अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले बाङ्ग्लादेशलाई भारतमा टी–२० विश्वकप खेल्न जाने कि नजाने भनेर निर्णय गर्न एक दिनको समय दिएको छ। बाङ्ग्लादेश क्रिकेट बोर्ड (बिसिबी)लाई आफ्नो देशको सरकारसँग छलफल गरेर निर्णय दिन आइसिसीले निर्देशन दिएको हो।
यदि सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नजाने भए वरियताका आधारमा बाङ्ग्लादेशलाई बाहिर राखेर सट्टामा स्कटल्यान्डलाई प्रतियोगितामा सहभागी गराउने निर्णय आइसिसीले गरेको छ।
यो निर्णय बुधबार बसेको आइसिसी बोर्ड बैठकले गरेको हो। बैठकमा उपस्थित अधिकांश निर्देशकहरूले बाङ्ग्लादेशले भारतमा खेल्न नचाहने अडान कायमै राखे अर्को टोली सहभागी गराउने पक्षमा मतदान गरेका छन्।
क्रिकइन्फोले जनाएअनुसार बैठकमा उपस्थित १५ निर्देशकमध्ये पाकिस्तानले मात्र बाङ्ग्लादेशको समर्थन गरेको थियो। बैठकमा सबै पूर्ण सदस्य राष्ट्रका निर्देशकहरूको उपस्थिति थियो।
जनवरी ४ मा बाङ्ग्लादेश क्रिकेट बोर्डले सरकारसँग समन्वय गर्दै सुरक्षाको कारण देखाउँदै भारतमा टोली नपठाउने जानकारी आइसिसीलाई दिएको थियो। विशेषगरी भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले कोलकाता नाइट राइडर्समा आवद्ध बाङ्ग्लादेशी बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन निर्देशन दिएपछि बाङ्ग्लादेशको यस्तो प्रतिक्रिया आएको हो।
प्रकाशित: ७ माघ २०८२ २०:२० बुधबार





