आफू श्रम सचिव हुँदा विदेशमा मृत्यु भएका नेपालीको लास झिकाउन एउटा कोष स्थापना गरेपछि सजिलो भएको जानकारी गराउँदै अधिकारीले भने, ‘कुनै पनि नेपालीको विदेशमा मृत्यु नहोस र मृत्यु भएका नेपालीका परिवारले अब त्यस्ता समस्या नभोगोस् भन्ने मेरो चाहना थियो। यस फिल्मले पनि सोही समस्यालाई उजागर गरेकोमा खुसी लाग्यो।'
बिहीबार फिल्म ‘राहदानी'को दुइटा गीत, प्रोमो र प्रचार सामग्री सार्वजनिक गरियो। चेतन सापकोटा र जुगल डंगोलले संगीत गरेका ती गीतको रचना चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीले गरेका हुन्। गीतमा प्रमोद खरेल र दुर्गा खरेलको स्वर छ। निशा देशारको स्वर र वसन्त सापकोटाको संगीत रहेको ‘राहदानी'मा गोविन्द कुसुमको मारुनी गीत पनि छ।
चैत २८ मा रिलिज गर्ने भनिएको ‘राहदानी'लाई केही महिना मुलुकका विभिन्न स्थानमा विशेष प्रदर्शन गरेपछि मात्र रिलिज गर्ने जानकारी निर्देशक डब्बुले गराए। प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले फिल्म प्रदर्शनका लागि विदेशबाट पनि माग आएको जानकारी दिए।
फिल्ममा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, विनिता घिमिरे, नवीन लम्साल, सिर्जना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विद्या कार्की, विकास जोशी, लक्ष्मणविक्रम बस्नेत, शैलेन्द्र बस्नेत आदिको अभिनय छ।
प्रकाशित: १४ चैत्र २०७० ००:३३ शुक्रबार





