फुटबल र क्रिकेटपछि नेपालमा अन्य खेलकुद गतिविधि हुन थालेको पनि ६०–७० वर्ष भइसक्यो। यसअवधिमा यहाँ थुप्रै खेल भित्रिसकेका छन्। ब्याडमिन्टन, टेबलटेनिस, एथलेटिक्स, हकी, शारीरिक सुगठन पनि नेपाल भित्रिएका पुराना खेलमा पर्दछन्। यी खेलहरू २००७ सालअघि खेलिन्थेे। तर, राणा र शाह खानदानभन्दा बाहिर आएको थिएन। प्रजातन्त्र प्राप्तिपछि मात्र ती खेलहरू आम जनमानसबीच खेलिँदै आएको पाइन्छ। २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद् गठन भएपछि मात्र नेपालमा खेलकुदले संस्थागत रुप लिन थालेको हो। २०३० सालयता भलिबल, जिम्न्याष्टिक, बुद्धिचाल, कबड्डी, मार्सल आर्टस (तेक्वान्दो, जुडो, कराते, उसु), गल्फ, सुटिङ, टेनिस, बक्सिङ, भारोत्तोलन, कुस्ती, बास्केटबललगायतका खेल बढी खेलिनेमा पर्दछ।
झन्डै १०० वर्षे नेपाली खेलकुदको सेरोफेरोमा अहिले सयभन्दा बढि खेल संघले खेलकुद परिषद्मा दर्ता पाएको छ। त्यसमा आधाभन्दा बढी मार्सल आर्टस नै पर्छ। यसै पृष्ठभूमिबाट नेपालमा लोकप्रियता हासिल गरेका खेल के के छन् त?
संसारभर खेलिने र लोकप्रिय रहेका कारण फुटबल नेपालमा पनि त्यत्तिकै लोकप्रिय छ। १९९० सालमै क्लबस्तरको प्रतियोगिता, २००४ सालबाटै त्रिभुवन च्यालेन्ज सिल्ड, २०११ सालदेखि सहिद स्मारक लिग हुनुले पनि सुरुआतमै फुटबलको उपस्थिति मजबुत बन्यो। सुरुआती कालखण्डबाटै फुटबलले संस्थागत आकार पायो। त्यो अनुरुप अन्य खेलले भने गति लिन सकेन। लोकप्रियतामा फुटबलले एकलौटी आधिपत्य जमायो।
फुटबल निर्विवाद लोकप्रिय हुनुमा कुनै दुविधा नरहेको बताउँछन् युवा विश्लेषक सञ्जिव मिश्र। उनी नेपालको पुरानो खेल र विश्वभरको लोकप्रियता सँगै जीविकोपार्जनको रूपमा अगाडि बढिरहेकाले फुटबल लोकप्रिय भएको मान्छन्। फुटबलकै लागि भनेर क्लबहरू स्थापित हुनुले पनि फुटबल सक्रिय खेलमा पर्दछ। यद्यपि नेपालका जुनसुकै कुनामा खेलेर लोकप्रिय भएको खेलमा भने फुटबल पर्दैन।
पूर्वफुटबलर तथा एनआरटी क्लबका अध्यक्ष दीपकहर्ष वज्राचार्य सुरुदेखि नै फुटबल लोकप्रिय हुनुको कारण यस्तो देख्छन्। ‘सस्तो खेल हो फुटबल। एउटै बल भए पुग्ने। हरेक ठाउँमा मैदान हुन्थ्यो त्यतिखेर। टोल टोल खेल्न उत्रन्थे। राजधानीमा सहभागिता बढी हुन्थ्यो,' बज्राचार्य भन्छन्, ‘त्यसले गर्दा स्वतः खेल चर्चित हुन्थ्यो। खेल्दाखेरि गर्व हुन्थ्यो।'
भौगोलिक बनावटअनुसार नेपालको जुनसुकै स्थान (गाउँ, सहर, कुना कन्दरा) मा खेल्न सकिने खेलमा भने भलिबल हो। थोरै लगानी, सानो ठाउँमा खेल्न सकिने, पहुँच सबैको पुग्ने भएकाले भलिबल लोकप्रिय खेलमा पर्ने मिश्रको ठम्याइ छ। त्यसैले पञ्चायतकालमा वीरेन्द्र सिल्डको नाममा खेलकुद गतिविधि हुँदा एथलेटिक्ससँगै भलिबल एकदमै चर्चित खेलको रूपमा थियो। स्कुल–स्कुल, विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धा हुन्थ्यो। सम्भवतः देशका ७५ जिल्लामा वीरेन्द्र सिल्ड हुने गथ्यर्ौं। त्यसकै प्रभावले भलिबल र एथलेटिक्सको बेग्लै पहिचान थियो। त्यसो त एथलेटिक्स २००४ सालमै संघ गठन भएर अगाडि बढेको खेल हुँदा पनि अपेक्षाकृत सफल होइन। २०१३ सालमै एथलेटिक्सको राष्ट्रिय प्रतियोगिता भएको थियो। भलिबल भने २०३० सालपछि भित्रिएको खेल हो।
‘मास गेम' मा फुटबल र क्रिकेट लोकप्रिय भए पनि एकसमय नेपालमा ब्याडमिन्टन र टेबलटेनिसको चर्चा पनि उत्तिकै रहेको ठान्छन् तीनपल्टका ब्याडमिन्टन पूर्वच्याम्पियन रामजीबहादुर श्रेष्ठ। ‘ब्याडमिन्टन र टेबलटेनिस टोल टोलमा हुन्थ्यो। चर्चित थियो। के खेल्ने भन्दा सबैको मुखमा ब्याडमिन्टन कि टेबलटेनिस। खेलाडीको पनि त्यत्तिकै चर्चा हुन्थे। सबैको आकर्षण थियो,' उनी भन्छन्, ‘अहिले पनि चर्चित खेल नै हुन्। खेलहरू बढी भएर मात्र अहिले आकर्षण कम जस्तो देखिएको हो।'
४० को दशकमा मार्सल आर्टस भित्रिएपछि त्यसले आफ्नो प्रभाव छाड्यो। पुलिस–आर्मीभित्र रहेको मार्सल आर्टस सर्वसाधारणको पहुँचमा आएपछि तेक्वान्दो, कराते, उसु, जुडोले छोटो समयमै सबैको ध्यान केन्द्रित गर्न थाल्यो। विस्तारै राष्ट्रियसँगै अन्तर्राष्ट्रिय सफलता पाउँदै गएपछि नेपाली खेलकुद नै मार्सल आर्टसको सेरोफेरोमा घुम्न पुगेको छ। छोटो समयमै साफ, एसियाडदेखि ओलम्पिकसम्म पाएको सफलताले ‘तेक्वान्दो' मार्सल आर्टसमै पनि चर्चित खेलमा दरिएको छ।
दक्षिण एसियाली खेलकुदको सुरुआती तीन संस्करणमा वैकुण्ठ मानन्धरले स्वर्ण दिलाउँदा एथलेटिक्सको चर्चा चुलिँदो थियो। मानन्धरले म्याराथनको स्वर्णमा ह्याटि्रक गरे। उनले कीर्तिमानी समय बनाए, जुन दक्षिण एसियाली धावकहरूले अहिलेसम्म नै तोड्न सकेका छैनन्। खेलले व्यावसायिक रुप नपाउँदा उनको कीर्तिमान पनि ओझेलिएको छ।
विगतमा एथलेटिक्स र भलिबलजस्तै पछिल्लो समय बास्केटबल विद्यार्थीमाझ लोकप्रिय बनिरहेको छ। देशभरकै स्कुल, कलेजले फेसनकै रुपमा बास्केटबल अगाडि सारिरहेका छन्। तर राष्ट्रियस्तरसम्म यसले पहुँच बनाइसकेको छैन। स्कुल–कलेजकै दायराबाट माथि उठ्ने प्रयत्नमा छ बास्केटबल।
नेपाल भित्रिएको पुरानो खेल भए पनि तत्कालीन समयमा क्रिकेट हुनेखाने वर्गले मनोरञ्जनका लागि मात्र खेल्ने गर्थे। त्यसले गर्दा २००४ सालमै स्थापित भएर पनि क्रिकेटको घरेलु संरचना बलियो रहेन। फस्टाउने मौका पाएन। तर, पछिल्लो अढाइ दशकमा अन्तर्राष्ट्रियस्तरमा प्राप्त सफलताबाट क्रिकेटले लोकप्रियतामा ‘छलाङ' मारिसकेको छ। युवा पुस्तामाझ आकर्षण बढ्दो छ।
आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा हानेको सुवास खकुरेलको चौका र छक्काले होस् या विमल घर्तीमगरले साफ फुटबल च्याम्पियनसिपमा गरेको गोलले नै किन नहोस्। नेपाली खेलप्रेमीहरू क्रिकेट र फुटबलसँग लुटपुटिन थालेका छन्। टेलिभिजनको माध्यमले गर्दा पनि घर–घरमा क्रिकेट र फुटबलको चर्चा हुन थालेको छ।
जुनसुकै खेलले जति चर्चा र लोकप्रियता कमाए पनि सरकारको प्राथमिकतामा नपरेसम्म त्यो दीर्घकालीन नहुने एनआरटी अध्यक्ष वज्राचार्यको बुझाइ छ। जुडो संघका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘खेल लोकप्रिय बनाइराख्न सम्बन्धित खेल र सरकारको त्यत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। सरकारले खेलकुदलाई एउटा अंगको रूपमा लिनुपर्छ। तबमात्र खेल गतिशील हुन्छ। नभए सफलता पाउँदा मात्र खेलले लोकप्रियता पाउँछ।'
खेलकुद प्रतिस्पर्धा जित र हारको विषयमा मात्र केन्द्रित हुनुहुँदैन। खेल राष्ट्रको आर्थिक र सामाजिक सम्वृद्धिसँग गाँसिनुपर्छ। वर्तमान विश्वले पनि आर्थिक, सामाजिकसँगै सांस्कृतिक क्रान्तिको रूपमा खेलकुदलाई जोडिरहेको छ। विश्वकप, ओलम्पिक, एसियाडजस्ता ठूला खेल मेला आयोजना गर्न तँछाडमछाड गर्दछन्। हरेक देशले फरक खेलमा परिचय स्थापित गरिरहेका छन्। तर, नेपालमा त्यो हुन सकेको छैन त?
सञ्जिव मिश्रको बुझाइमा कतिपय खेल नेपालमा प्रयोगका रुपमा भित्रिने गर्दछन्। उनी भन्छन्, ‘हामी तिनै खेलहरू भित्याइरहेका छौं। प्रयोग गरिरहेका छौं। सम्भावना के हो पहिचान गरेका छैनौं। सबै खेल भित्याउँदा त्यसले खेलकुद क्षेत्रलाई नै अस्तव्यस्त बनाउँछ। अहिलेको यथार्थ पनि त्यही हो।'
वज्राचार्यको विश्वास छ जुनसुकै खेलले पनि देशको सरकार र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र समर्थन पाए मात्र प्राप्त लोकप्रियता जोगाउन सकिन्छ। ‘फुटबल, क्रिकेटजस्ता ठूला खेलमा अन्तर्राष्ट्रिय सहयोग हुँदा अवसर पाइन्छ। त्यही अवसरमा राम्रो गर्न सकियो भने सफलतासँगै लोकप्रियता पनि जोडिएर आउँछ। अहिले क्रिकेटले त्यही पाइरहेको छ। यसलाई सरकारले संस्थागत गर्न सक्नुपर्छ,' पूर्व फुटबलर बज्राचार्य भन्छन्।
प्रकाशित: १४ चैत्र २०७० २३:५६ शुक्रबार





