८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

'डीआईडी' डान्सर नेपाल आउने

विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। भारतीय टेलिभिजन च्यानल जीटीभीको चर्चित रियालिटी शो डिआईडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षत्री, नरेशवीर सिंह र सुनील क्षत्री चैत २५ गते राजधानीस्थित सानोगौचरनमा नृत्य प्रस्तुत गर्नेछन्। 'लेट्स डान्स' नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ। 
संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजनले उनीहरुलाई नेपाली मञ्चमा उतार्न लागेको हो। सौम्या भारतीय टीभीकै चर्चित रियालिटी शो 'बुगीवुगी लिटिल चाम्स'को फस्ट रनरअप बनेकी थिइन्। त्यसैगरी उनले डिआईडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन्। अर्का बाल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआईडी लिटिल चाम्सको फर्स्टरनरअप भएका थिए। उनको भर्सटायल नृत्यको बलिउडका टप सेलिब्रिटीले पनि तारिफ गरेका थिए। त्यसैगरी यस पटक नेपालमा धुम मच्चाउने तयारीमा रहेका प्रदीप गुरुङ डिआईडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन्। उनी उक्त शोमा 'टेरेन्सकी टोली' अर्न्तगत थिए। डान्स प्रशिक्षक टेरेन्स लिविसका फेभरेट डान्सर पनि थिए। उनी डिआईडी सिजन–३ मा फर्स्ट रनरअप भएका थिए। त्यसैगरी इन्डियाका ठूलो रियालिटी शोमा देखिएका नेपाली हुन् सुनील क्षत्री। उनले पनि डिआईडी सिजन ४ मा राम्रो चर्चा कमाएका थिए। त्यसैगरी डिआईडी सिजन २ मा नेपालको सुर्खेतका नरेशवीर सिंहले धमाका मच्चाएका थिए। रेम्बोको रंगिला अर्न्तगत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए। 
नेपालीभाषी कलाकारलाई नेपाली भूमिमा प्रत्यक्ष देखाउन कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येका एक राजेन्द्र सेढाइले बताए। कार्यक्रममा निर्वाण एन्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्रयु र हिपहप ह्यान्ड टू ह्यान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर बिसी, पार्वती राई, विजय थापाका साथै चर्चित हास्यकलाकारको पनि प्रस्तुति रहने बताइएको छ। कार्यक्रमको टिकट द स्टाइल काठमाडौँ मल र हिमालयन जाभाका शाखाहरुमा पाइने बताइएको छ। टिकट मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: २० चैत्र २०७० ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App