७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

जता पैसा त्यतै डाक्टर

दाङकी सारा बुढामगर बिहान चार बजे सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेकी थिइन्। 'मिर्मिरेमै पुगेन भने पालो पाँइदैन,' पहिलो अनुभवबाट उनले थाहा पाइसकेकी थिइन्। चारै बजे पुग्दा पनि उनी पन्ध्रांै नम्बरमा परिन्।
पहिलो हुनलाई कति बजे आउनुपर्छ होला?
'तीनै बजे,' वरपरकाले भने।कहिलेकाहीँ त तीन बजे पुग्दा पनि लाइन लागेको हुन्छ। त्यो पनि मान्छेको होइन, ढुंगा र कागजको। जानेबुझेकाले अघिल्लो दिन राति नै ढुंगा वा कागजमा नाम लेखेर लाइनमा राखिदिन्छन्। कतिले त सय–पचास दिएर लाइनमा ढुंगा राख्न लगाउने जानकार बताउँछन्।
गंगालाल मुटु रोगीको लागि भरपर्दो अस्पताल हो। बिरामीको चाप धेरै हुने भएकाले बिहानैदेखि लाइनमा बस्नुपर्ने समस्या छ। एक डाक्टरले दिनमा ४० जनामात्र जाँच्छन्। त्यसभित्र नपरे अर्कोदिन फेरि जानुपर्छ। फलोअपमा आउँदा पनि त्यस्तै लाइन लाग्नुपर्छ। 
भित्ताको सूचनापाटीमा लेखिएको छ– पाँच बजेदेखि लाइनमा बसिदिनुहोला। लाइनमा ढुंगा नराखिदिनुहोला। ढुंगा राखेमा फालिनेछ।
भित्ताको यो सूचना सबैले पढ्छन्, तर कसैले पालना गर्दैनन् र गराइँदैन। नयाँ र पुरानाको लागि यसैगरी लाइनमा बस्नुपर्छ। 'पहिलोपटक सात बजे आउँदा त म डेढ–दुई सयपछि परेको थिएँ,' साराका श्रीमान्ले भने, 'त्यही भएर यसपालि त एकाबिहानै आएको।' 
बिहानै आएपछि घन्टौं उभिन गाह्रो हुन्छ। लाइनमा ढुंगा राख्छन् र अन्यत्र लाग्छन् वा कुरेर बस्छन्। नयाँ बिरामीले ढुंगा वा कागजमा नाम लेखेर राख्छन्। पुराना बिरामीले 'फलोअप' किताब।
तीन बजेदेखि लाइनमा बसे पनि टिकट काउन्टर आठ बजेमात्र खुल्छ। डाक्टर १० बजे आउँछन्। 'यहाँको अवस्था यस्तै हो,' एक महिनादेखि गंगालालमै बसेकी लाजिम्पाटकी जमुना महर्जनले भनिन्। मुटुमा प्वाल परेको आफ्नो बच्चाको उपचारका लागि अस्पालमा बसिरहेकी महर्जन आफन्तले टिकट काटिदिन लाइनको दोस्रो नम्बरमा थिइन्।
उपचार गर्दा बाहिर दौडिरहनुपर्ने झन्झट सुनाइन्, महर्जनले। 'गाविसको सिफारिस ल्यायो भने इको, एक्सरे र ब्लड टेस्ट यहीं उपलब्ध हुन्छ,' उनले भनिन्, 'अन्य सामान्य सामग्री, औषधि चाहिए टिचिङ पुग्नुपर्छ।' डाक्टरले कहिले औषधि भन्छन्, कहिले अन्य सामग्री। राति ट्याक्सी लिएर शिक्षण अस्पताल पुग्नुपर्ने झन्झट उनले सुनाइन्। सानोतिनो सिटामोलमात्र यहाँ उपलब्ध हुन्छ। 
...
बुधबार शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा एक बूढा बिरामीलाई ह्विलचेयरमा राखेर ल्याइयो। तर कक्ष बिरामीले भरिभराउ छन्। एउटा पनि बेड खाली छैन। कुनै बेडमा त दुई जनासम्म राखिएको छ। 'अलि गाह्रो भयो,' ती बिरामीले भने र उनलाई एक महिला बिरामी भएको बेडको गोडापट्टि राखियो। चितवनबाट आएका यी ७५ वर्षे खिला पोख्रेललाई ह्विलचेयरमै राखेर डाक्टरले उनका बारेमा बुझे, 'दिसाबाट रगत बग्ने समस्या छ। कहिलेकाहीँ त अत्यधिक मात्रामा रगत बग्छ।' उनका बारेमा आफन्तले विस्तृत जानकारी गराए।
खिलाजस्तै थुप्रै बिरामी बेड नपाएर ह्विलचेयरमै सलाइन पानी चढाइरहेका थिए। 'बेड नै खाली छैन,' बिरामीका कुरुवाले नर्ससँग गुनासो गरे। 'यस्तै हो, पछि खाली हुन्छ,' नर्सले जवाफ दिइन्। आकस्मिक कक्ष सधैं बिरामीको चापले यस्तै हुने त्यहाँ आएकाहरू बताउँछन्। अलि निको भएपछि पनि जनरल वार्डमा सार्न अझ गाह्रो हुुुन्छ। बेड पाउनको लागि चिनजानको भए अझ सजिलो हुने उनीहरू बताउँछन्।
यही अस्पतालको परिसरमा भेटिए काठमाडौं काँडाघारीका केदार रायमाझी। उनी कुर्सीमा मस्त निदाइरहेका थिए। केही समयपछि उनका छोराले पानी ल्याए र उठाए। थकित देखिने रायमाझीले पानी पिए। बिहान आठ बजे अस्पताल आइपुगेका रहेछन्, बिरामी रायमाझी। 'डाक्टरले आज साढे आठमा आउनु भनेका थिए,' उनले भने, 'यहाँ आउँदा त दिउँसो तीन बजेमात्र डाक्टर आउनुहुन्छ भन्छन्।'
१२ वर्षअघि लडेर गर्दन र जाँघ भाँचिएको रहेछ। वीर अस्पतालमा गर्धनको 'आधा उपचार' त भयो, पूरा निको हुन बाँकी छ। जाँघमा भने अझै समस्या छ उनको। बी एन्ड बीका डाक्टरको लापरबाहीले जाँघको 'असफल अप्रेसन' गरेकाले १२ वर्षसम्म पनि दुःख पाएको उनी बताउँछन्। यस अस्पतालमा विदेशी डाक्टर आएकाले एकपटक परामर्शको लागि आएको रायमाझीका छोरा श्रीकृष्णले बताए। 
'यस अस्पतालमा आफ्नो मान्छे चाहिँदो रहेछ,' श्रीकृष्णले गुनासो सुनाए, 'जुन काममा पनि घन्टौं कुर्नुपर्ने। हिजो एक्सरे गर्दा दुई घन्टा कुर्नुपर्यियो।' मान्छे आउँछन् भित्र पस्छन्, एक्सरे गर्छन् जान्छन्। सबै सोसफोर्समा आएर काम गरेको उनले बताए। 'तीन बजे डाक्टर आउँछन् भने किन आठै बजे बोलाएका होलान्?' उनले प्रश्न गरे।
७५ वर्षीय पशुपति केसीले जीवनमा धेरैपटक अस्पताल धाए। कहिले आफ्नै लागि त कहिले परिवारका अन्य सदस्यको उपचारका लागि। दाँतको समस्या भएकी छोरी लिएर आएका उनी सोमबार वीर अस्पतालमा भेटिए। दिउँसोको दुई बजेको थियो। डाक्टर दुई बजे नै आउने भनेका थिए, तर ढोका खुलेको छैन। घाम ताप्दै बाहिर पर्खालमा बसेका काठमाडौं, कुलेश्वरका केसीले भने, 'डाक्टरहरू लापरबाही हुन्छन्।'
'लापरबाही' भन्नुमा उनीसँग केही अुनभव छन्। तिनै अनुभवले उनमा डाक्टरप्रतिको धारणा बदलिएको हो। 'मेरो बुढीयालाई पनि यिनीहरूले लापरबाही उपचार गरे,' पहिलो कारण बताए उनले। केही महिना पहिला श्रीमतीको घाँटीमा हल्का गाँठो निस्केको थियो। उनी वीर अस्पताल आए। घाँटीमा सुई लगाएर मासु निकालियो र फलोअपको लागि अर्को दिन बोलाइयो।
अर्को दिन गए, तर डाक्टरको कुरा सुन्दा छक्क। डाक्टरले भनेको उनले सुनाए, 'हिजो त मासु नै निस्किएको रहेनछ, फेरि झिक्नुपर्यो,।' गम्भीर कुरामा पनि सिकारुलाई लगाउने गरेको उनले आरोप लगाए। उनको श्रीमतीको पनि 'एक जना सिकारु केटी'ले मासु निकालेको बताए। उनलाई यो लापरबाही मन परेन उनी सरासर शिक्षण अस्पताल महाराजगन्ज लागे। 
सरकारी अस्पतालमा डाक्टर लापरबाही हुनुको अर्को कारण जोडे, केसीले। दुई बजिसक्दा पनि डाक्टर आएका छैनन्। सरकारी डाक्टरको नियतिको उनले पोल खोले, 'बाहिर आफ्नै क्लिनिक हुन्छ। यहाँ समय कम दिन्छन्।' जता पैसा धेरै हुन्छ त्यतै दौडिन्छन् डाक्टर। 'अझ टोपी लगाएको, ढुस्स गन्ध आउने बिरामी छ भने त डाक्टरले टेर्दैनन्, हेप्छन्,' उनले अलि ठूलो स्वरमा भन्छन्, 'मैले त कुरा बुझिसकेको छु, झपार्दिन्छु।' 
उनी डाक्टर गोविन्द केसी र भगवान कोइरालालाई सम्झन्छन्। उनका अनुसार देशका असल डाक्टर यी दुईमात्र हुन्, विनास्वार्थ काम गर्ने। अरू त सेतो कपडा लगाउनेमात्र।
सरकारी अस्पताल गरिब जनता पस्ने अस्पताल हो। तर जनताको आशाअनुसार अस्पतालमा सेवा नभएका बिरामीहरू बताउँछन्। व्यवस्थित नहुनु, जताततै फोहोर, गाउँका गरिब बिरामीलाई ध्यान नदिनु यहाँको समस्या भएको पीडित बिरामी बताउँछन्।
कहिलेकाहीँ सामान्य गल्तीले बिरामीले दुःख पाएका छन्। गुल्मी बलेटक्सारका हरिप्रसाद कँडेल देशकै जेष्ठ वीर अस्पतालमा छिरे। आइतबारको दिन टिकट काटेर कोठामा छिर्दाछिर्दै डाक्टरले भने, 'के भएको तपाईंलाई।' उनले आफ्नो व्याथा बताए। डाक्टरले खुट्टा छामछुम पारे र भने, 'रगत टेस्ट गराउनु र एक्स रे गर्नु।'
डाक्टरले उनको समस्यालाई राम्रोसँग नहेरेको गुनासो गर्छन्, उनी। 'गाउँको हेल्थपोस्ट जस्तो, टाढैबाट रोग पत्ता लगाउने,' उनले भने। अर्को दिन उनी एक्सरे रिपोर्ट लिन अस्पताल पुगे। रिपोर्ट लिए तर कहाँ देखाउने उनलाई थाहा भएन। 
सोधपुछ शाखामा उनले सोधे, 'यो रिपोर्ट कहाँ देखाउने?' 
'ल आज त तपाईंको डाक्टर आउनुहुन्न, तपाईंको कार्डमा स्ट्याम्प पनि लगाएको छैन,' उनले उत्तर पाए।
'मलाई कसरी थाहा हुन्छ त, लगाउनुपर्छ भन्ने,' गुल्मी फर्किन हतार भएका ६४ वर्षे कँडेलले भने, 'स्ट्याम्प के म आफंै लगाउने हो र?'
केही सोधखोजपछि उनी टिकट काउन्टरमा पुगे। केही छलफलपछि त्यसै दिनको डाक्टरलाई देखाउने गरी स्ट्याम्प लगाए।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भेटिए अर्का पीडित काठमाडौं मनमैजुका मंगल महर्जन। राम्रो र उचित सल्लाह नपाएर उनी आजित छन्। एक वर्षअघि उनकी श्रीमतीमा 'हेपाटाइटिस बी' भेटियो। शिक्षण अस्पताल महाराजगन्ज पुगे। त्यहाँका डाक्टरले सल्लाह दिए, 'अल्कामा जानु राम्रो हुन्छ।' 
अल्काका डाक्टरले भने, 'यसको औषधि छैन तर डराउनु पर्दैन।' सरुवा रोग भएकाले मंगललाई पनि जँचाउने सल्लाह डाक्टरले दिए। उनले पनि जँचाए तर उनलाई देखिएन। यसैबीच श्रीमतीको गर्भ बस्यो। नियमित स्वास्थ्य जाँच गर्दा प्रसूति गृहले फेरि सल्लाह दियो– बच्चालाई पनि हुन सक्छ टेकुमा गएर एकपटक जँचाउनु। 
उनी गत आइतबार तीन बजेतिर टेकु अस्पताल पुग्दा अधिकांश डाक्टर हिँडिसकेछन्। बल्लबल्ल उनीले एक डाक्टरलाई भेटे। 'अल्काको रिपोर्ट देखेपछि खासै राम्रोसँग हेरेनन्,' उनले गुनासो गरे, 'वीर वा नर्भिकमा गएर सुधांशु जोशीलाई भेट्न भनेका छन्।'
बच्चा जन्मिएपछि एक इन्जेक्सन लगाएपछि ठिक हुन्छ भनेको उनले सुनाए। जता जाँदा पनि राम्रो सल्लाह र उपचार नपाउँदा उनी दिक्क मानेका छन्। कोही डाक्टर भन्छन्, 'नयाँ औषधि आएको छ, तर उपलब्ध छैन।' कोही भन्छन्, 'सरुवा रोग भएकाले तपाईंलाई पनि लाग्नुपर्ने हो। तर रिपोर्टमा उनलाई देखिएको छैन। उनी अलमलमा छन्। राम्रो परामर्शको खोजीमा छन्।

प्रकाशित: ३० फाल्गुन २०७० २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App