपना बुनिसकेका थिए। उनकै चाहना र आर्थिक लोभमोहमा महेन्द्रका भाइले पोखराको पहिलो होटल फिस्टेल लज खोलेका थिए। पर्यटनले परदेशीसँग मात्रै नभई तिनका ज्ञान, सिपसँगै संस्कृति र सभ्यता पनि भिœयाउँदा तिनको मनग्ये फाइदा यो ठाउँले उठाएको छ। मूलतः बसाइसराइँबाट आएकाहरूका कारण पोखरा व्यवस्थित र विकसित बन्न सकेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी।
‘अमेरिका र अस्ट्रेलियाजस्तै पोखरा पनि बसाइ सरेकाहरूले बनाएका हुन्,’ उनी भन्छन्। मानवीय जीवनका लागि अत्यन्तै अनुकूल मौसम भएकाले यहाँका बासिन्दामा आक्रोश, आवेगभन्दा बढी सकारात्मक सोच रहेको ठान्छन् मुल्मी।
प्राकृतिक सौन्दर्यले विश्वभरका मान्छेलाई आफूसम्म तानेर ल्याएकाले पोखरा समृद्ध बन्न सकेको बताउँछन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ। सन् १९५० मै फ्रान्सका मोरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेको पोखरालाई प्रचारमा ल्याउनाले पर्यटकीय गन्तव्य बन्न योगदान पुर्यामएको उनको ठम्याइ छ। मनग्ये कमाइ गर्ने लाहुरेले पनि व्यवस्थित बसोबासका लागि पोखरालाई रोज्दा यहाँको आर्थिक गतिविधि उकासिएको भन्ने मतसँग तीर्थ सहमत छन्।
राष्ट्र बैंक पोखरा कार्यालयका अनुसार यहाँ डेढ सय बैंक तथा वितीय संस्थाले मात्रै महिनाको झन्डै १० अर्ब रेमिटेन्स भिœयाउँछन्। कास्कीबाट ५७ हजारजना वैदेशिक रोजगारमा गएका छन्।
पोखरामा कति धेरै आर्थिक गतिविधि हुन्छन् भन्ने यहाँका बैंक तथा वित्तीय संस्थाको संख्याले नै बताउँछ। ३२ मध्ये ३० वटा वाणिज्य बैंकले यहाँ शाखा खोलेका छन्।
कास्कीका एक लाख २५ हजार घरधुरीमध्ये ७६ हजार परिवार एलपी ग्यास प्रयोग गरेर खाना पकाउँछन्। यसले उनीहरूको आर्थिक हैसियत दर्शाउँछ। एक लाख २० हजार घरमा बिजुली सुविधा छ। एक लाख १५ हजार आठ सय २२ परिवारले पाइपमार्फत् धाराको पानी उपभोग गर्दै आएका छन्। जिल्लाभर एक हजार पाँच सय किलोमिटर सडक छ।
पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष हरि गैरेका अनुसार संघमा आवद्ध २४४ वटा होटलले पर्यटकको सत्कार गर्छन्। रेस्टुरेन्टको संख्या ७२ छ। पोखरामा आउने पर्यटक वर्षेनी ३ लाख छन्। एक दिनमा १० हजार पाहुनालाई खानेबस्ने व्यवस्था गर्न यहाँका होटल रेस्टुरेन्ट पर्याप्त छन्। मुल्मीका अनुसार पोखराको भविष्य पनि पर्यटन लगायत सेवामूलक उद्योगमा छ। ठूला उद्योग स्थापना गरेर प्रदूषण बढाउन पोखरेली चाहन्नन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने विकासमा पोखराले अझै फड्को मार्छ। अन्तर्राष्ट्रिय हवाई रुटमा राम्रो ट्रान्जिट बन्छ र थप प्रचारित हुन्छ। पोखराले पछि फर्कनुपर्दैन।’
प्रकाशित: ११ वैशाख २०७१ ०१:१८ बिहीबार





