१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मिराजको निष्कर्षः रास्वपाको भीडभन्दा कांग्रेसको विचार ठिक

जेन-जी अभियन्ता मिराज ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजनीतिक पृष्ठभूमि र संस्कार नभएका मानिसहरूको जमात बढ्दै गएको टिप्पणी गरेका छन्।

सोमबार सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटघाटपछि नागरिक न्युजसँग कुराकानी गर्दै उनले रास्वपाको सट्टा कांग्रेसलाई समर्थन गर्नुको कारण खुलाए।

कांग्रेस प्रवेश गर्ने चर्चाका बिच कार्यक्रममा पुगेका मिराजले आफूले पार्टी प्रवेश नगरेको र कांग्रेसलाई समर्थन जनाउन मात्र आएको स्पष्ट पारे।

उनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले देशको नेतृत्व गर्न नसक्ने निष्कर्षमा आफू पुगेको बताए।

मिराजले रास्वपामा राजनीतिक चेत र गहिराइ नभएका मानिसहरूको हावी भएको टिप्पणी गरे। उनले भने, ‘रास्वपामा राजनीतिमा कहिल्यै संलग्न नभएका वा कुनै राजनीतिक पृष्ठभूमि नै नभएका मानिसहरूको जमात धेरै भयो। त्यसमाथि कलाकारहरू र सेलिब्रेटीहरू पनि थुप्रिए। यस्ता मानिसहरूले देश बन्दैन।’

उनले राजनीति भनेको भाइरल हुनु मात्र नभई त्याग, इतिहास भएको जिकिर गरे। ‘देश चलाउन भावनात्मक आवेग मात्र होइन, राजनीतिक संस्कार र अनुभव पनि चाहिन्छ,’ उनले भने, ‘रास्वपामा त्यो राजनीतिक परिपक्वता नदेखेकै कारण मैले समर्थन नगरेको हुँ।’

मिराजले कांग्रेसलाई समर्थन गर्नुको पछाडि राजनीतिक स्थिरता र इतिहासलाई कारण देखाए। ‘कांग्रेससँग लामो इतिहास छ, संघर्षको पृष्ठभूमि छ,’ मिराजले भने, ‘राजनीतिक पृष्ठभूमि नभएकाहरूको भीडभन्दा विचार र इतिहास भएको पार्टी नै देशका लागि सुरक्षित हुन्छ। त्यही भएर मैले कांग्रेसलाई समर्थन गरेको हो।’

सर्लाही क्षेत्र नम्बर-४ मा आयोजित कार्यक्रममा मिराजले सभापति थापासँग तस्बिर खिचाए पनि सदस्यता भने लिएनन्। उनले आफू स्वतन्त्र हैसियतमा रहेरै कांग्रेसको विचार र नेतृत्वलाई सघाउने बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ १९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App