१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

मौरी उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गरिँदै

नेपालमा मौरीपालन सम्बन्धी उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गरिँदै छ । युनाईटेड नेशनल इन्ड्रष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेसनले व्यवसायीक किट विकास केन्द्र हरिहरभवन, मौरीपालन विकास केन्द्र भण्डाराको सहयोगमा ११ जिल्लामा मौरीको उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गर्न लागेको हो ।  

परियोजनाले प्रशिक्षक तयार गर्नका लागि चितवनमा २८ जनालाई पाँच दिनसम्म तालिम समेत प्रदान गरिसकेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, बारा, रौतहट, पाल्पा, सर्लाही, मकवानपुर, चितवन, कास्की,  रसुवाका पालिकाका उद्यमशिल विकास सहजकर्ता तथा कृषि प्राविधिकलाई प्रशिक्षक बनाउनका लागि तालिम प्रदान गरिएको परियोजना नेशनल भ्यालुचेन डेभलपमेन्ट एक्सपट सूरेस बरालले जानकारी दिए । उनका अनुसार चितवनमा पुस १० गतेदेखि १४ गतेसम्म तालिम लिएर गएका प्रशिक्षकले पालिकासँग समन्वय गरेर किसानलाई तालिम दिनेछन् । उनीहरुले किसानलाई समग्र रुपमा मह उत्पादनको खर्च व्यवस्थापन तथा लेखा सम्बन्धी अभिलेख राख्ने विषयमा प्रशिक्षण दिने बरालले बताए । यहाँबाट सिकेर गएका प्रशिक्षकबाट एउटा पालिकामा कम्तिमा एउटा तालिमको अपेक्षा समेत राखिएको उनले बताए । यसका लागि परियोजनाले समन्वय गर्नको सहजिकरण गर्नेछ ।  

चितवनको भण्डारामा पाँच दिनसम्म सञ्चालन भएको तालिममा मौरीपालन सम्बन्धी व्यवसायीक योजना अन्तरगत लागत विश्लेषण, स्थिर पुँजिको विश्लेषण, पार विन्दु, लेखा व्यवस्थापन, अभिलेख व्यवस्थापन, उत्पादन तथा उत्पादकत्वको बारेमा प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रममा बोल्दै व्यवसायीक किट विकास केन्द्र हरिहर भवनकी प्रमुख सावित्री बरालले नेपालमा मौरीपालनको सम्भावना, चुनौती र महका बारेमा प्रकाश पार्दै मौरी एक नाफामुलक व्यवसाय रहेको बताईन् । यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले परियोजनाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम अगाडि बढाउनका लागि आफूहरुले सहयोग गर्ने बताए । परियोजनाका असल अभ्यासलाई आगामी कार्यक्रममा समावेश गर्ने समेत बताए ।  

कृषि तालिम केन्द्रका प्रमुख सुधिर श्रेष्ठले तालिमलाई यथार्थ परक बनाएर लैजान जोड दिए । यस्तै कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा.डा अर्जुनकुमार श्रेष्ठले उद्यमशिलता विकासका लागि यस्ता किसिमका तालिम आवश्यक रहेको बताउँदै विश्वविद्यालयले पनि उद्यमशिलताका लागि ‘स्टाट अफ ग्रान्ट’ व्यवस्थापन गरी कार्यक्रम गरिरहेको बताए ।  

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईले मह लगायत मौरीबाट उत्पादन हुने पोलन, मैन, प्रोपोलिस जस्ता वस्तुहरुको उत्पादनगरी व्यवसायीकरण गर्न सकेमा मौरीपालक किसानको उत्पादन लागत कम गर्न सकिने बताए । कार्यक्रममा १४ पालिकाका उद्यमशिल विकास सहजकर्ता, कृषि प्राविधिक तथा मौरीपालक महासंघका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तराष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपालका विभिन्न जिल्लामा यस परियोजना लागू भएको छ । यसले उच्च गुणस्तरको मह बिक्री मार्फत परियोजना लागू भएका जिल्लाहरुमा साना मौरीपालक, साना, लघु, मझौला उद्यमी र मह प्रशोधकहरुका लागि जीविकाका अवसरहरु सुधार्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।  

प्रकाशित: १५ पुस २०८२ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App