१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

देशभर सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत मधेसकेन्द्रित दलहरुले आआफ्नो निर्वाचन क्षेत्रमा उम्मदवारी दर्ता गराएका हुन्।

पोखराबाट नागरिक संवाददाता सन्देश श्रेष्ठले पठाएको समाचारअनुसार कास्की– १ मा १६, २ मा १७ र ३ मा १५ जनाको उम्मेदवारी दर्ता भएको छ। कास्की– १ मा एकजना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गरेका छन्। यहाँ एक मात्र महिलाले उम्मेदवारी दिएकी छन्।

कास्की– २ मा जम्मा १७ जनाले उम्मेदवारी दिएका छन्। यहाँ १२ वटा पार्टी र ५ जनाले स्वतन्त्र  रुपमा उम्मेदवारी दिएका छन्। जसमा १६ पुरुष र एक महिलाले उम्मेदवारी दर्ता गरेको कास्की–२ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्की– ३ मा १५ जनाले मनोनयन दर्ता गरेका छन्। यहाँ १५ दलका १३ पुरुष र दुई महिलाले उम्मेदवारी दर्ता गरेको कास्की– ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बागलुङबाट नागरिक संवाददाता संगम घर्तीमगरले पठाएको समाचारअनुसार दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नं १ मा ११ र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

बागलुङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका हिराबहादुर केसी, नेकपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट कृष्ण अधिकारीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, मंगोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेसनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नपाल कम्युनिस्ट पार्टीका टेकबहादुर केसी आजादले उम्मेदवारी दर्ता गराएका छन्। यसपटक क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी परेको छैन।

यसैगरी नागरिक संवाददाता महेश्वर चामलिङ राईले पठाएको समाचारअनुसार खोटाङबाट १५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा, एमाले काँग्रेससहित स्वतन्त्रसम्मको उम्मेदवारी परेको छ।

नेकपाबाट डा. हरि रोका, एमालेबाट देवबिक्रम राई, रास्वपाबाट रुद्र गिरी, जनता समाजवादी पार्टीबाट राकेश राई, जनता समाजवादी पार्टीबाट सुनिल चामलिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेकपा (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चामलिङ, स्वतन्त्रबाट डा. राजकुमार राई र तिलकचन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन्।

धनगढीबाट नागरिक संवाददाता दिलबहादुर छन्त्यालले पठाएको समाचारअनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ७८ जनाको उम्मेदवारी परेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपालगायत स्वतन्त्र गरेर ६८ जनाको उम्मेदवारी परेको छ। कैलाली– १ मा १९, २ मा १६, ३ मा ११, ४ मा १६ र ५ मा १६ गरेर ७८ जनाले मनोनयन दर्ता गराएका छन्।

कैलाली– १ एमालेबाट द्वारिका न्यौपाने, नेकपाबाट रामलाल डगौरा थारू, रास्वपाबाट कोमल ज्ञवाली, नगारिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी, उज्यालो नेपाल पार्टीबाट प्रदिप चौधरीले मनोनयन दर्ता गराएका छन्।

कैलाली– २ बाट एमालेका सूर्यबहादुर थापा, नेकपाका राजेन्द्र साउद, रास्वपाको केपी खनाल, कैलाली– ३ मा एमालेका गौरीशंकर थारू, नेकपाका वीरभान चौधरी र रास्वपाका जगतप्रसाद जोशीले मनोनयन दर्ता गराएका छन्।

कैलाली– ४ मा एमालेका लेखराज भट्ट, नेकपाका हरि चौधरी उत्सव र रास्वपाका हरिप्रसाद रेग्मीले मनोनयन दर्ता गराएका छन्। कैलाली– ५ मा एमालेका यज्ञराज ढुंगाना, रास्वपाका आनन्द चन्दले मनोनयन दर्ता गरेका छन्।

नेपालगन्जबाट नागरिक संवाददाता अर्जुन ओलीले पठाएको समाचारअनुसार बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपले उम्मेदवारी मनोनयन दर्ता गरिएको छ। क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार उक्त क्षेत्रमा कुल १६ जनाले प्रतिनिधिसभा सदस्य पदमा मनोनयन दर्ता गराएका छन्। यीमध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

एमालेका सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसीलगायतले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

यस्तै क्षेत्र नम्बर २ मा २२ जनाको मनोनयन दर्ता भएको छ। उक्त क्षेत्रमा तीनजना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले जानकारी दिए।

क्षेत्र नं २ मा नेकपा एमालेबाट मोहम्मद इस्तियाक राई, नेकपाबाट दीपेन्द्र बिष्ट, रास्वपाबाट विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राईलगायतले मनोनयन दर्ता गराएका छन्।

यस्तै क्षेत्र नं ३ मा पाँचजना स्वतन्त्रसहित २२ जनाको मनोनयन दर्ता भएको छ। उक्त क्षेत्रमा एमालेका सुमन मल्ल, नेकपाका दीपक जिएम, रास्वपाका खगेन्द्र सुनारलगायतले मनोनयन दर्ता गराएका छन्।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपले मनोनयन दर्ता भएको बताए। ‘उम्मेदवारले उत्साहजनक रुपले मनोनयन दर्ता गराउनुभयो’, उनले भने।

बुटवलबाट रेखा भुसालले पठाएको समाचारअनुसार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता सकिएको छ। जिल्ला सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ताको काम सकिएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन। रुपन्देहीमा यसअघिका हेभिवेट भनिएका पुराना नेतासँगै युवा पुस्ताको पनि उल्लेख्य मनोनयन परेको छ। तर महिला, जनजाति, पिछडिएको वर्ग भने यसपालि पनि उपेक्षामा परेको देखियो।

निर्वाचन कार्यालयले मनोनयन दर्ता गर्न जाँदा तडकभडक नगर्नू र बाजागाजासहित नजानू भने पनि त्यसलाई बेवास्ता गरिएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ। मनोनयन दर्ताकै दिन निर्वाचन जितेजसरी नाराबाजीसहितको जुलुस सबै दलले निकालेका थिए।

नागरिक संवाददाता लक्ष्मण घिमिरेले पठाएको समाचारअनुसार अर्घाखाँचीमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्।  

प्रकाशित: ७ माघ २०८२ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App